ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबिच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो । मोदीका अनुसार ब्रिक्स राष्ट्रले विश्वको करिब ५० प्रतिशत जनसंख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र २५ प्रतिशतभन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ ।
समावेशी आर्थिक विकासमा जोड
मोदीले ब्रिक्सको मुख्य शक्ति सदस्य राष्ट्रको विविधता र सहकार्यमा रहेको बताउनुभयो । फरक राजनीतिक, आर्थिक र सामाजिक अवस्था भएका देश भए पनि साझा सहकार्यबाट सबैले लाभ लिन सक्ने उनको भनाइ थियो । उहाँले विश्व आर्थिक विकास केही देश वा क्षेत्रसम्म मात्र सीमित नभई सबै देश र जनतासम्म पुग्नुपर्ने बताउनुभयो । ब्रिक्स सन् २००९ मा स्थापना भएको समूह हो ।
सुरुमा ब्राजिल, रुस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो । पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्सलगायत देश पनि समूहमा जोडिएका छन् । ब्रिक्सले पश्चिमी शक्तिको प्रभाव रहेका अन्तर्राष्ट्रिय संस्थामा विकासशील तथा उदीयमान अर्थतन्त्र भएका देशहरूको आवाज बलियो बनाउन खोज्दै आएको छ । विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव बढाउँदै ब्रिक्सले व्यापार, ऊर्जा, वित्तीय सहकार्य र अन्तर्राष्ट्रिय राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरिरहेको छ ।
मध्यपूर्वको बढ्दो तनावप्रति चिन्ता
सम्मेलनको पहिलो दिन भने मध्यपूर्वमा बढिरहेको द्वन्द्व र तनाव प्रमुख विषय बनेको थियो । ब्रिक्सका विदेशमन्त्रीहरू यसअघि मे महिनामा नयाँ दिल्लीमा संयुक्त वक्तव्य जारी गर्न असफल भएका थिए । मध्यपूर्वको युद्धबारे सदस्य राष्ट्रहरूको धारणा फरक भएपछि सहमति बन्न सकेको थिएन । तर यसपटक लामो कूटनीतिक प्रयासपछि ब्रिक्स नेताहरूले मध्यपूर्वको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका छन् ।
संयुक्त वक्तव्यमा मध्यपूर्व तथा पश्चिम एसियामा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई ‘अधिकतम संयमता’ अपनाउन आग्रह गरिएको छ । भारतले इरान र अमेरिकाको सहयोगी इजरायल दुवैसँग सम्बन्ध कायम राख्दै आएको छ । त्यसैले नयाँ दिल्लीले मध्यपूर्वको विषयमा सन्तुलित कूटनीतिक नीति अपनाउँदै आएको छ ।
रुससँग भारतको ऊर्जा सहकार्य
मध्यपूर्वमा द्वन्द्व बढ्दा विश्वव्यापी ऊर्जा आपूर्तिमासमेत असर पर्ने चिन्ता छ । यस्तो अवस्थामा भारतले रुससँगको ऊर्जा सहकार्यलाई निरन्तरता दिएको छ । रुसमाथि युक्रेन युद्धका कारण अमेरिका र अन्य पश्चिमी देशहरूले दबाब तथा प्रतिबन्ध लगाउँदै आए पनि भारतले आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न रुसबाट तेललगायत ऊर्जा स्रोत खरिद गर्दै आएको छ । यस विषयमा भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै स्वतन्त्र विदेश नीति अपनाएको बताउँदै आएको छ ।
सीको भारत भ्रमणलाई महत्वपूर्ण मानियो
ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको भेटलाई पनि विशेष महत्वका साथ हेरिएको छ । सन् २०१९ पछि सीको यो पहिलो भारत भ्रमण हो । चीन र भारतबीच लामो समयदेखि सीमा विवाद तथा रणनीतिक प्रतिस्पर्धा रहेकाले उनको भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदम मानिएको छ । मोदीसँगको भेटमा सीले चीन र भारतबीच धेरै विषयमा फरक धारणा भए पनि दुवै देशले एकअर्काको क्षमता र अनुभवबाट लाभ लिन सक्ने बताउनुभयो । उहाँले दुई देशले आपसी सहयोग बढाउँदै साझा विकासतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सीमा विवाद अझै समाधान भएको छैन
चीन र भारतबिचको मुख्य विवादमध्ये एक सीमा विवाद हो । दुवै देशबिच करिब तीन हजार ५०० किलोमिटर लामो उच्च हिमाली सीमा रहेको छ । सन् २०२० मा विवादित सीमाक्षेत्रमा चीन र भारतका सैनिकबीच भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । त्यसयता दुवै पक्षले सीमाक्षेत्रमा ठूलो संख्यामा सैनिक तथा सैन्य उपकरण तैनाथ गरेका छन् । यद्यपि पछिल्लो समय दुवै देशले सम्बन्ध सुधारका लागि विभिन्न कदम चालेका छन् । हवाई उडान, भिसा सेवा र उच्चस्तरीय भेटघाट पुनः बढ्न थालेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार मोदी र सीले सीमा विवादको निष्पक्ष, उचित र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धा चुनौती
सम्बन्ध सुधारको प्रयास भए पनि चीन र भारतबिच अझै ठूलो अविश्वास कायम छ । भारतले चीनसँग ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ । साथै, एसियामा दुवै देशको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका कारण प्रतिस्पर्धा पनि तीव्र छ । सीले दुई देशले उच्चस्तरीय वित्तीय सहकार्य बढाउन, समान तथा दिगो विश्व व्यवस्था निर्माण गर्न र खुला एवं समावेशी विश्व अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
ब्रिक्सको बढ्दो विश्वव्यापी भूमिका
यस सम्मेलनले ब्रिक्स अब केवल आर्थिक सहकार्यको समूह नभई विश्व राजनीति र अन्तर्राष्ट्रिय व्यवस्थामा प्रभाव पार्ने महत्वपूर्ण मञ्चका रूपमा अघि बढिरहेको संकेत गरेको छ । मध्यपूर्वको द्वन्द्व, रुस-युक्रेन युद्ध, ऊर्जा सुरक्षा, व्यापार अस्थिरता र विश्व अर्थतन्त्रजस्ता विषयमा ब्रिक्स राष्ट्रहरूले आफ्नो साझा प्रभाव बढाउने प्रयास गरिरहेका छन् । भारतले सम्मेलनको नेतृत्व गर्दै विकासशील देशहरूको आवाज बलियो बनाउन तथा विश्व अर्थतन्त्रलाई थप समावेशी बनाउन ब्रिक्सले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । नयाँ दिल्लीमा भइरहेको ब्रिक्स सम्मेलनमा आर्थिक सहकार्यसँगै विश्वव्यापी द्वन्द्व, ऊर्जा सुरक्षा, व्यापार र चीन-भारत सम्बन्ध मुख्य विषयका रूपमा देखिएका छन् । रासस/एएफपी
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...












