‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताएका छन् ।
आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको अघिल्लो दिन फागुन २० गते आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि अझै निर्वाचन हुन्छ र भन्ने प्रश्नको सामना गरेको स्मरण गरे । निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।
“विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउनुपर्छ, मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर रहेकाले मतदान गर्न पाउनुपर्छ जस्ता मागका बीच निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो, अध्यादेशबाट मतदाता नामावली संकलन गरेर करिब १० लाख युवा मतदाता थप भए, युवा मतदाताले पनि यस पटक उत्साहपूर्ण रुपमा मतदान गरे,” उनले भने ।
निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि नआत्तीकन र नमात्तीकन भाग लिएकाले पनि निर्वाचन सम्पन्न हुन सकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए। अन्योलबीच पनि आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउन सफल भएको छ । गत फागुन २१ गते कतै पनि निर्वाचन वातावरण बिथोलिएन । निर्वाचन आचारसंहिता उल्लंघन गरेकै कारण कसैलाई पनि कडाइका साथ कारबाही गर्नु नपरेको पनि आयोगले जनाएको छ । यस पटकको निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गराउनु परेन । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वका १० वटा देशका निर्वाचन आयोगमध्ये नेपालको आयोग पनि पर्ने जानकारी पनि कार्यक्रममा उनले गराए।
विदेशबाट निर्वाचन पर्यवेक्षकले पनि यो शताब्दीमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन नेपालमा सम्पन्न भएको प्रतिवेदन दिएको पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।
नवनिर्वाचित सांसदहरुलाई निर्वाचन प्रणाली फेर्न हुने गरेका मागलाई सम्बोधन गर्ने गरी अब बस्ने संसद्को अधिवेशनबाटै निर्वाचन कानुन बनाउन माग गरे। आयोगले अढाई वर्षअघि मस्यौदा गरेर पठाएको निर्वाचन कानुन गृह मन्त्रालयमा अलपत्र अवस्थामा रहेकाले अब बस्ने संसद्को अधिवेशनबाटै त्यसलाई पारित गर्ने गरी काम गर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नवनिर्वाचित सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
“फेरि १४ महिनापछि स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ, त्यसैले अब बस्ने अधिवेशनबाटै निर्वाचन कानुन पारित गरिनुपर्छ, निर्वाचनसम्बन्धी १० वटा कानुन छ, ती सबैलाई एउटै बनाउने गरी तयार भएको मस्यौदालाई अघि बढाइनुपर्छ, १४ महिनापछि स्थानीय तहको निर्वाचन हुँदा त्यसको छ महिनापछि गर्नुपर्ने प्रदेशसभा सदस्य निर्वाचनलाई पनि एकैपटक गरे मितव्ययी निर्वाचन हुन्छ,” उनले भने ।
नवनिर्वाचित सांसदबाट नागरिकले धेरै आशा गरेकाले त्यो विश्वासलाई विश्वासघात नगर्ने गरी काम गर्न पनि उनले सुझाव दिए । नवनिर्वाचित सांसदबाट कानुन बनाउन जोस, जाँगरका साथ काम गरेर जनताले खोजेको कानुन बनाउन सक्रियता बढाउन पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले अनुरोध गरेका थिए ।
आयोगका सहसचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले ५७ चिह्नमा ६३ दलले यस पटकको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएकामा छ दल सांसद निर्वाचित गराउन सफल भएको जानकारी गराएका थिए ।
समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी, नेपाली काँग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादीलेनिनवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार/चार जना सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, काँग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एक/एक स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधि सभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेपछि आजै दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र प्रतिवेदन बुझाउने भएको छ । दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने जनाइएको छ । निर्वाचन प्रतिवेदन बुझाएसँगै नवनिर्वाचित सांसदको शपथग्रहण र नयाँ सरकार बनाउने प्रक्रिया पनि अघि बढ्ने जनाइएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












