ताजा समाचार

धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना

विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले धनकुटाको भेडेटार र धरानस्थित पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, प्रवर्द्धन र व्यवस्थापनसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज वातावरण बनाउन कार्यालय स्थापना गरिएको समितिका कार्यकारी निर्देशक अविजाल विष्टले बताए।

उनका अनुसार चतरा हुँदै बराहक्षेत्र मन्दिर पुग्ने पर्यटक तथा तीर्थयात्रीका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत समितिले सहजीकरण सुरु गरेको छ। बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा समेत सम्पर्क कार्यालय स्थापना गरी भेटीघाटीलाई व्यवस्थित र पारदर्शी बनाउने तयारी भइरहेको उनले बताए। त्यसका लागि समितिले भेटी व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजाने प्रक्रिया अघि बढाएको छ। सम्पर्क कार्यालयमार्फत सुनसरी, उदयपुर र धनकुटाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रबारे सूचना तथा आवश्यक सेवा दर्शनार्थीलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको समितिले जनाएको छ।

भेडेटार चोकमा राखिएको डिजिटल प्रदर्शनमार्फत बृहत्तर बराहक्षेत्र विकास समितिले गरेका कामका साथै विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रका तस्बिर प्रदर्शन हुँदै आएका छन्। विराटनगर विमानस्थलमा राखिएको प्रदर्शनमार्फत पनि रामधुनी, श्रीलंका टापु, कोशी करिडोर क्षेत्र, बेलका राजा–बेलका रानी दरबार, मैना राजा–मैना रानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामठ, छिन्ताङ, पाथीभरा मन्दिर, दन्तकाली, बुढासुब्बा र विष्णुपादुका मन्दिरलगायत क्षेत्रबारे यात्रुलाई जानकारी दिने व्यवस्था गरिएको छ।

समितिले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर विभिन्न पर्यटकीय सर्किटसमेत तयार गरेको छ। रामधुनी हुँदै श्रीलंका टापु, बेलका राजा–बेलका रानी दरबार, महाकालथान मन्दिर, कोशी नदीको शुक्लाफाँट हुँदै औलियामठसम्मको एउटा सर्किट तयार गरिएको छ।

त्यस्तै औलियामठ हुँदै बराह मन्दिर, खुवालुङ, कोकासंगम, मैना राजा–मैना रानी तथा त्रिवेणीधाम–छिन्ताङलाई जोडेर अर्को धार्मिक पर्यटकीय सर्किट तयार गरिएको विष्टले बताए। यी सर्किटलाई थप व्यवस्थित बनाउन सरोकारवालासँग छलफल भइरहेको समितिले जनाएको छ। धरान र भेडेटार आउने पर्यटकलाई बराहक्षेत्र र रामधुनीसम्म जोड्ने गरी समितिले गतिविधि अघि बढाएको छ।

पूर्वी नेपालको प्रमुख धार्मिक क्षेत्रका रूपमा रहेको बराहक्षेत्रमा विकास समितिको उपस्थिति विस्तारसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटक तथा तीर्थयात्रीलाई आवश्यक सूचना तथा सेवा उपलब्ध गराउने काम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org