ताजा समाचार

सिडेन निर्वाचनः महासचिवमा कुलराज खनाल लड्दै, अध्यक्षमा झा र केसीको प्रतिस्पर्धा

काठमाडौं । ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सिडेन) को आठौँ कार्यसमितिको महासचिव पदका लागि इन्जिनियर कुलराज खनालले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनको महासचिव पदका लागि प्यानल बेगर खनालले उम्मेदवारी दिएका हुन् ।

महासचिवका उम्मेद्वार खनालले सिडेनलाई गुटगत स्वार्थभन्दा माथि उठाई लोकतान्त्रिक इन्जिनियरहरूको साझा संस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । हाल सिडेन विभिन्न स्वार्थ समूहमा विभाजित भई अग्रज इन्जिनियरहरूको योगदानलाई उपेक्षा गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै आफू विजयी भएमा त्यसको अन्त्य गर्ने खनालले प्रतिबद्धता जनाएका छन् । “संगठनलाई व्यक्तिगत स्वार्थपूर्ति र अपारदर्शी नियुक्तिको थलो बनाइएको छ, यो सिलसिला यसै पटकबाट अन्त्य हुन्छ,” खनालले सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रष्ट पारे ।

नेता प्रधान नभई नीति प्रधान सिडेन अबको आवश्यकता भएको बताउँदै उनले समुहगत राजनीतिभन्दा माथि उठेर संस्थागत हकहितको संरक्षण र प्रवर्द्धन गर्ने अठोट गरेका छन् । साथै, सदस्यता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने तथा अन्य दलसँग आबद्ध व्यक्तिहरुलाई सदस्यता बाँडेर संस्थालाई कमजोर पार्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) मा पनि आसेपासे मात्रलाई सिफारिस गर्ने प्रवृत्तिको विरुद्ध खनालले आफ्नाे उम्मेदवारीलाई न्यायोचित विकल्पका रूपमा प्रस्तुत गरेका छन् । उनले दुःख गरेर संगठन विस्तारमा योगदान दिएका इन्जिनियरहरुलाई नेतृत्वमा ल्याउने वातावरण बनाउने उल्लेख गरेका छन् ।

काठमाडौं इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी युनियन सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका खनाल नेविसंघ स्ववियु सभापतिमा अत्यधिक मतका साथ विजयी भएका व्यक्ति हुन् । उनी प्रविधिक विद्यार्थी परिषद्का केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघका निर्वाचित केन्द्रीय सदस्य तथा सिडेन लुम्बिनी प्रदेशका संस्थापक सचिवसमेत भइसकेका छन् ।

“गुटगत राजनीतिमा नरमाउने तर योगदान गर्ने सबैलाई समेट्ने वातावरण बनाउने मेरो अठोट हो,” उनले भने । खनालले आगामी निर्वाचनमा आफूलाई केन्द्रीय महासचिव पदमा निर्वाचित गराउन सम्पूर्ण लोकतान्त्रिक इन्जिनियरलाई एकजुट हुन अपिल गरेका छन् ।

आगामी नेतृत्वका लागि सिडेनमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । तर इन्जिनियर खनालले भने महासचिव पदमा प्यानल बेगर आफ्नो उम्मेदवारी दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट रविभुषण झाको नेतृत्वमा प्यानल बनाइएको छ। यस्तै अर्को प्यानलबाट धनेन्द्र केसी अध्यक्षको उम्मेदवार बनेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org