प्राकृतिक बासस्थान मिचिएर हात्ती आतङ्क बढ्यो

कोशीटप्पु वन्यजन्तु आरक्षका नायब सुब्बा सुरेन्द्र खड्कालाई कार्यालयको कामकाज फत्ते गर्नेभन्दा पनि कार्यालयबाट निस्कन हतार हुन्छ । उहाँ कार्यालयको कामकाज गर्नबाट पन्छिन खोज्नुभएको भने होइन । गत दसैँयता खड्कालाई दिउँसै कार्यालय छाड्नुपर्ने बाध्यता आइलागेको छ । जङ्गली हात्तीले दिउँसै आरक्षमा आएर आक्रमण गर्न थालेका कारण खड्कालगायत कर्मचारीले हात्तीबाट जोगिन दिउँसै कार्यालय छाड्ने गरेका हुन् ।
आरक्षभित्र बस्दै आएका कर्मचारीलाई समेत अहिले जङ्गली हात्तीबाट ज्यान जोगाउन हम्मेहम्मे परेको छ ।
जङ्गली हात्तीको बथान दिउँसै एक्कासी आरक्ष कार्यालय पस्छ र तोडफोड गर्न थाल्छ । कर्मचारीको भागाभाग चल्छ । हात्तीको आक्रमणबाट जोगिन यहाँका कर्मचारी सुरक्षित स्थानतर्फ लाग्नै पर्ने हुन्छ । आरक्षभित्रै बसे उनीहरुलाई ज्यान जोगाउन मुस्किल पर्छ । आरक्ष भित्र १७÷१८ को सङ्ख्यामा रहेका जङ्गली हात्तीले यसरी दिउँसै आरक्ष कार्यालयभित्र आएर उत्पात मच्चाउनुको पछाडि विभिन्न कारण छन् । प्रमुख कारण जङ्गली हात्ती दिनहुँ आरक्षको हात्तीसारमा रहेका पोथी हात्तीसँग समागमका लागि आउने हुन् र यही क्रममा तोडफोड गर्ने गर्छन ।
आरक्षको हात्तीसारमा पाँचवटा पोथी हात्ती रहेका छन् । उनीहरुसँग भाले जङ्गली हात्ती सम्बन्ध राख्न आउने गरेका आरक्षका सहायक संरक्षण अधिकृत झौलाइ चौधरी बताउनुहुन्छ । “यौन सम्बन्ध राख्नका लागि जङ्गली हात्ती आउने गरेका छन्, यसरी आउँदा बर्सेनि आरक्षभित्र तथा वरपरको बस्तीमा तोडफोड गरेर हैरान पार्छन,” उहाँले भन्नुभयो । आरक्षभित्र यसरी तोडफोड गर्ने हात्तीको बथानलाई धपाउन कर्मचारी, आरक्ष सुरक्षार्थ खटिएको भगवतीप्रसाद गुल्म तथा स्थानीय युवालाई परिचालन गरिएको छ ।
सुनसरीको पश्चिम कुशाहास्थित आरक्ष कार्यालयमा हात्तीले दसैँयता लगातार तोडफोड गर्दै आएको छ । हात्तीको बथानले कार्यालयको पर्खाल, आवास भवन र भान्साघरलाई बिगारिदिएको छ । हात्तीका कारण आरक्ष वरपर वस्दै आएका बासिन्दा समेत असुरक्षित छन् ।
“करिब एक सय ५० घरपरिवार तीन महिनायता त्रासमै बाँचिरहेका छन्,” चौधरीले भन्नुभयो । आरक्षसँग जोडिएका सुनसरी, सप्तरी र उदयपुरका बासिन्दा हात्तीका कारण दिनुहँु असुरक्षित बन्दै गएका छन् । उनीहरु डरले रातभर जाग्राम बस्छन् । पछिल्लो सात वर्षयता हात्ती र अर्नाको आक्रमणबाट यस क्षेत्रका १३ जनाले ज्यान गुमाउनु परेको छ । हात्तीले मानवबस्तीमा तोडफोड गर्नुका साथै बालीनालीसमेत सखाप पार्ने गरेका छन् । “आन्तरिक तथा बाह्य पर्यटकलाई आरक्षभित्र घुमफिर गर्न रोक लगाएका छौँ, स्थानीयवासीलाई काठ दाउरा तथा घाँस काट्नसमेत दिइएको छैन,” चौधरीले भन्नुभयो ।
आरक्षको हात्तीसारमा हाल सरस्वतीकली, दमदमीकली, शोभाकली, लक्ष्मीकली र अमरिकाकली गरी पाँचवटा घरपालुवा पोथी हात्ती रहेका छन् । बर्सेनि जङ्गली हात्ती पोथी हात्तीसँग समागमका लागि आरक्ष भित्र आउने गरेका छन् । मात्तिएर आउने यस्ता हात्तीले आरक्ष कार्यालयभित्र तोडफोड गर्नुका साथै कर्मचारीमाथि आक्रमण गर्ने गरेका छन् ।
“भाले हात्ती पाल्नै गाह्रो हुन्छ,” सहायक संरक्षण अधिकृत चौधरीले भन्नुभयो । गत वर्षसम्म कोशीटप्पुको हात्तीसारमा पोथी हात्तीको सङ्ख्या तीनवटा मात्र थियो । यस वर्ष थप दुई पोथी हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याइएको हो । “कोशीटप्पुका पाँचवटा हात्ती अझै चितवनमा ‘काज’ मै छन्, यहाँ ल्याएर राख्न सक्ने अवस्था छैन,” सहायक संरक्षण अधिकृत चौधरीले भन्नुभयो ।
जङ्गली हात्ती यसरी बर्सेनि आरक्ष कार्यालय तथा आरक्ष वरपरको वस्तीमा पस्नुको कारण चरिचरन क्षेत्रको कमी पनि हो । विसं २०३२ सालमा सुनसरी, सप्तरी र उदयपुरको एक सय ७५ बर्गकिलोमिटर क्षेत्र समेटेर कोशीटप्पु आरक्षको स्थापना गरिएको हो । “चरिचरन क्षेत्र चार प्रतिशत मात्र छ,” चर्ने ठाउँ अपर्याप्त भएको तथ्याङ्क प्रस्तुत गर्दै चौधरीले भन्नुभयो । हात्तीको आक्रमणबाट जोगाउन जङ्गल क्षेत्र बढाउनुपर्ने तथा वरपर रहेको मानव वस्ती हटाउनु पर्ने उहाँको भनाइ छ । आरक्षले करिब एकसय २८ बर्गकिलोमिटर क्षेत्रफल बढाउने योजना बनाएको छ ।
“बस्ती हटाएर जङ्गली हात्तीको संरक्षण गर्न हामी लागिपरेका छौँ,” उहाँले भन्नुभयो । आरक्ष वरपर स्थानीयवासीले बालीनाली लगाएका कारण समेत चरिचरनका लागि जङ्गली हात्ती बर्सेनि बस्तीमा पस्ने गरेको हो ।
कोशीटप्पु आरक्ष अर्ना (जङ्गली भैँसी)का लागि प्रख्यात मानिन्छ । विसं २०७२ चैत अन्तिम साता गरिएको गणना अनुसार यहाँ अर्नाको सङ्ख्या ४३२ रहको छ । अर्ना नेपालभरमै यहाँ मात्र पाइने जनावर हो । कोशी नदीको बीचमा रहेको आरक्ष क्षेत्रलाई बर्सेनि बाढीले कटान गरिरहेको छ । नदीले निर्धारण गरेको आरक्ष भएका कारण यसको भविष्य नदीमाथि निर्भर छ । यहाँ स्थापनाकालदेखि नै खुल्ला रुपमा चरिचरन हुँदै आएको छ । त्यसैले खुल्ला चरिचरन आरक्षको प्रमुख समस्या भएको आरक्षमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतम बताउनुहुन्छ ।
बर्सेनि आरक्षको चारैतिरबाट स्थानीयवासीले अतिक्रमण गर्दैआएका छन् । यसको मुख्य असर हात्ती र अर्ना बासस्थानमाथि परेको छ ।
सन् १९८७ मा रामसार सूचीमा सूचीकृत कोशीटप्पु नेपालकै ठूलो रामसार क्षेत्रका रूपमा चिनिन्छ । यहाँ ४८९ प्रजातिका चराका साथै दुर्लभ डल्फिनसमेत पाइन्छ । लोपोन्मुख अवस्थामा रहेका अर्ना संरक्षणकै निम्ति आरक्ष स्थापना गरिएको हो । “पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ, तर कोशीको बाढीले कटान गरेपछि वन्यजन्तु संरक्षणमा समस्या भएको छ,” गौतमले भन्नुभयो । आरक्ष स्थापना गरिँदा अर्नाको सङ्ख्या ७३ रहेकामा अहिले उक्त सङ्ख्या बढेर चारसय ३२ पुगेको तथ्याङ्क छ । रासस
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












