ट्रम्प र जेलेन्स्कीबीच छलफल, सुरक्षा सुनिश्चितता गर्ने ट्रम्पको संकेत
युक्रेनबारे ह्वाइट हाउसमा आयोजित बैठकमा के भयो, ट्रम्प र अरू नेताले के भने
वाशिङ्टन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेन युद्ध अन्त्य गराउने उद्देश्यसहित अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गर्न सोमवार फेरि एक पटक ह्वाइट हाउस पुगे। ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेको भोलिपल्ट आयोजित उक्त बैठकमा सहभागी हुन युरोपका विभिन्न नेताहरू पनि वाशिङ्टन गएका थिए।
वार्ताअघि ट्रम्पले सकारात्मक टिप्पणी गरेका थिए भने उनका युरोपेली साझेदारहरू त्यति आशावादी देखिँदैनथे। सोमवार रातिसम्म कुनै पक्षबाट पनि सुरक्षा सुनिश्चितता वा शान्ति सम्झौताका लागि प्रतिबद्धता व्यक्त भएको छैन।
उक्त वार्ताबारे जान्नुपर्ने केही मुख्य कुरा तल प्रस्तुत गरिएको छ। उनका अनुसार त्यस्तो द्विपक्षीय वार्तालगत्तै उनको सहभागितामा त्रिपक्षीय वार्ता हुने छ। वार्ताका लागि स्थानको टुङ्गो भने लाग्न बाँकी भएको उनले जनाए।
पछि रुसी राष्ट्रपतिका एक सल्लाहकारले ट्रम्प र पुटिनले सोमवार फोनमा ४० मिनेट कुराकानी गरेको बताए। युरोपेली नेताहरूसँग सामूहिक वार्तामा बस्नुअघि ट्रम्पले फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग गरेको टिप्पणी माइकबाट आएको सुनिएको थियो।
“मलाई उनी सहमति गर्न चाहन्छन् जस्तो लाग्छ। उनी मेरा लागि सहमति गर्न चाहन्छन् जस्तो मलाई लाग्छ। तपाईँले कुरा बुझ्नुभो? त्यो अचम्मलाग्दो सुनिन्छ,” पुटिनतिर सङ्केत गर्दै ट्रम्पले माक्रोँलाई भने।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा पूर्ण स्तरको सैन्य आक्रमण थालेको थियो। युद्धरत दुई देशलाई वार्ताको टेबलमा आमुन्नेसामुन्ने ल्याउन कति सजिलो हुन्छ भन्ने हेर्न बाँकी नै छ।
जेलेन्स्कीले महिनौँदेखि पुटिनसँग भेट गर्ने प्रयास गर्दै आएका छन्। रुस शान्ति स्थापना गर्न इच्छुक छैन भन्ने आफ्नो तर्कलाई पुष्टि गर्न पनि उनले त्यसो गरेका हुन सक्छन्। मस्कोले बारम्बार पुटिन-जेलेन्स्की वार्ताको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ। क्रेम्लिनसँग निकट मानिने युरी युशाकोभले “वार्तामा सहभागी हुने रुसी र युक्रेनी प्रतिनिधिहरूको स्तर बढाउने” विषयमा विचार गर्नु “उपयुक्त हुने” सोमवार राति बताए।
ट्रम्पले युद्ध अन्त्य गर्नका लागि वार्ता थाल्नुअघि युद्धविराम आवश्यक हुन्छ भन्ने कुरालाई मान्न छोडे जस्तो देखिन्छ। युक्रेनले युद्धविरामलाई मुख्य मागका रूपमा प्रस्तुत गर्दै आएको छ। लडाइँ रोकेर मात्र रुससँग वार्ता गर्न सकिने र अन्ततः दीर्घकालीन समाधान निकाल्ने पक्षमा युक्रेन देखिन्छ। शान्ति सम्झौतामा सहमत हुनुभन्दा युद्धविराम गर्न सहज हुन्छ। शान्ति सम्झौताका लागि वार्ता धेरै महिना चल्न सक्छ र त्यस अवधिमा पनि रुसले युक्रेनी भूमिमा आक्रमणलाई निरन्तरता दिन सक्छ।
“त्यो आवश्यक हुन्छ भन्ने मलाई थाहा छैन,” युद्धविरामबारे ट्रम्पले भने। तर युरोपेली नेताहरू ट्रम्पसँग सहमत भएनन्। जर्मन चान्स्लर फ्रीड्रिख मेअर्ट्सले कडा शब्दमा विमति व्यक्त गरे। “युद्धविराम नभई अर्को बैठक हुने कुरा म सोच्न पनि सक्दिनँ,” मेअर्ट्सले भने, “त्यसैले त्यसका लागि काम गरौँ र रुसमाथि दबाव दिने प्रयास गरौँ।” त्यसबारे बोल्न आग्रह गर्दा जेलेन्स्कीले पहिला उनले राख्दै आएको युद्धविरामको माग दोहोर्याएनन्।
सुरक्षा सुनिश्चितता प्रदान गर्ने ट्रम्पको सङ्केत
युद्ध अन्त्य गर्न हुने सहमतिमा संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सुरक्षा सुनिश्चितता हासिल गर्न सघाउने कुरा ट्रम्पले जेलेन्स्कीलाई बताए। तर त्यसका लागि कस्तो सहयोग उपलब्ध हुन्छ भन्ने चाहिँ खुलाएनन्।
ट्रम्पले प्रत्यक्ष सैन्य सहयोग दिने कुरा गरेनन्। यद्यपि संवाददाताहरूले अमेरिकी सुरक्षा सुनिश्चितताको प्रसङ्गमा अमेरिकी सेना युक्रेन जाने कुरा पर्न सक्छ भनेर सोध्दा उनले त्यस्तो सम्भावनालाई अस्वीकार गरेनन्।
युरोप “प्रतिरक्षाको पहिलो पर्खाल” भएको भन्दै उनले तर “हामी पनि संलग्न हुन्छौँ” भने। “हामी उनीहरूलाई राम्रो सुरक्षा दिन्छौँ,” ट्रम्पले एउटा प्रसङ्गमा भने। सुरक्षा सुनिश्चितताको विषयमा ट्रम्पले सबैभन्दा स्पष्ट र निर्णायक कुरा गरेका हुन्। रुससँग हुने सहमतिका लागि सुरक्षा सुनिश्चितताको विषय अपरिहार्य मानिँदै आएको छ।
उनले गत साता पुटिनसँग अलास्कामा भएको वार्तामा रुसी राष्ट्रपतिले सम्भावित शान्ति सम्झौतामा युक्रेनले सुरक्षा सुनिश्चितता पाउने कुरा स्वीकार गरेको बताए। सोमवार बैठकहरूपछि आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले सुरक्षा सुनिश्चितताअन्तर्गत अमेरिका र युक्रेनबीच ९० अर्ब डलर बराबरको अस्त्र सम्झौता हुने जानकारी दिए।
त्यसमा हवाई प्रणाली र क्षेप्यास्त्र प्रतिरोध प्रणालीसहित युक्रेनसँग अहिले नभएका अस्त्रशस्त्र अमेरिकाबाट प्राप्त हुने बताए। तर उनले अरू सामग्रीबारे नभन्ने बताए। जेलेन्स्कीका अनुसार अमेरिकाले युक्रेनसँग ड्रोन किन्ने र त्यसबाट युक्रेनले उत्पादन गर्ने मानवरहित त्यस्ता विमानको उत्पादनलाई बजेट जुटाइने बताए। उनले सुरक्षा सुनिश्चितताको विषय सम्भवतः १० दिनभित्र टुङ्गो लाग्ने संवाददाताहरूलाई बताए।
भिन्न रूपमा भोलोदिमिर जेलेन्स्की
गत फेब्रुअरीमा ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले निकै तीतो अनुभव बटुल्नुपरेको थियो। तर यसपालि उनी अमेरिकी आतिथेयलाई प्रसन्न राख्न सजग देखिन्थे। बैठक सुरु भएको केही मिनेटमै उनले छ पटक “धन्यवाद” भने। यसअघिको भ्रमणमा जेलेन्स्कीलाई अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले युक्रेनलाई प्रदान गरेको सहयोगप्रति कृतज्ञता नदेखाएको भन्दै झपारेका थिए।
यसपालि जेलेन्स्कीले सैन्य पोसाक नभई कालो सूट लगाएका थिए। यसअघि ट्रम्पले जेलेन्स्की सैन्य पोसाक लगाएर आफूसँग वार्ता गर्न आएकोमा व्यङ्ग्य गरेका थिए। जेलेन्स्कीले ह्वाइट हाउसमा अमेरिकाकी प्रथम महिला मेलानिआ ट्रम्पलाई आफ्नी पत्नी ओलेना जेलेन्स्काले पठाएको पत्र पनि हस्तान्तरण गरे।
“यो तपाईँका लागि हैन – तपाईँकी पत्नीलाई हो,” उनले ट्रम्पलाई भने। बहुपक्षीय बैठकअघि युरोपेली नेताहरूले आफूहरू सबैलाई टेबलमा ल्याउन प्रयास गरेको भनी ट्रम्पको प्रशंसा गरे। “म तपाईँको नेतृत्वलाई साँच्चै धन्यवाद दिन चाहन्छु,” नेटो प्रमुख मार्क रूटले भने। इटलीकी प्रधानमन्त्री जोर्जा मलोनीले यसअघि रुस शान्तिका लागि तयार नभएको तर अहिले “केही कुरा परिवर्तन भयो” भन्दै त्यसको श्रेय ट्रम्पलाई दिइन्।
यद्यपि युरोपेली नेताहरूले भविष्यमा रुसले गर्न सक्ने आक्रामक गतिविधिबारे आफ्नो चिन्ता भएको स्पष्ट पारे। “हामीले [युक्रेनको] सुरक्षा सुनिश्चितताबारे कुरा गर्दै गर्दा हामी युरोप महादेशको सुरक्षाको विषयबारे पनि कुरा गर्दै छौँ,” फ्रान्सका राष्ट्रपति माक्रोँले भने।
समाचार स्रोत: बीबीसी
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












