ताजा समाचार

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

महेन्द्रनगर (कञ्चनपुर) । तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३ फागुनमा भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्र भएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताए ।

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा रु २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ ।

‘वर्षौंसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ’, बेलौरीका शिक्षक केशव विष्टले भने, ‘अढाई वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुप¥यो ।’ -रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org