फर्कियो गीता र जोयाको जीवन
चितवन । ‘गीता मानव’ पछि राखिएको नाम हो । थातथलो थाहा छैन । आवश्यक उपचार र मनोविमर्श सेवा पाएपछि उनको जीवन फर्कियो ।
सडकपेटीबाट उद्धार गरिएको एक वर्षमा अहिले उनी सामाजिक काममा व्यस्त हुन थालेकी छिन् । किरा परेको घाउमा खाटा बसिसकेको छ । उनको मुहारमा चमक छ । आश्रमका अन्य असहायको सेवामा जुट्छिन्, सरसफाइ गर्छिन् ।
नारायणगढ–मुग्लिन सडकको रामनगरस्थित सडकपेटीको बास । सडकमै खानेकुरा खोज्ने र खाने । हातमा पुरानो घाउ । घाउमा किरैकिरा । एउटा औँला किरा परेरै झरेको । शरीरभरि कमिलैकमिला । केही मनकारीले खानेकुरा दिए पनि सडककै फोहर खानेकुरामा दैनिकी चल्थ्यो । “बहत्तर साल फागुन ११ गतेको त्यो दिन सम्झँदा आङ सिरिङ्ग हुन्छ,” अभियन्ता रुपा केसीले भनिन्, “उनको अवस्था देख्नेलाई थाहा हुन्छ, तर शब्दमा कसरी भनौँ ।” प्रहरीको सूचनाका आधारमा मानव सेवा आश्रमका अभियन्ताहरु अनिता अधिकारी र रुपा केसी पुग्दा उनी यस्तै कष्टकर अवस्थामा भेटिएकी थिइन् । तर अहिले जीवन फर्किएको छ ।
उनीजस्तै कष्टकर सडक जीवन बिताउँदै थिइन् जोया । उनको पनि ठेगाना र थर अझै थाहा छैन । भरतपुर वीरेन्द्र क्याम्पसअगाडि सडकपेटीमा पुरुषको भेषमा थिइन् । रिसाहा स्वभावकी उनी कतिलाई पिट्न पनि पछि पर्दिनथिई । उनको पनि बास सडकमै हुन्थ्यो । सडकमा फ्याँकिएका खानेकुरा खाएर पेट भर्थे ।
उनलाई चितवनको भरतपुरस्थित बाइपासरोडको मानव सेवा आश्रमले २०७२ सालको पुस १४ गते उद्धार ग¥यो । तर आश्रमबाटै चारपटक भागिन् । पटकपटक सडकमा रातभर खोजेर ल्याई उनको मानसिक उपचार गरियो । त्यसपछि बिस्तारै परिवर्तन भएकी जोया अहिले सेवा गर्न थालेकी छिन् । कपडा धुन सघाउँछिन् । असहायको सेवामा सहयोग गर्ने र सरसफाइ गर्ने काममा अग्रसर छिन् । “म घर जान्छु,” भन्नुहुन्छ आश्रमकी चितवन संयोजक रुपाले भनिन्, “घर नै थाहा छैन कसरी पु¥याउने भै‘रा छ ।”
यो दुई प्रतिनिधि घटना हुन् । यस्ता दुई सयभन्दा बढीको अहिले जीवन फेरिएको छ । भारतीय नागरिक निरज शाहसहित १७ जना परिवारमै पुनःस्थापित भएका छन् । आश्रमले दशकौँदेखि घरैमा दाम्लोले बाँधेर बस्न बाध्य मनोरोगीदेखि बलात्कार पछि सडकमै आश्रय लिने गर्भवतीसम्मलाई उद्धार गरेको छ । उनीहरुलाई ल्याएर सुत्केरी गराउने र बच्चा पनि हुर्काउँदै आएको छ । सानी बालिका खुसी र बालक सम्भव यसैका उदाहरण हुन् ।
अस्पतालमा आइपुगेका बेवारिसेदेखि विभिन्न जिल्लाबाट उद्धार गरेर पठाइएका अशक्त, अपाङ्ग र मनोरोगीको स्याहारसुसार गर्दै आएको छ, आश्रमले । नेपालमा धेरै उद्धार केन्द्र र आश्रम खोलिए पनि मानव सेवा आश्रमले सडकमा पुगेका असहाय तथा मनोरोगी एवम् अशक्तको उद्धार, उपचार र पुनःस्थापना गरेर सराहनीय काम गर्दै आएको छ ।
आश्रमका संयोजक रामजी अधिकारी भन्नुहुन्छ, “माया दिएपछि आफैं जीवनमा परिवर्तन हुन थाल्छ ।” मानिस खानाको भन्दा प्रेमको भोको हुन्छ । त्यही चरितार्थ भएको छ । ‘सडक सेवा’ कार्यक्रम चलाएर राति सडकमा यस्ता व्यक्ति कहाँ कहाँ छन् भनेर खोजी गरी उद्धार गरिन्छ । यो अभियानकै कारण अहिले चितवनका सडकमा बेवारिसे मानिस देख्न नपाइने समाजसेवी केशव अधिकारीको भनाइ छ । विसं २०६६ देखि थालिएको यो अभियान सुरुमा स्कुल शिक्षामा केन्द्रित थियो । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनको नामबाट नैतिक शिक्षा सुरु भएको थियो । यसको अगुवा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले गरेका हुन् ।
विसं २०६९ देखि आश्रम नै चलाएर मानसिक सन्तुलन गुमाएका सडकवासीको सहयोग गर्ने काम भइआएको छ । “मूर्तिलाई पूजा गर्नुको साटो यस्ता असहायको उद्धार र सहयोग सबैभन्दा ठूलो पुण्य हो,” संयोजक अधिकारीले भन्नुभयोे, “सबैलाई भन्छु यसमा हातेमालो गरौँ ।” मुट्ठीदानबाट सुुरु भएको सेवा अहिले देश–विदेशमा रहेका नेपालीले दिएको सहयोगबाट चल्छ । स्वतःस्फूर्त आएको सहयोगबाट उद्धार गरिएकालाई हेरचाह गरिन्छ । यहाँ अकुपञ्चर र अकुपे्रसर थेरापी पनि गरिन्छ । डान्सिङ, क्लापिङ, लाफिङ तथा वाटर थेरापीबाट उनीहरूको उपचार हुन्छ । अस्पतालबाट नियमित मनोरोग विशेषज्ञ आउँछन् ।
विसं २०६९ मा मानव सेवा आश्रम खुलेको हो । नेपालमा ४ वर्षको अन्तरालमा झन्डै ६ सय जनाको उद्धार गरिएकामा दुई सय ३८ जनालाई परिवारसँग मिलन गराइएको छ । अहिले पनि आश्रमका विभिन्न शाखामा गरेर झन्डै दुई सय जनाले आश्रय लिइरहेका छन् । विसं २०७२ मा शाखा खुलेको चितवनमा हालसम्म एक सय ७३ जनाको उद्धार गरिएको र त्यसमध्ये ४५ जनालाई परिवारमा पुनःस्थापन गरिएको छ ।
हाल ५२ जना असहाय आश्रममै रहेका छन् । हेटाँैडा मुख्य कार्यालय रहेको यसको चितवनसहित काठमाडौँ, ललितपुरमा शाखा र लमजुङ, वीरगन्ज, गोरखालगायत सात जिल्लामा प्रत्यक्ष सेवा सुरु गरिएको छ । हेटौँडाले तीन सय ३४, काठमाडौँले ६७ र ललितपुरले २४ जनाको उद्धार गरेको आश्रमका संयोजक अधिकारीले बताउनुभयो । हेटौँडा आश्रमबाट अहिलेसम्म पुनःस्थापित हुनेको सङ्ख्या एक सय ७४ पुगेको छ । बढी रोगले ग्रस्त भई अशक्त अवस्थामा फेला पारिएका तथा वृद्धवृद्धा गरी ६० जनाको भने आश्रममा आएपछि मृत्यु भएको छ ।
रात्रि सडक सेवा
सडकपेटीमा कष्टकर जीवन जिउँदै आएका असहाय, मानसिक रोगी तथा पीडितको उद्धारका लागि प्रहरीको सहकार्यमा आश्रम चितवनले रात्रिको समयमा ‘रात्रि सडक सेवा’ अभियान चलाउँदै आएको छ । सडकपेटी तथा यात्रु प्रतीक्षालयमा पुगेर उनीहरुको उद्धारका लागि यसरी संयुक्त सडक सेवा अभियान थालिएको हो । सडकमा भेटिएकालाई उद्धार गरेर ल्याइने गरिएको स्थानीयवासी प्रेमप्रभा अधिकारी बताउँछिन् । आवश्यक उपचारपछि उनीहरुलाई घर पहिचान गरी पुनः स्थापना गर्ने अभियानमा आश्रम लागेको छ ।
२०८२ सम्मको लक्ष्य
आश्रम २०८२ सालसम्ममा नेपालका सडकमा कष्टकर अवस्थामा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा जुटेको छ । त्यसका लागि विभिन्न जिल्लामा शाखा खुलाउने काम जारी छ भने सडकमा कष्टकर अवस्थामा फेला परेका असहाय, अशक्त र मानसिक रोगीहरुको उद्धारमा सक्रिय भएर लागेको छ । हेटाँैडालाई मानवताको सहर घोषणा गरिसकिएको छ । पछिल्लो समयमा चितवनका सडकमा यस्ता असहायको सङ्ख्या न्यून हुँदै गएको प्रहरीले जनाएको छ ।
देशैभरि अभियान चलाएर लक्ष्य पूरा गर्ने अभियानमा लागेको आश्रमले अभियानमा सहयोगी हातहरु बढाउन सबैमा अपिलसमेत गरेको छ ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












