प्रधानमन्त्रीको दिल्ली भ्रमणका अधिकांश पुरानै एजेन्डा, सुदूरपश्चिमकेन्द्रित एजेन्डा
काठमाडौं, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ । सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख भएको खबर आजको नयाँ पत्रिकामा छ ।
यस्तो छ प्रारम्भिक सूची
स्थानीय तहको दोस्रो निर्वाचनदेखि प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी छ । नेपाली सेनालाई विगतमा सैन्य सामग्री खरिद गरिदिएबापत २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ भारतलाई तिर्नुपर्नेछ । भारतले ६० प्रतिशत अनुदान कटाएर लिनुपर्ने ४० प्रतिशत मूल्यबराबरको उक्त रकम मिनाहाका लागि प्रस्ताव लैजाने गरी छलफल भइरहेको छ । पुरानो सहमतिअनुसार आपूर्ति हुनुपर्ने सैन्य सामग्रीलाई निरन्तरता दिन पनि पहल गरिनेछ ।
प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीका लागि फेरि प्रस्ताव लगिनेछ । यसबारे भारतको स्टेट बैंक र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आएको छ । नेपाली एलपिजी बुलेटलाई भारतसम्म खुला प्रवेश दिन माग गरिनेछ । जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा यीसहित विराटनगरबाट जहाज आउन पाउनुपर्ने प्रस्ताव लगिनेछ । यसबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निस्कर्षविहीन हुँदै आएका छन् । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन ।
नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिने, नन ट्यारिफ ब्यारिअर हटाउन थप प्रस्ताव गर्ने तयारी छ । पशुपतिनगर सुकियापोखरी नाका सञ्चालनका लागि प्रस्ताव गरिने, वीरगन्जदेखि कोलकाता–हल्दियासम्म भारतीय रेलमा दोहोरो सामान ओहोरदोहोरका लागि थप सजीकरणका लागि पहल गर्ने तयारी छ । इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने सरकारी तयारी छ । यसका लागि उत्तरप्रदेश र बिहार सरकार सहयोगका लागि इच्छुक रहेको सरकारी बुझाइ छ ।
बुटवल–गोरखपुर ४०० केभी सीमापार विद्युतीय प्रसारण लाइन जिटुजी (सरकारीस्तरमा) निर्माणका लागि आग्रह गरिनेछ । जम्मा ७ अर्ब २१ करोड २० लाख भारु खर्च हुने उक्त परियोजनामा नेपालले २ अर्ब ६ करोड ३७ लाख र भारतले ५ अर्ब १५ करोड ३३ लाख रुपैयाँ खर्च गर्ने सहमति भइसकेको छ ।
हेटौँडा र इनरुवामा डबल सर्किट विद्युतीय सबस्टेसन निर्माणका लागि ५ करोड ५० लाख अमेरिकी डलरबराबरको अनुदान सहयोग भारतसँग मागिनेछ । लुम्की–बरेली ४०० केभी प्रसारण लाइन निर्माणका लागि पनि भारतसँग प्रस्ताव गरिनेछ ।
भारतले नेपाललाई दिन कबुल गरेको ५५ करोड अमेरिकी डलरबराबरको सहुलियत ऋणमा बन्न लागेका १७ वटा सडकमा नेपाली ठेकेदार लगाउन नपाउने भारतीय सर्त संशोधनका लागि पहल गर्ने सरकारी तयारी छ । मिड करिअर डिप्लोम्याटका लागि भारतका संस्थाहरूमा क्षमता अभिवृद्धि तालिमलगायतका लागि प्रस्ताव गरिनेछ ।
वार्षिक रूपमा दुई लाख टन युरिया मल, एक लाख टन डिएपी, ५० हजार टन पोटास नेपालमा नियमित आपूर्तिका लागि सरकारले भारतलाई प्रस्ताव गर्नेछ । नेपालमा युरिया मल प्लान्ट स्थापनाका विषयमा पनि छलफल हुनेछ । बिपी कोइराला प्लानेटेरियमका लागि विज्ञान प्रदर्शनी हल, वैज्ञानिक उपकरण, कर्मचारीलाई तालिम, पावर बैंक, दुईवटा आधुनिक सूक्ष्मदर्शक यन्त्र (टेलिस्कोप), विज्ञान पार्क निर्माणका लागि भारतलाई सरकारले प्रस्ताव गर्ने तयारी छ ।
भारतीय बाँधका कारण सीमावर्ती नेपाली क्षेत्र डुबानमा परेका विषयमा नेपाल र भारतका विज्ञहरूको टोलीले संयुक्त अनुगमन गर्ने यसअघिको सहमति कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि लगिनेछ । भूकम्पबाट क्षति भएका विद्यालय, स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले दिने सहुलियत ऋणका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव लगिनेछ ।
महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने भएको छ । प्रधानमन्त्रीले प्राविधिक तहमा डिपिआर टुंग्याउनुपर्ने र त्यसपछि तल्लोतटीय लाभ, सामाजिक–आर्थिक लाभ, लाभ बाँडफाँड, वाइडर कस्ट, बाढी व्यवस्थापनका विषयमा राजनीतिक तहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव लगिने भएको छ । प्र्राविधिक विषय टुंग्याउन चाँडै नै दुवैतिरका विज्ञ टोलीको बैठक बस्नेछ ।
नेपाल र भारतबीच विगतमा भएको ऊर्जा व्यापार सम्झौता कार्यान्वयन सम्झौताको स्पिरिटका आधारमा गर्नुपर्ने प्रस्ताव नेपालले गर्नेछ । भारतले ५१ प्रतिशत लगानीकर्ता उसका नागरिक रहेका परियोजनाबाट मात्रै विद्युत् खरिद गर्ने कार्यविधि निर्माण गरेकोमा यसलाई पुनर्विचारका लागि प्रस्ताव गरिनेछ । भारतको पावर एक्सचेन्ज मार्केटमा नेपालको विद्युत् सहज रूपमा बेचबिखन गर्न सकिने अवस्था सिर्जना गर्न सरकारले भारतलाई औपचारिक आग्रह गर्नेछ ।
कोसी सम्झौताअनुसार कोसी ब्यारेजको दश किलोमिटर व्यासमा भारतले बिजुली उपलब्ध गराउनुपर्नेमा हालसम्म नगराएको विषयमा पनि सरकारले भारतको ध्यानाकर्षण गराउनेछ । माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणका लागि रूख कटानसम्बन्धी समस्या समाधान गर्ने आश्वासन पनि नेपालले भारतलाई दिनेछ ।
सुदूरपश्चिमकेन्द्रित एजेन्डा
धनगढीमा टेक्निकल इन्स्टिच्युट स्थापनामा जोड दिइनेछ । ०६१ मा देउवा प्रधानमन्त्री हुँदा भारतले बनाइदिने भनिएको उक्त इन्स्टिच्युटको सान्दर्भिकता अहिले थपिएको सरकारी बुझाइ छ ।
दोधारा–चाँदनी सीमापार कनेक्टिभिटीमा जोड दिइनेछ । त्यहाँ इन्ल्यान्ड कन्टेनर डिपोर्ट (आइसिडी) निर्माण गर्ने नेपालको योजनामा सहयोग माग्ने सरकारको तयारी छ । सरकारले मुम्बईको जवाहरलाल नेहरू बन्दरगाहमा दोधारा चाँदनीबाट पहुँचका लागि पहल गर्नेछ भने बम्बईमा नेपालका लागि कलकातामा जस्तै सुक्खा बन्दगाह निर्माणमा अनुदान सहयोग माग्नेछ ।
धनगढी–गौरीफन्टा नाका सहज सञ्चालनका लागि अध्यागमन, भन्सार, क्वारेन्टाइन कार्यालयलगायत स्थापनाका लागि सहयोग माग्ने सरकारी तयारी छ । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट दोधारा चाँदनीसम्म १ दशमलव २ किलोमिटर सिँचाइ सुविधाका लागि थप सहयोग माग्ने सरकारको तयारी छ ।
गण्डक नहरमा ४० हजार एक्कड जग्गामा सिँचाइ पाउनुपर्नेमा १५ हजार एक्कड जमिनमा उक्त सुविधा नपाइएको विषयमा फेरि कुरा उठाइनेछ । पूर्वसहमतिअनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नेपालले भारतलाई दिनेछ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












