ताजा समाचार

राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…

राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी...

काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा आयोजना हुने विशेष सत्संग कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन्।

आयोजकका अनुसार उक्त सत्संग कार्यक्रममा नेपाल तथा विदेशबाट समेत गरी २५ हजारदेखि ३० हजारसम्म भक्तजन सहभागी हुने अनुमान गरिएको छ। सत्संगमा सहभागी हुन इच्छुक भक्तजनका लागि आयोजक संस्थाले आवश्यक व्यवस्थापन मिलाएको जनाएको छ।

टाढाबाट आउने भक्तजनका लागि सत्संग परिसरभित्रै बसोबास तथा खानपानको व्यवस्था गरिएको छ। त्यस्तै, सत्संगमा सहभागी हुन आउने भक्तजनका लागि आसपासका क्षेत्रबाट निःशुल्क यातायातको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन चाहने भक्तजनले कार्तिक २४ गते बिहान ८ बजेसम्म सत्संग परिसरमा प्रवेश गरिसक्नुपर्नेछ। बसोबासका लागि आउने बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाले संरक्षक वा हेरचाह गर्ने व्यक्तिसँगै आउनुपर्ने व्यवस्था गरिएको छ। महिलाहरू र पुरुषहरूका लागि छुट्टाछुट्टै आवासको व्यवस्था गरिएको छ।

दीर्घरोगका औषधि सेवन गरिरहेका व्यक्तिहरूले आफूले नियमित सेवन गर्ने औषधि साथमै ल्याउन आयोजकले अनुरोध गरेको छ। सरुवा रोग लागेका बिरामी, गम्भीर रूपमा अशक्त तथा जोखिमपूर्ण शारीरिक समस्या भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था गर्न कठिन हुने भएकाले त्यस्ता व्यक्तिहरूले आवश्यक व्यवस्थापन आफैँ गर्नुपर्ने जनाइएको छ।

सत्संगमा सहभागी हुने भक्तजनले बहुमूल्य गरगहना, बहुमूल्य वस्तु तथा धनमाल साथमा ल्याउन नपाउने व्यवस्था गरिएको छ। मोबाइल फोन साथमा ल्याउने व्यक्तिले सत्संग परिसरबाहिर स्वयंसेवकद्वारा सञ्चालित काउन्टरमा जम्मा गरी टोकन लिनुपर्नेछ। कार्यक्रम सकिएपछि टोकनका आधारमा मोबाइल फिर्ता गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

सत्संग कार्यक्रम सम्पन्न भएपछि सहभागी भक्तजनका लागि निःशुल्क शुद्ध शाकाहारी भोजनको व्यवस्था पनि गरिएको छ।

त्यसैगरी, राधास्वामी सत्संग ब्यास नेपाल गैरराजनीतिक, गैरव्यावसायिक तथा कुनै पनि सम्प्रदायमा संलग्न नरहेको आध्यात्मिक संस्था भएको आयोजकले जनाएको छ। संस्थाअन्तर्गत नेपालभर १०६ वटा सत्संग स्थल रहेका छन्, जहाँ प्रत्येक शनिबार सत्संग तथा प्रवचन कार्यक्रम सञ्चालन हुँदै आएको छ।

संस्थाले २०७२ सालको विनाशकारी भूकम्पका बेला अस्पतालबाट डिस्चार्ज भएका घाइते तथा घरमा बस्न असहज भएका स्थानीय समुदायका व्यक्तिहरूलाई खाना र बसोबासको व्यवस्था गरेको थियो।

त्यसैगरी, नेपाल सरकारका शिक्षा मन्त्रालय तथा सहरी विकास मन्त्रालयसँग सम्झौता गरी भूकम्प प्रभावित जिल्लाहरूमा २७ वटा सामुदायिक भवन तथा विद्यालय निर्माण गरेर समयमै हस्तान्तरण गरेको संस्थाले जनाएको छ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला भारतबाट पैदल तथा बसलगायतका साधनमार्फत नेपाल आएका नेपाली नागरिकलाई र तेस्रो मुलुकबाट हवाई मार्ग हुँदै आएका नागरिकलाई कीर्तिपुर तथा सामाखुसीस्थित सत्संग घरमा होल्डिङ सेन्टर र कोभिड आइसोलेसन सेन्टर स्थापना गरी उपचार, निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिएको थियो।

संस्थाले विगतमा गरेको सामाजिक सेवाको उच्च मूल्यांकन गर्दै तत्कालीन प्रधानसेनापतिबाट प्रशंसापत्र तथा सम्माननीय राष्ट्रपतिबाट धार्मिक तथा सामाजिक संस्थाको हैसियतमा कीर्तिमय राष्ट्रदीप पदक (चतुर्थ) प्रदान गरिएको पनि जनाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org