ताजा समाचार

त्रिवि उपकुलपतिका लागि तीन जना सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका छनोट सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो । सिफारिसमा को–को परे भन्ने विषय भने गोप्य राखिएको छ ।

त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । तीमध्ये तीन जनाको नाम छनोट गरिएको हो । कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए ।

स्रोतका अनुसार निमित्त उपकुलपति प्राडा खड्ग केसी, प्राडा बिनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको थियो ।

उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org