ताजा समाचार

वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् । केही बैंकले ब्याजदर स्थिर राखे पनि समग्रमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा ओरालो लागेको छ।

असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छ, जुन भदौमा ४.१३६ प्रतिशत थियो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा सीमित भएको छ।

कुन बैंकको ब्याजदर कति?

असोजमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएको छ। सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्। नबिल बैंकले भने आफ्नो दर घटाएर ४.२५ प्रतिशत (भदौमा ४.५५%) मा झारेको छ।

त्यसैगरी नेपाल बैंक र कृषि विकास बैंकले अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन्।

काटिएका अन्य बैंकहरूमा एभरेस्ट बैंकले ब्याजदर घटाएर ३.५० प्रतिशत (भदौमा ४.०५%), स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७५ प्रतिशत (भदौमा ३.८%) र कुमारी बैंकले ३.७३ प्रतिशत (भदौमा ३.७६%) मा ल्याएका छन्।

संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंक, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड लगायतका बैंकहरूले संस्थागत निक्षेपमा २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।

निक्षेप घटाउनुको कारण

बैंकहरूले हरेक महिनाको सुरुवात हुनुअघि नै मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्ने गर्छन्। असोजमा गरिएको यो कटौतीले बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग निकै सुस्त रहेको देखाउँछ। कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा लगानीयोग्य रकम थुप्रिँदै गएकाले बैंकहरूबिच निक्षेप संकलनका लागि गरिने ब्याजदरको प्रतिस्पर्धा कमजोर बन्न पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org