ताजा समाचार

नयाँ सरकार नबनुन्जेल भेनेजुयलामा अमेरिकी शासन, न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अस्थायी रूपमा शासनको जिम्मेवारी अमेरिकाले सम्हाल्ने बताएका छन् ।

अमेरिकी सेनाले शनिबार राजधानी कराकाससहित विभिन्न सहरमा आक्रमण गरेको थियो । त्यसपछि आतंकवादविरोधी विशेष इकाइ डेल्टा फोर्सले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको जनाइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मादुरो नियन्त्रणमा रहेको तस्बिर सार्वजनिक गर्दै यसबारे औपचारिक जानकारी दिएका हुन् । सार्वजनिक तस्बिरमा मादुरो हातकडी लगाइएका र आँखामा कालोपट्टी बाँधिएको अवस्थामा देखिन्छन् ।

फ्लोरिडास्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘सुरक्षित, उचित र विवेकपूर्ण सत्ता हस्तान्तरण नभएसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ ।’अमेरिकी महान्यायाधिवक्ताको कार्यालयका अनुसार मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दर्ता गरिनेछ । अमेरिकाले मादुरोमाथि लामो समयदेखि लागुऔषध कारोबारलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ । अमेरिकी अटर्नी जनरल पामेला बन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवाद, कोकिन आयातको षड्यन्त्र, मेसिनगन र खतरनाक हतियार राख्ने तथा त्यसमा षड्यन्त्र गरेको अभियोग छ ।’ मादुरोकी पत्नीविरुद्ध लाग्ने अभियोगबारे भने खुलाइएको छैन ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकाको कदमको रूस, चीन र कोलम्बियालगायत देशहरूले कडा निन्दा गरेका छन् । रूसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथिको सशस्त्र आक्रमण गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टरविपरीत कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने बताएको छ ।आक्रमणबाट भएको क्षति र मानवीय हताहतको यकिन विवरण अझै सार्वजनिक भएको छैन । आक्रमण भएका क्षेत्रमा बम विष्फोट र धुवाँका मुस्ला देखिएको बताइएको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारसँग आधिकारिक जानकारी नभएको बताउँदै दुवै जीवित रहेको प्रमाण माग गरेकी छन् ।

यसैबीच, रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले मृतक र घाइतेको विवरण संकलन भइरहेको जानकारी दिँदै विदेशी सैनिकको उपस्थितिको विरोधमा देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन् । भिडियो सन्देशमार्फत उनले यसलाई ‘भेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org