ताजा समाचार

थाइल्यान्डमा ‘२१२ औँ भानु जयन्ती’ विशेष कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूताबासको आयोजनामा बैंककमा ‘२१२ औँ भानु जयन्ती’ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम थाई नेपाली संघ, एनआरएनए एनसीसी थाइल्यान्डको सहयोग र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सक्रियतामा सम्पन्न भएको हो ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यंक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै कविता वाचन, भानु संवाद, रामायण वाचन, शुभकामना आदि प्रस्तुत गरिएको थियो । ७ वर्षदेखि १२ वर्षसम्मको एउटा समूह र १३ वर्षदेखि १८ वर्षसम्मका दोस्रो समूह गरि दुई चरणमा कविता वाचन प्रतियोगिता गर्दै पुरस्कार वितरण गरिएको थियो । यस विशेष अवसरमा थाई नेपाली समुदायबीच आपसी एकता, भाषिक गौरव, संस्कार संस्कृति र सांस्कृतिक पहिचानप्रतिको सम्मान झल्किएको थियो।

“कार्यक्रममा सहभागिता जनाउन पाउनु हाम्रो लागि गौरवको विषय हो। यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीबीच आत्मीयता बढाउनुका साथै मातृभाषा संस्कार र संस्कृतिप्रति नयाँ पुस्तामा चेतना फैलाउने कार्यमा टेवा पुर्‍याउँछ भन्ने विश्वास लिइएको छ”, थाई नेपाली संघ थाईल्यान्डका संरक्षक कुमार कार्कीले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

पुरस्कृत कवि र सहभागी सबैमा आयोजकले धन्यवाद दिएको छ । कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टा, कलाकार, सामाजिक अगुवा तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गत वर्ष पनि दूताबासको आयोजनामा भानु जयन्ती विशेष कार्यक्रम आयोजना भएको थियो । विदेशमा रहेका नेपालीहरुलाई एकताको सूत्रमा बाँध्न र नेपाली भाषा साहित्यको संरक्षण गर्न यस्था कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org