गोविन्द केसीको मानसिक अवस्थाबारे सर्वोच्च अदालतलाई शंका, सोध्यो यस्तो प्रश्न
काठमाडौं, २५ पुस । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मंगलबार डा. गोविन्द केसीको वयान लिएको छ । वयानका क्रममा सर्वोच्च अदालतका न्यायाधीशले केसीसँग १४ वटा प्रश्न सोधेको थियो । सो वयानमा डा. केसीले अदालतको अवहेलना आफूले गरेको नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले नै गरेको र उनीमाथि कारवाही हुनुपर्ने बताएका थिए । बयानका क्रममा केसीले प्रधानन्यायाधीश पराजुली भ्रष्टहरुको डंगोलमा फसेको बताएका थिए ।
डा. केसीले आफ्नो वयानमा भनेका छन्, ‘निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने हो । म उपर लगाएको आरोप झुठ्ठा हो । मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननीय प्रधानन्ययाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याई कारवाही गरी न्यायालयको गरिमाको वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ ।’
सर्वोच्चले डा. केसीलाई उनको शारीरिक र मानसिक अवस्थाका बारेमा पनि प्रश्न सोधेको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लिएको डा. केसीको वयानका क्रममा चलेको सवाल जवाफ यस्तो छः
सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ?
जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा. गोविन्द केसी हो । पेशाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ ।
सवाल २ः हजुरको स्वास्थ्य स्थिति के कस्तो छ ? कुनै शारीरिक र मानसिक रोग छ छैन ? आज इजलाससमक्ष वयान दिन सक्नुहुन्छ या हुँदैन ?
जवाफः म हिजोदखि अनसनमा रहेको हुँदा मुटुको धड्कनमा आफूलाई महसुस हुने बढेको छ । छाती दुखेको छ । अरु कुनै शारीरिक र मानसिक रोग छैन । वयान दिन सक्छु ।
सवाल ३ः तपाई आज यस सर्वोच्च अदालतमा किन उपस्थित हुनु भएको हो ?
जवाफः मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो मलाई थाहा दिइएको छैन र पनि तपाईले सोधेको प्रश्नको जवाफ दिन तयार छु ।
सवाल ४ः हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नु भएको छ छैन ?
जवाफः छ
सवाल ५ः यस प्रतिवेदनमा पेश भएको समाचार सामाग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ, यो व्यहोरा तपाईको हो होइन ? तपाईले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईलाई लाग्छ लाग्दैन ? बताई दिनुहोस् ।
जवाफः अनलाइन र सेतोपाटीलगायतका खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ र प्रेस विज्ञप्ति मिति २०७४।९।२४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुनेगरी अशिष्ट, अमर्यादित तवरले प्रकाशित गरेको होइन । अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरेजस्तो मलाई लाग्दैन ।
सवाल ६ः तपाईले के कति आधार र कारणबाट यस्तो अभिव्यक्ति दिनुभएको हो ?
जवाफः श्री सर्वोच्च अदालतका समान्नित प्रधानन्यायाधीश श्री गोपालप्रसाद पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।
सवाल ७ः तपाईले सवाल ६ को जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायालयको मानमर्दन भएको भन्नुभयो । यसको पुष्टि गर्ने आधारहरु केही छ ? खुलाई दिनुहोस् ।
जवाफः यसमा मैले भन्नुपर्दा प्रेस विज्ञप्तिमा (पाना ४) उल्लेख भएका मुद्दाहरु नै मेरा आधार र कारण प्रष्ट्याउन पर्याप्त छन् । सो का अलावा पाना २ को मिति २०७४।९।२५ को दस्तावेजको विवरण पेश गरेको छु, त्यसले वास्तविकता प्रष्ट्याउनेछ । अनलाइनबाट प्राप्त ३ प्रति नागरिकता समेतको प्रतिलिपि पेश गरेको छु । सोलाई आधार मानी पाउँ । सो नागरिकता सम्माननीय प्रधानन्यायधीशको हो ।
सवाल ८ः अदालतले संविधान कानून र न्यायका मान्य सिद्धान्त अनुसार न्याय सम्पादन गर्दछ भन्ने तपाईलाई थाहा छ छैन ? अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजायँ समेत हुन्छ भन्ने तपाईलाई थाहा छ छैन ? खुलाई दिनुहोस् ।
जवाफः अदालतको अवहेलनामा सजायँ हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु । अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन ।
सवाल ९ः तपाईले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायधीश भनी उल्लेख गर्नुभएको छ । यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुनेखालको हैन र ? हजुरको यस्ता शब्दले अदालतको सम्मान हुन्छ ?
जवाफः यसको जवाफका लागि आधार र कारणसहित कागजात सवाल ७ मा पेश गरेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना होइन सम्मान मिल्छ ।
सवाल १०ः तपाईले अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुका कारण के हो ? प्रष्ट पार्नु हुन्छ कि ?
जवाफः मैले अदालतप्रति सम्मान व्यक्त गर्दछु । मैले पेश गरेको प्रकरण ७ अर्थात जवाफमा पेश गरेका कागजात नै पर्याप्त छ, मैले भावननाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुन्छ । अशिष्ट र लाञ्छनायुक्त छैन ।
सवाल ११ः तपाई नागरिक समाजको अगुवा भन्नुहुन्छ । अदालतको आदेश वा फैसलाउपर पुनरावेदन, पुनरावलोकन गराउनेतर्फ तपाईले के गर्नुभयो ? के तपाईले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो ?
जवाफः म नागरिक समाजको अगुवा भनेर कहिले पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकन लगायतका कानूनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वस्थ्य आलोचना मात्र गरी अदालत लगायत समाज घच्घच्याएको हुँ ।
सवाल १२ः के तपाईको चाहना अदालतको मुद्दामा तपाईले नै भनेवमोजिम फैसला हुनुपर्छ भन्ने हो ? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो ? खुलाई दिनोस् ।
जवाफः न्याय सम्पादन राम्रो हुनुपर्दछ । न्याय सबैले पाउनुपर्दछ । मेरो पक्षमा मात्र फैसला हुनुपर्दछ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृतिहरु भित्रिएको देखेर शुद्धीकरणको लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन ।
सवाल १३ः मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिका विरुद्ध अमुख मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनु हुँदैन भन्ने दायित्ववोध तपाईलाई छ छैन ?
जवाफः मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै यो मेरो प्रयास हो । मैले दिएका अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्नेगरी संविधानप्रदत्त स्वस्थ्य रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन । लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो ।
सवाल १४ः यस सवाल १ देखि १४ सम्म पढीबाची सुनाइन्छ कि यसविषयमा तपाईको अरु भन्नु केही छ कि ?
जवाफः मेडिकल कलेज सम्बन्धी सुधारको लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सा मा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाहरुले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकाली अनसन बस्नु परेको हो । यो वयानको क्रममा समेत अनसनमा छु । मलाई सुधारको प्रयास गर्दा गर्दै यसरी एक्कासी प्रहरीको सहयोग लिई अदालत समय वयानका लागि ल्याइएको छ ।
यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई ३ करोड नेपालीको स्वास्थ्य र जीउधनप्रति खेलबाड भइरहेकाले यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायलयविरुद्ध होइन ।
गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने आर्दशवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्वन्धी विवाद, चूडामणिसम्वन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्वन्धी लगायतका क्रियाकलाप गर्दा न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने हो । म उपर लगाएको आरोप झुठ्ठा हो । मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननीय प्रधानन्ययाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याई कारवाही गरी न्यायालयको गरिमाको वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ । अनलाईन खबरको सहयोगमा
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











