बुकिङ खुलेको ३ दिनमै सकियो बसको टिकट, दशैंका यात्रु तनावमा
एसी र डिलक्सका नाममा यात्रु ठगिँदै,सम्बन्धित निकाय भने बेखबर
काठमाडाैँ १२,असोज । दशैंका लागि आ–आफ्नो घर फर्किन राजधानी काठमाडौंबाट सवारी टिकट लिनेको संख्या अन्य समयको भन्दा उच्च हुन्छ। यसैका लागि भनेर सरकार तथा विभिन्न यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ्गको व्यवस्था गर्दै आएका छन्।
वर्षेनी चलिरहने यो प्रक्रियाका लागि यात्रु तथा सर्वसाधारणले सास्ती भोग्नु नपर्ने हो। तर, हरेक वर्ष सहजताका साथ टिकट पाउनु र घर जानु अधिकांश यात्रुका लागि दिवास्वप्न मात्रै हुने गरेको छ। सरकारले बेलैमा उचित प्रबन्ध तथा पहल नगर्नु तथा सेवामुखी व्यवसाय भएपनि यातायात व्यवसायी र कम्पनीहरुले ‘वर्षभरीका लागि बढी नाफा कमाउने सिजन हो’ भन्दै अघि बढ्नुले यात्रुहरु चेपुवामा पर्ने गरेका हुन्।
यसवर्षको दशैं आउन केही दिन मात्रै बाँकी छ। यसअघि करिब १ महिनाको समय राखेर अग्रिम टिकट बुकिङ खुल्ला गरिने भए पनि यातायात व्यवसायीको अडानका कारण गत मंगलबारबाट मात्रै टिकट बुकिङ खुलाउन उनीहरु राजी भए। भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकको निष्कर्षअनुरुप असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो।
तर, कम्पनी ऐनअनुरुप दर्ता भएका यातायात कम्पनी तथा व्यवसायीले तोकिएको समयमै टिकट बुकिङ खुल्ला गरेपनि अन्य अधिकांश यातायात व्यवसायीले भने सहमतिअनुरुपको कार्य गर्न मानेनन् र आन्दोलनमा उत्रिए। पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै टिकट बुकिङ खुल्ला नगर्ने निर्णयमा पुगेका थिए।
सोपश्चात् सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बीच वार्ता भयो र सार्वजनिक सवारीमा १० प्रतिशत भाडा बढाउन दुवै पक्ष एकमत भए। सहमतिअनुरुप गएको मंगलबारबाट सबै यातायात व्यवसायीले टिकट बुकिङ खुलाए।
टिकट बुकिङ नखुल्दासम्म खुल्ने÷नखुल्ने दुविधामा रहेका यात्रुहरु हिजोआज फेरि अर्को समस्यामा पर्ने गरेका छन्। बुकिङ खुल्ला गरिएको २ दिनपछि नै व्यवसायीले टिकट सकियो भन्न थालेपछि यात्रुहरुलाई सास्ती थपिएको हो। मंगलबार र बुधबार सहज रुपमै टिकट प्राप्त गरेको भएपनि बिहीबार भने टिकट काउन्टरमा रहेका कर्मचारीले टिकट सकिएको जानकारी दिने गरेको यात्रुहरुले गुनासो गरेका छन्।
बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका पाल्पा तानसेनका बालगोपाल सिंहले आधा घण्टा लाइन बसेपनि टिकट नपाएको गुनासो गरे। ‘आधा घण्टा लाइन बसें। आफ्नो पालो आइनपुग्दै टिकट सकियो भनियो।’, उनले प्रश्न गरे, ‘दुई दिनमै सबै टिकट कसरी सकिन्छ? अब काठमाडौंका यत्रा यात्रु कसरी घर पुग्ने?’
सिंहले नियम बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा जनतालाई सास्ती कम नभएको बताए। ‘सरकारले सिन्डिकेटको अन्त्य भएको भनेर घोषणा त गर्यो। तर, यो कार्यान्वयनमा आउन सकेको देखिँदैन। जसको उदाहरण यसपटकको टिकट बुकिङमा यातायात व्यवसायीको अडानलाई लिन सकिन्छ।’, उनले भने, ‘मलाई लाग्छ नेपालमा जस्तो सुकै नियम ल्याए पनि लागू नै हुँदैन। सबै नियमहरु भनाइमा सुन्दा आनन्द लागेको तर प्रयोगमा आएको नदेख्दा यात्रुहरु खिन्न छन्।’
उनले जनताको सेवासँग जोडिएको विषयमा यातायात व्यवसायी पनि जिम्मेवार बन्नुपर्ने तर्क गरे। सिंह असोज ३० गतेका लागि नयाँ बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी संघको टिकट काउन्टरमा पुगेका थिए।
उता नेपाल यातायात व्यावसायी महासंघका महासचिब सरोज सिटौला भने यात्रुहरुलाई सहज रुपमा टिकट बुकिङको वातावरण मिलाएको दाबी गर्छन्। उनले भने, ‘यात्रुहरुले अन्तिम अन्तिम सिट भएपछि टिकट पाइएन भन्ने गरेका छन्। अहिले नै टिकट नपाइने भन्ने वातावरण छैन।’
महासचिब सिटौलाले दशैंभरीका लागि देशभरका यात्रुलाई मध्यनजर गर्दै सबै क्षेत्रमा यातायातको सहज पहुँच पुर्याउने बताए। ‘कुनै स्थानमा आवतजावतको समस्या देखिएमा गाडी थप गरेर भए पनि यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउँछौं।’, उनले प्रतिबद्धता जनाए।
नाममा मात्र सिमितभए, हेल्प डेस्क
यात्रु ठगिन नदिन भन्दै महानगरीय ट्राफिक महाशाखा, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीकाे सहकार्यमा बसपार्कमै हेल्प डेस्क पनि स्थापना गरेको छ । हेल्पडेस्कमा यात्रुले आफ्नो गुनासो राख्न सक्छन् ।
तर, अहिलेसम्म त्यस्तो गुनासो लिएर कोही नआएको त्यहाँ कार्यरत एक ट्राफिक प्रहरीले जानकारी दिए ।
सडकको अवस्था दयनीय रहे पनि देशका कुनाकाप्चासम्म व्यवसायीले बसलाई एसी र डिलक्स भन्न छाडेका छैनन् । सुविधाजनक यात्राका लागि आधुनिक बस उपयुक्त पनि हो तर, यसैको नाममा व्यवसायीले यात्रुलाई ठग्ने गरेको पाइएको छ ।
यातायात व्यवस्था विभागले ७ असोजमा सार्वजनिक गरेको नयाँ भाडादर अनुसार डिलक्स र एसीको मान्यता पाएका गाडीवालाले तोकिएको भाडामा २० प्रतिशत थप गरेर लिन पाउँछन् ।
तर, बसपार्कमा तोकिएको भाडामा ३० देखि ४० प्रतिशतसम्म बढी असुलेको पाइयो । यातायात व्यवस्था विभागले अछामको साँफेबगरको भाडा १ हजार ८ सय ७३ रुपैयाँ तोकेको छ ।
डिलक्स र एसी बसले त्यसमा २० प्रतिशत जोडेर साँफेबगरको भाडा २ हजार २ सय ४७ रुपैयाँसम्म लिन सक्छन् । तर, व्यवसायीले २ हजार ७ सयसम्म असुलेको पाइयो ।
गाडीमा रहेको सुविधा अनुसार भाडा बढाइएको गाडीवाला बताउँछन् । तर, कतिपय गाडी नाम मात्रैका एसी र डिलक्स छन् ।
‘एसी बस भनेर टिकट बुक गर्ने तर, भित्र पस्दा कहिले पावर पुगेन त कहिले बिग्रेको छ भन्छन्’, गुल्मी जान लागेका हरि अधिकारीले भने ।
व्यवसायीले एसी र डिलक्स गाडीमा वाइफाइको नाममा समेत यात्रु लोभ्याउने गरेका छन् । तर, त्यस्ता गाडी गुड्न थालेपछि वाईफाई नै नचल्ने यात्रुको गुनासो छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












