ताजा समाचार

पूर्वी नाकाबाट १० मुख्य बस्तुमध्ये सर्वाधिक ‘अलैँची’ निर्यात

काँकडभिट्टा । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा बढी निर्यात ‘अलैँची’को भएको छ। मेची भन्सार कार्यालयका अनुसार उक्त अवधिमा ४२ लाख ९४ हजार ५५० केजी अलैँची निर्यात गरिएको छ, जसको मूल्य करिब ७ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ।

पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा र भोजपुर लगायतका पहाडी जिल्लाहरू अलैँची उत्पादनका लागि प्रसिद्ध छन्। त्यहाँ उत्पादित अलैँची प्रशोधनपछि काँकडभिट्टा नाकाबाट भारत निर्यात गरिन्छ।

अलैँचीपछि सबैभन्दा धेरै निर्यात हुने वस्तु फलामे पाता हो, जसको निर्यात मूल्य ४ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ। तेस्रो स्थानमा रहेको चियाको निर्यात १ करोड ५४ लाख १६ हजार ७५७ केजी भएको छ, जसबाट ४ अर्ब २१ करोड ३५ लाख रुपैयाँ आम्दानी भएको छ। गत वर्षको तुलनामा चियाको निर्यात ३२.५% ले वृद्धि भएको हो।

२०७९/८० मा ३ अर्ब १७ करोड ९५ लाख बराबरको चिया निर्यात गरिएको थियो। त्यसपछि निर्यात हुने अन्य प्रमुख वस्तुहरूमध्ये प्लाइउड चौथो स्थानमा छ, जसको निर्यात मूल्य ३ अर्ब ३२ करोड ८९ लाख नाघेको छ। पाँचौँ स्थानमा रहेको छुर्पी ८ लाख १५ हजार केजी निर्यात भएको छ, जसको मूल्य १ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ छ। पशु आहारका रूपमा छुर्पी तेस्रो मुलुकमा निर्यात गरिन्छ।

अन्य निर्यात हुने वस्तुहरूमध्ये:

छैटौँ: अम्लिसो – ९५ करोड ६६ लाख

सातौँ: भेनियर पत्ती – ९४ करोड ५६ लाख

आठौँ: मोलासिस – ५१ करोड १ लाख

नवौँ: अदुवा – २९ करोड ६० लाख

दशौँ: सिमेन्टको क्लिङ्कर – २८ करोड ४१ लाख रहेको छ।

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार यी वस्तुहरू मुख्यतया भारततर्फ निर्यात भएका हुन्। पूर्वी नेपालको नगदे बालीका रूपमा चिनिने अलैँची, चिया र अदुवाले निर्यात आम्दानीमा ठुलो योगदान दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org