बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी: म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।
बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताउनुभयो ।
महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाइ गरिएको थियो । आमा समूहले सुन्तला खेतीसम्बन्धी भजन र गित प्रस्तुत गरेका थिए ।
पाखाभरी लटरम्म फलेका सुन्तला पाकेर पहेलपुर बनेको बाँसखर्कमा भएको सुन्तला महोत्सवले कृषि पर्यटन प्रवर्द्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
महोत्सवमा सहभागि हुन आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम बिष्ट र कृषि सचिव वासुदेव रेग्मीसँग सडक, सिँचाइ, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीले ध्यानाकर्षण गराउनुभयो ।
“सिँचाइको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्मसहित बस्ति जोखिममा परेको र कच्चि सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याको बारेमा राज्यको माथिल्लो निकायमा रहेका पदाधीकारीलाई प्रत्यक्ष ल्याएर देखाएका छौँ,” गाउँपालिकाका अध्यक्ष आचार्यले भन्नुभयो “विद्युतको समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागि हुन आएका अतिथिको ध्यानाकर्षण गराएका छौँ ।”
बेनीदेखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजना नै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । घरघरमा धारा निर्माण र मिटर जडान भएपनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराउनुभयो । मल्लाज सिँचाइ आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैँचामा सिँचाइ गर्न पाइपलाइनको ब्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाउनुभयो । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताउनुभयो ।
“सुन्तला ढुवानीका लागि तपाईहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछाँै,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “यस वर्षपनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले रु ११ करोड बजेट बिनियोजन गरेको छ ।”
कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्द्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताउनुभयो । पर्यटनमन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तब्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
समुन्द्रि सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा कृषक मेखबहादुर खत्रीले जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार एक जना कृषकले वार्षिक रु चार लाखदेखि ३५ लाख बराबरको सुन्तला बिक्री गर्छन् । बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् । बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












