ताजा समाचार

पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन महान्यायधिवक्ता बडालले गरे शिलान्यास !

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको नयाँ भवनको शिलान्यास गरेका छन् । आज २५६९ औं बुद्धजयन्तीको अवसरमा लगभग २६ करोडको लागतमा बन्ने उक्त नयाँ आधुनिक र सुविधा सम्पन्न साततले भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै बडालले, सरकारी वकिल कार्यालयको भवन निर्माण सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ, कार्यालयको भवन निर्माण समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न जरुरी छ।’

त्यस्तै, उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कामको बोझलाई ध्यानमा राख्दै नयाँ भवन निर्माणले कार्यमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले भवन शिलान्यासको चरणसम्म पुग्न जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर र स्रोत सुनिश्चिततामा सहयोग गर्ने सबै सरोकारवाला निकाय, पदाधिकारी र महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद दिए ।

शिलान्यास कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताहरु डा. टेक बहादुर घिमिरे , सञ्जीव रेग्मी, लोकराज पराजुलीका साथै सहन्यायाधिवक्ताहरु सुर्यराज दाहाल, उद्धब पुडासैनी, गोविन्द खनाल सहित उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश, रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्षलगायत उपस्थित रहेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org