ताजा समाचार

जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका छन्। जलस्रोत तथा ऊर्जा क्षेत्रको विकास, लगानी प्रवर्द्धन र निजी क्षेत्रको सहभागिताका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका लामिछानेलाई महासंघले ऊर्जा समिति नेतृत्वको जिम्मेवारी दिएको हो।

ऊर्जा क्षेत्रको समग्र विकाससँगै जलविद्युत् आयोजनामा लगानी विस्तार, निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार तथा सरकार र निजी क्षेत्रबीच सहकार्य अभिवृद्धिमा समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। जलस्रोत तथा ऊर्जा क्षेत्रमा लामिछानेको विज्ञता र अनुभवलाई ध्यानमा राख्दै उनको नेतृत्वमा ऊर्जा समितिले निजी क्षेत्रका सरोकारलाई प्रभावकारी रूपमा उठान गर्नुका साथै ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत पहललाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

ऊर्जा क्षेत्र नेपालको आर्थिक विकास र औद्योगिकीकरणको महत्वपूर्ण आधार बन्दै गइरहेका बेला लामिछानेले समितिको नेतृत्व सम्हाल्नु अर्थपूर्ण रूपमा हेरिएको छ। समितिको सभापतिको जिम्मेवारीमा रहेर ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीति तथा कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा महासंघले गरेको छ।

महासंघले समितिबाट भएका गतिविधि तथा कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको समेत पत्रमार्फत जानकारी गराएको छ। लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गरिरहेको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्।

ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको अनुभवले महासंघअन्तर्गतको नवीकरणीय एवं ऊर्जा समितिको नेतृत्वमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org