ताजा समाचार

पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न

काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर बजार भने निरन्तर ओरालो लागिरहेको छ। सरकार गठन हुनुभन्दा अघिल्लो दिन करिब २,९५० बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २,५९३ बिन्दुमा झरेको छ।

यस अवधिमा नेप्से परिसूचक ३५६.८५ अंकले घटेको छ। शेयर बजारको समग्र अवस्थालाई प्रतिबिम्बित गर्ने नेप्से परिसूचकसँगै बजार पुँजीकरणमा समेत उल्लेख्य कमी आएको छ। बालेन सरकारले सत्ता सम्हाल्दा नेप्सेमा सूचीकृत सबै कम्पनीको कुल बजार मूल्य ५० खर्ब रुपैयाँभन्दा बढी रहेकोमा सोमबारसम्म यो घटेर करिब ४४ खर्ब रुपैयाँमा सीमित भएको छ।

नेपालको शेयर बजार केही वर्षयता नै अपेक्षाकृत सुस्त रहँदै आएको छ। विसं २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३,१९८ मा पुगेको थियो। त्यसयता उक्त उच्च बिन्दु पार गर्न नसकेको बजार पछिल्लो समय पुनः दबाबमा परेको देखिन्छ।

गत वर्षको जेन–जी आन्दोलनका क्रममा भएको विध्वंस तथा त्यसबाट निजी क्षेत्र र लगानीकर्ताको मनोबलमा परेको असर अझै पूर्ण रूपमा हट्न नसकेको जानकारहरूको भनाइ छ। आन्दोलन सुरु भएको भदौ २४ गते नेप्से परिसूचक २,६७२ बिन्दुमा थियो। त्यसको करिब १० दिनपछि कारोबार पुनः खुलेको दिन परिसूचक एकैपटक १६० अंकले घटेको थियो।

नयाँ सरकार गठनसँगै राजनीतिक स्थायित्व, आर्थिक सुधार र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षाले शेयर बजारमा सुधार आउने अनुमान गरिएको थियो। तर अपेक्षाविपरीत परिसूचक निरन्तर घट्दै जाँदा लगानीकर्ताको सरकारप्रतिको विश्वास र अपेक्षाबारे प्रश्न उठ्न थालेका छन्।

बजारका जानकारहरूले नेप्सेको गिरावटलाई सरकारको नीति तथा कार्यशैलीप्रतिको ‘रातो बत्ती’का रूपमा समेत बुझ्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार लगानीकर्ताको मनोबल कमजोर हुनु, निजी क्षेत्रमा देखिएको निराशा तथा सरकारबाट अपेक्षित आर्थिक सुधारको अनुभूति हुन नसक्नुले शेयर बजारमा सकारात्मक वातावरण बन्न नसकेको हो।

यद्यपि नेप्सेको उतारचढावलाई सरकारको कार्यसम्पादनसँग मात्र जोडेर हेर्न नमिल्ने विज्ञहरूको धारणा पनि छ। ब्याजदर, बैंकिङ प्रणालीमा रहेको तरलता, मौद्रिक तथा वित्तीय नीति, कम्पनीहरूको वित्तीय अवस्था र लगानीकर्ताको मनोविज्ञानलगायत विभिन्न पक्षले शेयर बजारलाई प्रभावित गर्ने गर्छन्।

तर नयाँ सरकारप्रति लगानीकर्ताले राखेको अपेक्षा र सरकार गठनपछि पनि बजारमा देखिएको निरन्तर गिरावटका कारण नेप्सेको वर्तमान अवस्थालाई सरकारको आर्थिक नीतिको प्रभावकारितासँग जोडेर हेर्न थालिएको छ। सरकार गठनको पाँच महिनाको अवधिमा परिसूचक ३५६ अंकभन्दा बढी घट्नुले आगामी दिनमा लगानीकर्ताको विश्वास फर्काउन सरकारमाथि थप दबाब सिर्जना गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org