ताजा समाचार

सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?

काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राख्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार राति प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको उल्लेख  गरेका छन्। सुवेदीले लेखेका छन्, “समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था देखिएको छ ।”  उनले प्रधानमन्त्रीसँगको भेटमा शिक्षकका मागका विषयमा दृढता र शिष्टतापूर्वक आफ्ना कुरा राखे पनि परिस्थिति सकारात्मक बन्न नसकेको जनाएका छन् ।

शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन छैनन् । त्यसैले उनीहरुले आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । महासंघ अध्यक्ष सुवेदीले आफूहरू एकदुई सानातिना मागहरूको लेनदेन गरी फर्किने आन्दोलनमा नआएको स्पष्ट पार्दै विगतका सहमती सम्बोधन हुने ऐन नै मूल्य लक्ष्य रहेको बताएका छन् ।

आन्दोलनका क्रममा प्रधानमन्त्रीसँगको भेटमा भएका सबै कुरा सार्वजनिक गर्ने उल्लेख गर्दै मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिरहने सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई अध्यक्ष सुवेदीले आग्रह गरेका छन् । उनले हिजोका दिनमा शिक्षकले जे पाएका हुन् सबै आन्दोलनकै बलमा पाएको उल्लेख गर्दै अब पनि आन्दोलनको विकल्प नदेखिएको जनाएको छन् ।

अध्यक्ष सुवेदीले शुक्रबार राति ९ बजेपछि प्रधानमन्त्री ओलीसँग दुई घण्टा चलेको भेटवार्तामा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा महासंघको तर्फबाट धारणा राखिएको बताएका छन् । उक्त भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको उनको भनाइ छ ।

यस्तै शुक्रबार राति नै महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेको थियो । छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले जानकारी दिए । प्रधानमन्त्री र सभामुखसँगको भेटमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org