ताजा समाचार

प्रतिनिधिसभा निर्वाचन : ६८ दलका ३,४८४ उम्मेदवार मैदानमा, ६२ प्रतिशत उम्मेदवार ४० वर्षमुनिका

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (FPTP) प्रणालीतर्फ उम्मेदवारी मनोनयन दर्ता गराउनेको संख्या ३ हजार ४ सय ८४ पुगेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये ३ सय ९५ जना महिला (११ प्रतिशत), ३ हजार ८८ जना पुरुष (७९ प्रतिशत) र १ जना अन्य लिङ्गका छन् ।

राजनीतिक दलका तर्फबाट मनोनयन दर्ता गराउने उम्मेदवारको संख्या २ हजार २ सय ९७ रहेको छ । तीमध्ये २ सय ३५ जना महिला (१० प्रतिशत), २ हजार ६४ जना पुरुष (९० प्रतिशत) र १ जना अन्य लिङ्गका उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १ सय ८७ पुगेको आयोगले जनाएको छ । यसमा १ सय ६० महिला र १ हजार २४ पुरुष उम्मेदवार रहेका छन् ।

उमेर समूहका आधारमा ३६ देखि ४० वर्ष समूहका उम्मेदवार सबैभन्दा बढी देखिएका छन् । यस समूहमा कुल १ हजार ६ सय १० जना उम्मेदवार छन्, जुन कुल संख्याको ४६ प्रतिशत हो । तीमध्ये २ सय ३५ महिला र १ हजार ३ सय ७५ पुरुष छन् ।

२५ देखि ३५ वर्ष उमेर समूहमा ५ सय ८३ जना (१६ प्रतिशत) उम्मेदवार दर्ता भएका छन् भने ४१ देखि ४५ वर्ष उमेर समूहमा १ हजार ९० जना (३१ प्रतिशत) उम्मेदवार रहेका छन् । ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या २ सय १ (५ प्रतिशत) रहेको छ ।

निर्वाचन आयोगका अनुसार यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलको संख्या ६८ पुगेको छ । आयोगले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक भएकाले यसमा केही संशोधन हुन सक्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org