ताजा समाचार

कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आज बिहान साढे ८ बजेदेखि जारी रहेको छ।

विशेष महाधिवेशन जिल्ला क्षेत्र तथा ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयका अनुसार हिजो नाम दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज पनि दर्ता प्रक्रिया निरन्तरता दिइएको हो। उनका अनुसार नाम दर्ता प्रक्रिया बिहान ११ बजेसम्म सञ्चालन हुनेछ।

विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्रको कार्यक्रम तय भए पनि प्राविधिक कारणले बन्दसत्र केही समय ढिलाइ भएको आयोजकले जनाएको छ।

हिजो सुरु भएको महाधिवेशनमा कुल २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए। प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेसबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १४८ प्रतिनिधिले नाम दर्ता गराएका छन्।

यस्तै, काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट १७८ तथा भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन्।

विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्तालाई व्यवस्थित बनाउन आठवटा फरक–फरक स्टलको व्यवस्था गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org