उनीहरूले आफू अदालतमा उपस्थित भएको निवेदन दिन जाँदा सर्वोच्च प्रशासनले आइतबारसम्म म्याद भएकाले सोही दिन अाउनु भन्ने जवाफ दिएको थियो।
‘हामी निवेदन दिन गएका थियौं, प्राविधिक कारणले आज प्रक्रिया सुरू गर्न मिल्दैन तपाईंहरू आइतबार बरू साढे १० बजे नै आउनुस् भन्नुभयो,’ कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले भने।
बयानका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक शर्मा र संवाददाता कृष्ण ज्ञवाली अदालत थिए।आइतबार उनीहरूले अदालतमा आफू उपस्थित भएको निवेदन दिएपछि मुद्दाको इजलास तोकिने छ।
सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायतका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै उनकै इजलासले एकहप्ता अघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो।यो मुद्दा प्रधानन्यायाधीशका व्यक्तिगत विवरणका आधारमा बानाइएका समाचारविरुद्ध आएकाले प्रधानन्यायाधीशले हेर्न नहुने भन्दै धेरैले आलोचना गरेका छन्। यो मुद्दा पराजुलीले हेर्न नहुने धारणा आफूहरूको पनि रहेको प्रधान सम्पादक शर्माले बताए।
‘उहाँकै इजलासमा पेशी तोकियो भने त्यसलाई परिवर्तन गर्न हामीले आग्रह गर्ने छौं,’ उनले भने।अधिवक्ता तोयानाथ ढुंगानाले प्रधानन्यायाधीश विरुद्ध समाचार लेखेर कान्तिपुरले अदालतकै अवहेलना गरेको भन्दै बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
माघ २७ गते कान्तिपुरले प्रधानन्यायाधीशका चार जन्ममिति शीर्षकमा समाचार छापेको थियो। त्यसको केही दिनमै पराजुलीका नागरिकतामै ३ वटा जन्म मिति भएको भन्दै समाचार छापेको थियो। प्रधानन्यायाधीश पराजुलीका विवादित जन्ममिति, प्रमाणपत्र र नागरिकताबारे कान्तिपुरले समाचार लेख्दै आएको छ।
यी सबै समाचार झूटो भएको र यिनले अदालतको अवहेलना गरेको भन्दै ढुंगानाले कान्तिपुर पब्लिकेशन, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने संवाददाता कृष्ण ज्ञावली विरुद्ध मुद्दा हालेका हुन्।
यही मुद्दाको पहिलो सुनुवाइपछि प्रधानन्यायाधीशकै इजलासले कान्तिपुरमाथि छानबिन गर्न प्रेस काउन्सिललाई अन्तरिम आदेश जारी गरेको थियो।













