स्थानीय निर्वाचन : उत्साहसँगै हार्ने चिन्ता पनि छ महिलामा
तेह्रथुम, ४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत महिला सहभागिता सुनिश्चित भएपछि जिल्लाका महिला उत्साहित भएका छन् । ऐनले स्थानीय तहका हरेक वडाबाट दुईजना महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेको छ ।
यस्तै, प्रमुख र उपप्रमुखमध्ये एक पदमा दलले महिलालाई उम्मेदवार बनाउनैपर्ने बाध्यकारी अवस्थासमेत ऐनमा उल्लेख छ । यस आधारमा दुई नगरपालिका र चार गाउँपालिकामा ४३ वटा वडा रहेको जिल्लाबाट कम्तीमा पनि ८६ महिला जनप्रतिनिधि निर्वाचित हुने निश्चित जस्तै छ । जिल्लामा १४ वटा दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । तर अधिकांश दलले उम्मेदवारी दिने अवस्थामा छैनन् । कम्तीमा पाँचवटा मात्रै दलले उम्मेदवारी दिए पनि वडामा मात्रै जिल्लाभर करिब पाँच सय महिला उम्मेदवार हुनेछन् ।
नगरपालिकाको मेयर वा उपमेयरमध्ये एकमा र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये एकमा कम्तीमा पाँचवटा दलले मात्रै उम्मेदवारी दिँदा पनि कम्तीमा ३० महिलाको उम्मेदवारी हुनसक्ने देखिन्छ । यस आधारमा झन्डै पाँच सय ५० महिला स्थानीय निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बन्दैछन् । सङ्घीय संरचनाबमोजिम अहिलेका निकै शक्तिशाली स्थानीय तहमा महिलाको सहभागिता सुनिश्चित हुनु र अझै धेरै वटा दलले महिलालाई उम्मेदवार बनाउनैपर्ने प्रावधानले हर्षित तुल्याएको महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष इङवा सुब्बाले बताउनुभयो ।
“यसअघि महिला उम्मेदवार त्यति हुन्थेनन्, निर्वाचित त झन् कमै मात्र हुन्थे,” उहाँ भन्नुहुन्छ, “तर अहिले उम्मेदवार मात्रै पनि पाँच सयभन्दा बढी हुने देखिन्छ । निर्वाचित हुने स्थानमा पनि ४० प्रतिशत सहभागिता सुनिश्चित छ ।” महिलाका लागि राम्रो अवसर आएकाले सक्षम राजनीतिकर्मी महिलालाई फाइदा उठाउन उहाँको आग्रह छ । उहाँले सक्षम र महिला अधिकारको आन्दोलनलाई टुङ्गोमा पु¥याउन सक्ने महिलालाई निर्वाचित गर्नसमेत सुझाव दिइरहेको बताउनुभयो ।
जिल्लामा चारैतिर चुनावी माहोल तातेको छ । नेता तथा कार्यकर्ता टिकट पाउनदेखि कार्यकर्ता आफ्ना पक्षमा पार्न दौडधुप गरिरहेका छन् । महिला सहभागिता अनिवार्य भएपछि महिला पनि नेतृत्व हत्याउन कस्सिएका छन् । स्थानीय तहमा महिला सहभागिता सुनिश्चितताले सहरभन्दा गाउँका महिला अझै उत्साहित देखिएका एमाले जिल्ला सदस्य रेनुका भट्टराईले बताउनुभयो । “सहरमा राजनीति बुझेका महिला छन्, उम्मेदवारी दिने, लिने र मतदाता फकाउने सबै काम हुँदैछन्”, उहाँ भन्नुहुन्छ, “तर त्योभन्दा बढी गाउँका महिला उत्साहित भएर लागेको मैले पाएकी छँु ।” जिल्लामा दलले पार्टीका सङ्गठनमा केही वर्षअघि सम्म समावेशी बनाउन मात्रै महिलालाई राख्थे । क्रियाशील भूमिका दिँदनथे, दिए पनि महिलाले निर्णायक भूमिका निभाउन पाउँदैनथे ।”
भट्टराई भन्नुहुन्छ, “त्यसैले पनि महिलाको नेतृत्व विकास कम मात्रै भएको हो ।” तर स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता अनिवार्य भएपछि दललाई महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी स्थिति बनेकाले अब महिलाले पाएका अधिकार लिन कसैले छेकेर नहुने काँग्रेस जिल्ला सदस्य उमा कार्कीले बताउनुभयो । “राज्य पुनःसंरचनापछि स्थानीय तहको काम, कर्तव्य र अधिकार पनि बदलिएका छन्,” उहाँ भन्नुहुन्छ, “स्थानीय तहमा नेतृत्वमा पुगेपछि के–के गर्नुपर्छ भन्ने अन्योल छ, तर पनि हामी गर्न सक्छौँ भन्ने लागेको छ ।”
मुलुकमा लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा स्थानीय निकाय अस्तव्यस्त छन् । संविधानतः ३३ प्रतिशत अधिकार पाएका ग्रामीण महिला पनि स्थानीय सरकारमा प्रतिनिधित्व गर्दैछन् । यो अवसरलाई महिलाले आफ्नो नेतृत्व विकास गर्दै गाउँको विकासमा पनि प्रयोग गर्न सक्नुपर्ने महिला अधिकारकर्मी शान्तिला कार्कीले बताउनुभयो ।
महिलालाई उपप्रमुखमै सीमित गराउँदै दल
स्थानीय तहको निर्वाचनमा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार बनाउनैपर्ने व्यवस्था छ । तर जिल्लाका क्रियाशील राजनीतिक दलले भने महिलालाई दोस्रो तह अर्थात् उपप्रमुखमा मात्रै सीमित गर्ने देखिएको छ । ठूला दलले महिलाको नाम प्रमुख पदमा चर्चामा समेत ल्याएका छैनन् । चर्चामा आएका सबै पुरुष मात्रै छन् ।
तालमेलको तयारीमा रहेका दलले पनि महिलालाई उपप्रमुखको उम्मेदवार बनाउने सङ्केत छैन । उम्मेदवारी घोषणा गरिसकेको नेकपा (माले)ले जिल्लाका छवटै स्थानीय तहको प्रमुखमा तय गरेका नाममा पुरुषको मात्रै नाम छ । उपप्रमुखका उम्मेदवार घोषणा गरिएको छैन । मालेलाई महिला उम्मेदवार बनाउने हम्मेहम्मे परेको छ । दलले महिलाको नेतृत्व विकास गराउन चासो नलिँदा निर्वाचनमा महिला उम्मेदवारीको कमै मात्र चर्चा भएको अधिकारकर्मी बताउँछन् ।
यस्तै, उम्मेदवार चयनको तयारी गरिरहेका काँग्रेस, एमाले र माओवादी केन्द्रले पनि नगरपालिकाको मेयर वा गाउँपालिकाको अध्यक्षमा महिलालाई अवसर दिने देखिएको छैन । उम्मेदवारी दिए पनि हार्ने गरी उम्मेदवारी दिने तयारी ती दलको छ । ती दलबाट उपप्रमुख पदमा समेत महिला आकाङ्क्षीको त्यति ठूलो चर्चा छैन । तर महिलालाई उम्मेदवार बनाउनै पर्ने बाध्यकारी अवस्थाले भने दललाई सकस परेको हो । जिल्लामा म्याङलुङ र लालीगुराँस गरी दुई नगरपालिका र आठराई, फेदाप, मेन्छ्यायेम र छथर गरी चार गाउँपालिका रहेका छन् । ती सबै स्थानीय तहमा ठूलो दल काँग्रेसले प्रमुख पदमा पुरुषकै नाम चर्चामा ल्याएको छ ।
काँग्रेसबाट उपप्रमुखमा समेत महिलाको नाम त्यति धेरै आएको छैन । काँग्रेस–माओवादी र अन्य साना दलको समीकरण बन्ने हल्लाले पनि महिला उम्मेदवारको चर्चा नभएको नेताहरु बताउँछन् । एमालेले पनि प्रमुख पदमा पुरुषकै नाम चर्चामा ल्याइरहेको छ । सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने तयारी गरेको एमालेले उपप्रमुखमा भने महिलालाई नै उम्मेदवार बनाउने तयारी गरेको जनाएको छ । माओवादी केन्द्र तालमेल भएमा महिलालाई प्रमुख पदमै उम्मेदवार बनाएर उपप्रमुखमा पुरुष उम्मेदवारी दिने र जित निकाल्ने तयारीमा छ । तर एकल उम्मेदवारी दिनुपर्ने अवस्था आएमा भने माओवादीबाट पनि त्यस्तो सम्भावना कम छ । तालमेल भएमा महिलालाई हार्ने गरी उम्मेदवार बनाउने हल्लाले महिला नेत्री त्रसित छन् । रासस
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











