सडक दुर्घटनामा परि १५ वर्षमा ३३ हजारको मृत्यु, ७२ हजार गम्भीर घाइते
काठमाडौं । नेपालमा सडक दुर्घटनामा परि १५ वर्षमा ३३ हजारको मृत्यु, ७२ हजार गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सडक दुर्घटनालाई ५० प्रतिशतले घटाउने सरकारी प्रतिबद्धता दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय घोषणामा भएपनि ति सबै घोषणामा सीमित छन् । । सडक दुर्घटनाको तथ्यांकले यति भयानक चित्र देखाउँछ कि देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५–०६६ देखि ०८०–०८१ मंसिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ । अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।
नेपालमा सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ । ०७८–०७९ को तथ्यांकअनुसार देशभर ३९ हजार ३७९ सवारी दुर्घटना हुँदा मृत्यु हुने महिला ४५० र पुरुष २ हजार २११ थिए । गम्भीर घाइते हुने महिला १ हजार ३२० र पुरुष ५ हजार १४७ जना थिए । सडकमा सवारी दुर्घटना नेपालमा मात्रै होइन, विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२३ को डिसेम्बरमा प्रकाशित गरेको अध्ययनअनुसार विश्वभर हरेक वर्ष औसत ११ लाख ९० हजारले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।
सवारी चालकको तीव्र गति, मादक पदार्थ सेवन तथा मानसिक असन्तुलन, मोटरसाइकल चालकले हेल्मेटको प्रयोग नगर्ने, सिट बेल्ट नलगाउने, बच्चालाई असुरक्षित तरिकाले बोक्ने, सवारी चलाउँदा विचलित हुने, असुरक्षित सडक संरचना र मानवीय त्रुटिले हुने दुर्घटनामा विश्वभर बर्सेनि २ देखि ५ करोड मानिस घाइते हुने गरेका छन् । घाइतेमध्ये धेरैलाई अपांगता भएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०११ देखि २०२० लाई सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने दशकका रूपमा मनाएको थियो । नेपालले यसलाई अनुमोदन गर्दै सन् २०२० भित्रमा ५० प्रतिशतले सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने प्रतिबद्धता गर्यो र सडक सुरक्षा कार्ययोजना पनि लागू गर्यो । तर, संयुक्त राष्ट्रसंघको उक्त अभियान नेपालसहित अन्य देशमा नतिजामुखी भएन । यही अवधिमा हरेक वर्ष ७ देखि ८ प्रतिशतका दरले सडक दुर्घटना दर बढ्यो । नेपालमा यो अवधिमा सडक दुर्घटनाको वार्षिक मृत्युदर सबैभन्दा कम १ हजार ६ सय ८९ देखि ११ सयले बढेर २ हजार ७ सय ८९ सम्म पुगेको थियो ।
२०२० फेब्रुअरीमा सडक सुरक्षासम्बन्धी स्वीडेनको स्टकहोममा भएको तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा नेपालले सडक दुर्घटना मृत्यु र घाइते दर सन् २०३० सम्म (दिगो विकास लक्ष्यसमेत) मा ५० प्रतिशत र सन् २०५० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता गरेको छ । स्टकहोम घोषणापत्र नाम दिइएको उक्त प्रतिबद्धतामा तत्कालीन भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ सामेल थिए । नेपालले सन् २०२१ देखि २०३० सम्मका लागि पुनः सडक सुरक्षा कार्ययोजना लागू गरेको छ । नेपालमा प्रति १०० किलोमिटर सडकमा ६४६ दुर्घटना हुने गरेको उक्त कार्ययोजनामा उल्लेख छ ।
साँघुरा र मापदण्डबिना निर्माण गरिएका सडक सवारी दुर्घटनाका प्रमुख कारण बनेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको प्रतिवेदन ०७७’ ले समेत औंल्याएको छ । यस्ता सडकमा सवारी दुर्घटना गम्भीर चुनौती बनेको भन्दै राज्यका प्रचलित कानुन, नीति तथा प्रणालीमा रहेका कमीकमजोरी पहिचान गरेर दुर्घटना न्यूनीकरण प्रयास पहिल्याउन पूर्वसांसद गणेशकुमार पहाडीको संयोजकत्वमा ०७६ पुस ४ मा उपसमिति गठन गरिएको थियो ।
उपसमितिले काठमाडौंका विभिन्न अस्पताल, प्रदेशस्तरीय स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । २० वर्ष पुराना सवारीसाधन चलाउन बन्द गर्नुपर्ने, गति नियन्त्रण गर्नुपर्नेलगायत यान्त्रिक सुधार, सडक संरचना सुधार, सवारी चालकलाई तालिम, सरोकारवाला, यात्रु, पैदल यात्रीलाई विद्यालय तहदेखि सडक सुरक्षाको पढाइ, जनचेतनालगायत मुख्य ९ बुँदामा सुझाव विकास समितिमा पेस गरेको थियो । सन् १९९० को दशकमा स्थापना गरेर हाल निष्क्रिय रहेको अधिकार सम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कार्यादेश दिएर सक्रिय बनाउनुपर्ने उपसमितिको सुझाव छ ।
विकास तथा प्रविधि समितिकी तत्कालीन सभापति कल्याणी खड्का सरकारलाई दिएका महत्त्वपूर्ण निर्देशन पूर्ण रूपमा पालना नगरेको बताउँछिन् । ‘हामीले समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्रालयकै उपस्थितिमा सबै निष्कर्ष र सुझावअनुसार निर्देशन दिएका थियौं,’ उनले भनिन्, ‘निर्देशनपछि ट्राफिक नियम पालना गराउने, लेन पालना गराउने, हेभी इक्युपमेन्टका सवारी सुरक्षित तवरले चलाउनेजस्ता केही काम ट्राफिक प्रहरीले गरेको थियो, बाँकी त कार्यान्वयन नै भएनन् ।’
प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार असुरक्षित सडकमा सवारी चलाउँदा, ओभर लोड र ट्राफिक नियम पालना नगर्दा दुर्घटना भइरहेको छ । त्यसमा पनि मोटरसाइकल दुर्घटना बढी छ । दुर्घटनासम्बन्धी नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार दुर्घटनाका कुल मृत्यु वा घाइतेमध्ये सबैभन्दा बढी ६८ प्रतिशत मोटरसाइकल दुर्घटनाका छन् । सवारी दुर्घटनाबाट पैदल यात्रीले समेत अनाहकमा ज्यान गुमाइरहेका छन् । बाइसाइकल दुर्घटनाले १२ प्रतिशत, बस र तीनपांग्रे टेम्पोले ४–४ प्रतिशत, कार र ट्रकले ३–३ प्रतिशत, अरू सवारीले १ प्रतिशत र पैदल यात्री ५ प्रतिशत मृत्यु वा घाइते भएका छन् । १५ देखि २४ वर्ष उमेर समूहका प्रति १ लाख जनसंख्यामध्ये १ हजार ६ सय ५९ जनाको सडक दुर्घटनामा मृत्यु वा घाइते हुने गरेको छ ।
सर्वसाधारण सवारी दुर्घटनामा घाइते भएकाले जीवनभर अपांगता र अशक्तता खेप्न बाध्य छन् । देशैभर असुरक्षित सडक सञ्जालले गर्दा दुर्घटना भइरहेको र बढिरहेको यातायात विज्ञहरुको भनाई छ । ‘देशभर करिब एक लाख किलोमिटर सडक सञ्जाल छ, केही हदसम्म इन्जिनियरिङ प्रयोग गरेर बनाइएका २५ प्रतिशत मात्रै छन्, बाँकी अरू गाउँ जोड्न बनाइएका छन्,’ उनी भन्छन्, ‘सडक विभागबाहेक अरूले बनाएका त निकै असुरक्षित छन् । सडक प्रयोगकर्ताको लापरबाही, ट्राफिक नियम उल्लंघन, दक्षता नभएका चालक, मादक पदार्थ सेवन र ओभरटेकले दुर्घटनामा परेर मानिसले ज्यान गुमाइरहेका छन् ।
छिमेकी देश भारतको दिल्ली सरकारले सडक दुर्घटनामा हुने मृत्यु कम गर्न सन् २०१९ अक्टोबरदेखि ‘फरिस्ते दिल्ली के’ अभियान नै सुरु गरेको छ । अभियानको मुख्य लक्ष्य सडक दुर्घटनाका घाइतेलाई आपत्कालीन उपचारका लागि जतिसक्दो चाँडो अस्पताल पुर्याउनु हो । दिल्ली प्रदेश सरकारका अनुसार उक्त अभियान लागू भएपछिको करिब तीन वर्षमा १३ हजारभन्दा बढीको ज्यान जोगिएको छ । नेपालमा पनि विज्ञले यस्तै सुझाव दिइरहँदा सरकार भने चुपचाप छ ।
सडक दुर्घटना रोक्न सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पुराना गाडीको कन्डिसन जाँच गरेर मात्रै चलाउनुपर्ने, सडक प्रयोगकर्ता र गाडी व्यवसायी ट्राफिकमैत्री तथा सहयोगी हुनुपर्ने विज्ञहरु बताउँछन् । ‘ट्राफिक प्रहरीले सडक सुरक्षा व्यापक रूपमा गरेकै छ, चालकहरूले ट्राफिक नियम के छन्,’ ‘सडक, यातायात, स्थानीय तह, प्रहरीबीचको समन्वयलाई प्रभावकारी हुनुपर्छ ताकि धनजनको क्षति नहोस् र सवारी आवागमन सुरक्षित होस् ।’
Comments
अरु समाचार
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...












