ताजा समाचार

आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

एपीएफ इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणबाट खटिएको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाइएको छ।

पक्राउ पर्नेमा ५७ वर्षीय मोहम्मद कुर्वान अलि, ३८ वर्षीय जाहिंगिर आलम, ४६ वर्षीय रोनित रोय चौधरी, ३७ वर्षीय रिफत मियाँ र ४४ वर्षीय अकम अब्दुल्लाह रहेका छन्। उनीहरूमध्ये तीन जना बंगलादेशी नागरिक, एक जना बंगलादेशी मूलका ब्राजिलियन नागरिक र एक जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ।

सशस्त्र प्रहरीका अनुसार कुर्वान अलि, रिफत मियाँ र अकम अब्दुल्लाह भिसा अवधि सकिएपछि पनि नेपालमा बस्दै आएका थिए। रोनित रोय चौधरी र जाहिंगिर आलममाथि बंगलादेशी नागरिकलाई बन्धक बनाई फिरौती असुल्ने गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ।

प्रहरी टोलीले रोयको कोठाबाट नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी, आर्थिक कारोबारको अभिलेख रहेका दुई थान डायरी तथा आलमको कोठाबाट एक थान राहदानी र ४६ थान राहदानीका फोटोकपी बरामद गरेको छ।

आलमविरुद्ध एक बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा २०८० चैत १३ गतेदेखि मुद्दा विचाराधीन रहेकोसमेत जनाइएको छ। रोयमाथि विगतदेखि अवैध हुण्डी कारोबारमा संलग्न रहेको सूचनासमेत प्राप्त भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org