गुटैगुटको झुण्डो बन्यो नेकपा
गुटैगुटले यसरी खोक्रो बन्दैछ नेकपा
काठमाडाैँ ८,असोज । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन। अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिंदैछ।
उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ। यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि आउन थालेका छन्।
के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार बिहान नेकपा प्रवक्ता श्रेष्ठले हात्तिवनस्थित निवासमा पार्टीका युवा–विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरे। नागरिक आन्दोलनका अगुवा देवेन्द्र्रराज पाण्डेले उनलाई सुनाएका अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपाभित्र गुटसम्म ठीकै थियो, तर गिरोह नै छ भनेर नागरिक अगुवा देवेन्द्रराज पाण्डेले मलाई सुनाउनुभयो, यदि त्यस्तो गिरोह छ भने त्यसले पार्टीलाई कहाँ पुर्याउला ? युवा–विद्यार्थीले चिन्ता गर्नुपर्ने बेला आएको छ।’
तोकिएका मिति र समयमा बैठक नबस्ने, एकता प्रक्रियाको कामले तीव्रता नपाउने जस्ता कारणमा उनले मुखै खोलेर ‘गुटको कारण’ त भनेनन् तर यसप्रति उनी असन्तुष्ट छन् भन्ने संकेत भने दिए।
पार्टीभित्र विचारद्वारा निर्देशत राजनीति नभएको, रणनीति नबनेको, कार्यनीति मात्र रहेको, विचार नभएपछि गुट मात्रै देखिएको नेताहरूको भनाइ छ।‘राजनीति विचारबाट निर्देशित हुनुपर्ने मान्यतालाई नेपालका धेरैजसो पार्टीले छोड्दै गइरहेका छन्’, नेकपा नेता राम कार्कीले अन्नपूर्णसँग भने, ‘दैनिक राजनीति मात्र चलिरहेको छ अहिले। जे आइपर्छ, त्यही गर्दै जाने अवस्थाको राजनीति, त्यसभित्र अनेक कुरा आउनु स्वाभाविक छ।’
नेकपामा कै–कसका छन् गुट ?
नेकपाभित्र दृश्य÷अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन्। प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो। तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ। उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन्। महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन्।
सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारीमध्ये ओली पक्षका १० नेताले जिम्मेवारी पाएका छन्। यस हिसाबले पनि ओली पार्टीमा हाबी छन्।
ओली समूहबाट तत्कालीन एमालेमा महासचिव जितेका ईश्वर पोखरेल भने पछिल्ला दिनमा उनीसँग असन्तुष्ट छन्। विष्णु पौडेललाई महासचिव बनाइएको र सरकारमा आफुले रोजेको मन्त्रालय नदिएकोमा उनी ओलीसँग सन्तुष्ट बन्न सकेका छैनन्। तर क्याम्पै छोडेर हिंडेका पनि छैनन्। उनी अहिले दोधारमा छन्।
ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को। तत्कालीन माओवादीका बहुमत नेताहरू उनीसँगै छन्। स्थायी समिति सदस्यहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायत नेता दाहाल वरिपरि छन्। दाहालको गुटभित्र पनि वर्षमान र जर्नादनका उपगुट शक्तिशाली छन्।
शक्ति अभ्यासमा माओवादी समूहभित्र खुल्ला रूपमै यी दुई नेताले अलग–अलग समूह चलाएका छन्। प्रदेश इन्चार्ज तथा पदाधिकारी चयन प्रक्रियामा अहिले दाहाल खेमाभित्र पनि वर्षमान पुन हाबी भएको चर्चा छ। प्रदेश कमिटी पदाधिकारीमा दाहाल पक्षका ८ नेताले जिम्मेवारी पाएका छन्।
अन्य नेताहरू पनि दाहालकै वरिपरि छन्। तर पात्र भएपनि गुट व्यवस्थापनमा ती नेताहरू निकै कमजोर देखिन्छन्। टोपबहादुर रायमाझीलगायतले अलग गुट अस्तित्वमा देखाउन सकेका छैनन्। कहिले वर्षमान त कहिले जर्नादनसँगै रायमाझीलगायत नेताहरूको सहकार्य र संर्घष चल्दै आइरहेको छ।
मणि थापा, मातृका यादव र देवेन्द्र पौडेलहरू जिम्मेवारीमा खासै खुसी देखिँदैनन्। कुनै न कुनै रूपमा यी नेताका पछाडि सानो समूह छ। तर गुट नै बचाउन सक्ने अस्तित्वमा उनीहरू छैनन्। उनीहरू दाहालसँगै निकट हुन खोज्ने तर वर्षमान र जर्नादनका अगाडि ‘जोर नचल्ने’ अवस्थामा छन्।
तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपालको अलग्गै गुट छ। पूर्वघटकभित्र बहुमत जिल्ला (४७ जिल्ला अध्यक्ष) को नेतृत्व यो समूहको थियो। स्थायी समिति सदस्य भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, लालबाबु पण्डित, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायत नेताहरू नेपाल ‘क्याम्प’मा छन्।
ओलीको जस्तो यो गुट एकढिक्का देखिँदैन। प्रदेश कमिटीमा नेपाल पक्षका ३ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन्। प्रदेशका अन्य पदीय जिम्मेवारीमा उनी पक्षीय नेता छैनन्।
घनश्याम भुसाललगायतका नेताहरूले गुटबाटै बाहिरिएर अलग्गै समूहको अभ्यास गर्न खोजिरहेका छन्। भुसाल पार्टी एकताको प्रक्रियादेखि नै फरक देखिन खोजेका छन्। उनले एकताको आरम्भिक चरणमा ‘जबजको च्याप्टर क्लोज’ भएको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए।
तात्कालीन माओवादीका राम कार्की लगायत नेतासँग मिलेर उनले कार्ल माक्र्स द्वीशतवार्षिक समारोहअन्तर्गत वैचारिक अभियानको नेतृत्व गरिरहेका छन्। उनी छुट्टै वैचारिक राजनीतिक समूह निर्माणमा क्रियाशील छन्। सरकारी सुविधाका पद र पार्टी एकतामा संरक्षण नगरेको भन्दै भुसाललगायत नेताहरू नेपालसँग असन्तुष्ट छन।
‘मन्त्री बनाउनेदेखि पार्टी एकताका कुनै पनि काममा उहाँ (नेपाल)ले कार्यकर्ताको संरक्षणमा खुट्टा टेक्नुभएन,’ नेपालनिकट एक नेताले भने। तत्कालीन एमालेका सचिवद्वय गोकर्ण विष्ट र भीम आचार्य पनि नेपाल निकट मानिन्छन्। १ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि भएको पार्टी संसदीय दलको चुनावमा आचार्यलाई वरिष्ठ नेता नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल पक्षले समर्थन गरेको थियो।
एमालेभित्र गुटको जित–हार राजनीतिमा सधैं निर्णायक हुन्थे– सचिवालय सदस्य वामदेव गौतम। उनीसँग ओली, दाहाल र नेपालको जस्तो बलियो गुट त छैन। तर आन्तरिक राजनीतिमा ‘निर्णायक स्टेप’ चाल्न सक्ने टिम छ। किरण गुरुङ, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, यमलाल कँडेल, दलबहादुर रानालगायत नेता गौतमसँग छन्। उनको समूह स्थिर प्रकृतिको छ। जो हिजो पनि उनीसँगै थियो, आज पनि उनीसँगै छ।
गौतमलाई विगतमा तत्कालीन मालेमा राजनीति गरेका नेताहरूको पनि समर्थन हुने गर्छ। प्रदेश कमिटीका २८ पदाधिकारीमध्ये गौतम पक्षका २ जनाले जिम्मेवारी पाएका छन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि अलग्गै समूह छ। १० वर्षअघि प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी र श्रेष्ठ नेतृत्वको एकताकेन्द्र–मसालबीच पार्टी एकता भएयता उनको समूहको बेग्लै उपस्थिति छ, जुन अहिले पनि अस्तित्वमा छ। गिरिराजमणि पोखरेल, विश्वनाथ साह, जीवन गौतम, गिरिधरीलाल न्यौपानेलगायत नेताहरू श्रेष्ठसँग नजिक छन्। प्रदेश कमिटी पदाधिकारी चयनमा उनी पक्षका एक जनाले मात्रै जिम्मेवारी पाए।
तत्कालीन माओवादीभित्र दाहालपछिको बलियो गुट रामबहादुर थापाको छ। माओवादीमा लामो समय संगठन विभागको जिम्मेवारी पाएका र मोहन वैद्यसँग अलग भएर पुनः माओवादीमै फर्र्कंदा बहुमत नेता–कार्यकर्ता ल्याएका कारण उनको गुट बलियो देखिन्छ।
स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, कुलप्रसाद केसी, सावित्रीकुमार काफले, अमृता थापालगायत नेता उनीसँग छन्।
अहिले उनलाई आफ्नै नेता–कार्यकर्ता संरक्षण गर्न नसकेको आरोप लाग्न थालेको छ।
प्रदेश कमिटीमा ४ जना उनी पक्षीय नेताले जिम्मेवारी पाएका छन्। उनी तत्कालीन माओवादीको ३ नम्बर प्रदेशका इन्चार्ज हितमान शाक्यलगायत नेताको पार्टीभित्रै संरक्षण गर्न नसकेको आरोप उनीमाथि छ। कर्णाली प्रदेशमा सचिवको जिम्मेवारी पाएका मायाप्रसाद शर्माले समेत असन्तुष्टि जनाउन थालेपछि उनलाई आफ्नै समूहका नेता–कार्यकर्ता संरक्षणमा सकस पर्न थालेको छ।
गुट भत्किएका र पछिल्लो समय गुटको आन्तरिक तयारीमा लागेका नेता हुन्, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल। पार्टी एकतापछिका हरेक मोडमा आपूmलाई उपेक्षित गरिएको ठानेका उनी अहिले भेट्न पुग्ने नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग आफ्नो गुट नभएकै कारण पछि पारिएको बताउँछन्। पार्टी महाधिवशेनका बेला उनीसँग भएका नेताहरू नेपाल पक्षमा गए। उनले गुट चलाउन सकेनन्, बनाउने रुचि देखाएनन् पनि।
अहिले उनले गुट चलाउनुपर्ने आवश्यकता ठानेको बताउन थालेका छन्।
तर उनले यस विषयमा मुख खोल्न चाहेनन्। ‘पार्टी स्वस्थ रूपले चल्न नसकेको एउटा प्रमाण हो, मेरो वरियतासम्बन्धी विवाद’, उनले भने, ‘पार्टी विधि र नीतिअन्र्तगत चल्नुपर्छ। अहिले चलेको छैन।’
उनले वरियताको विषय पार्टी सचिवालय बैठकमा उठाएको र एकपटक छलफल चलेपनि त्यसपछि छलफल नै नभएको बताए। यो विषयमा आफ्नो विरोध जारी रहेका उनको भनाइ छ। खनालले भने, ‘वरियता भन्ने व्यक्ति विशेषले टीका लगाएर दिने कुरा होइन। उसको आफ्नो लामो इतिहास, राजनीति जोडिएको हुन्छ। त्यसो हुनाले अन्याय गरिएको छ। त्यसको म विरोध गर्छु।’
कहाँ–कहाँ प्रकट हुन्छ गुट ?
नेकपाका एक नेताका अनुसार मूल नेतृत्वलाई निर्णायक घडीमा प्रभावित पार्न र आफूअनुकुल निर्णयमा तान्न गुट र समूह सबैभन्दा बढी सक्रिय हुन्छन्।
प्रभावशाली नेतालाई मुख्यमन्त्रीमा रोक्न, क्षमतावान नेतालाई सरकार र संसदीय समिति सभापति चयन प्रक्रियामा रोक्न गुटहरू सक्रिय हुने गरेको नेताहरू नै बताउँछन्। प्रदेश पदाधिकारी चयनमा समेत पहिले बनाएको मापदण्ड लत्याउन शीर्ष नेताहरू नै गुटबन्दीमा उत्रिए।
‘आत्मसुरक्षाका लागि गुटबन्दी गर्न खोज्नु र गर्नु राम्रो कुरा होइन। यो रद्दी काम हो,’ नेकपा नेता प्रदीप नेपाल भन्छन्, ‘गुटबन्दी गर्नु र गुटमा लाग्नु दलालीको काम हो। यसले पार्टी बनाउँदैन, भत्काउँछ।’
तत्कालीन एमालेभित्रको गुटबन्दी संस्थागत थियो। पार्टी महाधिवशेनमै ओली–नेपाल दुई समूह बनेका थिए। अहिलेको गुटबन्दी भने महाधिवशेन लक्षित नभर सत्तासंर्घषमा शक्ति अभ्यासका लागि बनाइएको नेताहरू बताउँछन्।
‘पार्टी सत्ता र बाहिरी सत्तामा आफ्ना मान्छेलाई शक्तिमा र लाभको पदमा पुर्याउन, आर्थिक लाभहानीमा हिस्सा लिन गुटवाद जन्मिरहेको छ,’ नेकपाका अर्का एक नेताले भने।
पुर्ब घटकभित्र युवा नेताको बन्दैछ यस्तो समिकरण
नेकपाभित्रका युवा पुस्ताका नेता भने भिन्न समूहका रूपमा अगाडि बढ्न खोजेका देखिन्छन्।
युवाहरूको छुट्टै समूह बनाई रूपान्तरण प्रयत्न अगाडि बढाउन खोजेको उनीहरूले बताएका छन्। ‘व्यक्तिको धेरै आलोचना गरेर केही हुने देखिन्नँ, आलोचनाले नेतृत्व रूपान्तरण हुँदैन। जति जुध्छौं, आग्रह, पूर्वाग्रह हुन्छ,’ युवा पुस्ताका एक नेता भने, ‘पार्टीभित्रै युवा पुस्ताका नेता–कार्यकर्ताले भित्री तयारी गरेर ठूलो हस्तक्षेपी भूमिका खेल्नु आवश्यक छ। त्यसको प्रयत्न हुदैछ।’
यो अभियानमा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, देवेन्द्र पौडेल, राम कार्की, ठाकुर गैरे, लेखनाथ न्यौपाने, हेमराज भण्डारीलगायत नेता जोडिँदै गरेको एक नेताले बताए।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












