ताजा समाचार

जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक

काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा भएको खेलमा जर्मनीले पहिलो २१ औं मिनेटमा बराबरी गोल व्यहोरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै क्यारिबियन राष्ट्र कुरासाओलाई सहज रूपमा हरायो।

जर्मनीले विश्वकपको उद्घाटन खेल जितेको यो सन् २०१४ पछिकै पहिलो अवसर हो। त्यही वर्ष जर्मनीले विश्वकप उपाधि जितेको थियो। खेलको पाँचौं मिनेटमै फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर निलो रंगमा सजिएका हजारौं समर्थकको साथ पाएको कुरासाओले ऐतिहासिक क्षण सिर्जना गर्‍यो।

लिभानो कोमेनेन्सियाको प्रहार डिफ्लेक्सन हुँदै जाली चुमेपछि खेल १–१ को बराबरीमा पुग्यो। उक्त गोल विश्वकपमा कुरासाओको इतिहासकै पहिलो गोल बनेको थियो, जसले समर्थकमाझ उत्साहको लहर पैदा गर्यो। यद्यपि जर्मनीले छिट्टै खेलमा नियन्त्रण पुनः प्राप्त गर्‍यो। निको श्लोटरबेकले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने पहिलो हाफको अन्त्यतिर काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै अन्तर ३–१ बनाए।

दोस्रो हाफ सुरु भएको केही समयमै जमाल मुसियालाले गोल थपे। त्यसपछि नाथानिएल ब्राउनको आकर्षक भली गोलले जर्मनीको दबदबा झन् बलियो बनायो। वैकल्पिक खेलाडी डेनिज उन्डाभले पनि गोल गरे भने हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ को फराकिलो बनाए।

खेलमा जर्मनीका कप्तान तथा गोलरक्षक मानुएल नोयरले पनि नयाँ कीर्तिमान बनाए। ४० वर्षको उमेरमा मैदान उत्रिएका उनी विश्वकपमा खेल्ने सबैभन्दा बढी उमेरका जर्मन खेलाडी बने। विश्वकप इतिहासमै सबैभन्दा सानो जनसंख्या भएको राष्ट्रका रूपमा छनोट भएको कुरासाओ पराजित भए पनि विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भयो। समूह ‘ई’ मा रहेको जर्मनीले अब जुन २१ मा टोरन्टोमा आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने कुरासाओले कान्सास सिटीमा इक्वेडरसँग खेल्नेछ।

यसैबीच सोमबार बिहान भएको रोमाञ्चक प्रतिस्पर्धामा जापानले नेदरल्याण्ड्सलाई २-२ गोलको बराबरीमा रोक्दै अंक बाँडेको छ। डलास स्टेडियममा भएङ्खेको लको अन्तिम समयमा गोल गर्दै जापानले हार टार्न सफल भएको हो। ६९ हजार २ सय ८५ दर्शकले भरिएको रङ्गशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा नेदरल्याण्ड्सका डोनेल मालेनले गोलका केही सुन्दर अवसर सिर्जना गरे पनि जापानी गोलकिपर जायोन सुजुकीले त्यसलाई विफल तुल्याइदिएका थिए।

खेलको दोस्रो हाफ भने निकै नाटकीय र प्रतिस्पर्धात्मक रह्यो। ५१ औं मिनेटमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले रायन ग्रेभनबर्चको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। तर, नेदरल्याण्ड्सको यो खुसी धेरै समय टिक्न सकेन। खेलको ५७ औं मिनेटमा केइतो नाकामुराले शक्तिशाली प्रहार गर्दै जापानका लागि बराबरी गोल फर्काए।

खेलको ६४ औं मिनेटमा नेदरल्याण्ड्सले पुनः अग्रता लियो। क्राइसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट सानदार फिनिसिङ गर्दै स्कोर २-१ बनाए। खेल नेदरल्याण्ड्सले जित्ने अनुमान गरिरहँदा ८९ औं मिनेटमा दाइची कामाडाले कोकी ओगावाको प्रहारलाई हेडमार्फत दिशा दिँदै जापानका लागि दोस्रो गोल गरे। यस गोलसँगै जापानले खेलमा पुनरागमन गर्दै एक महत्वपूर्ण अंक सुरक्षित गर्‍यो।

जापानले दुई पटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै आफ्नो जुझारुपन र उच्च मनोबल प्रदर्शन गरेको छ। फिफा वरीयताको १८ औं स्थानमा रहेको जापानले यो नतिजासँगै आफूलाई प्रतियोगिताको ‘डार्क हर्स’ को रूपमा प्रमाणित गरेको छ। अर्कोतर्फ, प्रिमियर लिगका स्टार खेलाडीहरूले भरिएको नेदरल्याण्ड्सका लागि दुई पटकको अग्रता जोगाउन नसक्नु निराशाजनक पक्ष बनेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org