ताजा समाचार

गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेका मन्त्री लेखक मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरीक्षणका लागि पुगेका थिए ।

निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताए । गृहमन्त्री लेखकले भने,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।’

उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसी व्यक्त गरे । ‘अहिले मलाई बडो खुसी लागेको छ’ उनले भने, ‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ ।’यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org