ताजा समाचार

इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२ पुग्यो, सयौं पक्राउ

तेहरान, १८ पुस । इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएका छन् । काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ ।

सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा कम्तीमा २२ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन् ।

मूल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २२ व्यक्तिको मृत्यु भएको र सयौं प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीले देसमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ ।

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org