ताजा समाचार

राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि

काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न भएको छ। अब उक्त मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु हुने भएको छ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दासँगै उपस्थित सातै जना प्रतिवादीको बयान लिइसकिएको छ र अब बहसको चरणमा प्रवेश गरिएको छ। मङ्गलबार तीन जना प्रतिवादीको बयान सम्पन्न भएको थियो भने बुधबार बाँकी चार जनाको बयान सकिएको हो। यस मुद्दामा दुई कम्पनीसहित कुल १८ जनालाई प्रतिवादी बनाइएको भए पनि हालसम्म सात जनालाई मात्र अदालतमा उपस्थित गराइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र छपाइको जिम्मेवारी पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई मुद्दासाथ पेस गरेको थियो ।

अख्तियारले सोमबार उनीहरूविरुद्ध १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो । मुद्दामा दुई जर्मन कम्पनीका नेपाल प्रतिनिधिसहित छ जनालाई पनि विपक्षी बनाइएको छ । उनीहरूको बिगो फरक फरक कायम गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org