मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
काठमाडौं । ‘मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुपर्यो, सन्चो बिसन्चो के छ सोध्नुपर्यो, मासु पनि लिएर आउँछु, रिचार्ज पनि लिएर आउँछु ।’ यही कल्पना गर्दै मोरङकी सन्तोषी तामाङ साइकल लिएर दोकान जाँदै थिइन्, त्यतिबेलै उनलाई साइँला देवरले फोन गरेर भने, ‘दाजुको पनि दुर्घटना भयो अ’ रे, अस्पतालमा छ’ रे दाइ त ।’
त्यसै दिन सन्तोषीका श्रीमान् सुवासले कम्पनीबाट तलब थापेका थिए । उनी आफूले थापेको तलब नेपाल पठाएर कम्पनी फर्कँदै थिए । कम्पनी फर्कँदै गर्दा उनीहरु चढेको ट्याक्सी दुर्घटनामा पर्छ । उक्त ट्याक्सी चलाएका थिए बागलुङका तेजेन्द्र भण्डारीले । मोरङका सुवास तामाङ र बागलुङका तेजेन्द्र भण्डारी साउदी अरेवियामा काम गर्थे । सुवास साउदीको हुण्डाइ कम्पनीमा काम गर्थे ।
ट्याक्सीमा सुवाससहित अन्य चार जना चढेका थिए । साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाइ कम्पनीमा काम गर्ने चार नेपालीको मृत्यु भएको घोषणा गरिदिन्छ । अस्पतालले चालक तेजेन्द्रको भने उपचार भइरहेको खबर दिन्छ ।
तेजेन्द्रकी आमा सुर्विताले पनि छोराको खबर सोध्न फोन गरिन् । फोन उठाउनेले छोराले चलाएको ट्याक्सी दुर्घटनामा परेको, तेजेन्द्रको कुनै गल्ती नभएको र कम्पनीले उपचार गराइरहेको बताउँछ । तेजेन्द्रकी आमाको मनमा केही आशा पलायो, छोरो छिट्टै ठीक हुन्छ र छोराको स्वर सुन्न पाउँछु भन्ने ढुक्क भयो ।
मोरङकी सन्तोषी भने श्रीमान् जीवितै होला र छिट्टै सन्चो होला भन्ठान्थिन्, उनी सोच्थिन्, ‘मेरो आत्मामा बुढाको चैँ उपचारै भइरहेको होला, टाउकामा सेतो पट्टी बाँधेर ह्वीलचियरमा झुकेर बसेको होला ।’ त्यस्तै बागलुङकी सुर्विता भण्डारी पनि त्यस्तै सोच्थिन्, ‘छोरीलाई फोन गर्न लाउँदा उताबाट ‘बोल्छ बोल्छ’ भन्छ, अब त मेरो नानी बोल्ला भनेर भन्छु तर बोल्दैन । किन बोल्दैन भनेर सोध्दा मुखमा टाँका लगाएकाले नबोलेको हो भन्छ ।’
यता सन्तोषी श्रीमान् बितेको खबरबाट विक्षिप्त हुँदै गर्दा उता बागलुङकी सुर्विता छोरा सन्चो भएको खबर सुन्न भगवान्सँग प्रार्थना गरेर बसेको अवस्थामा २७ औँ दिनमा सुवासको भनिएको शव काठमाडौँ आइपुग्छ । सन्तोषी श्रीमान्को शवलाई मोरङ लगेर तामाङ परम्पराअनुसार ‘घेवा’ गर्छिन् । तर तीन महिनापछि घाइते भनेर उपचार गरिएका व्यक्तिको अनुहारको पट्टी खोलिन्छ । त्यतिबेला ती जीवित व्यक्ति बागलुङका तेजेन्द्र नभएर मोरङका सुवास रहेको पुष्टि हुन्छ । यसरी ‘मर्यो’ भनेर किरिया गरिएको मानिस जीवितै रहेको भेटिन्छ । उपचारपछि छोराको स्वास्थ्य ठीक भएको खबर सुन्न प्रतीक्षारत तेजेन्द्रकी आमा सुर्विता भण्डारीले छोराको मृत्यु भइसकेको र अरु कसैले नै दागबत्ती दिएको खबर सुन्नुपर्छ ।
सन्तोषीको परिवारमा केही खुशीको क्षण आए पनि सुर्विताको परिवारमा भने बज्रपात हुन्छ । घर नजिकै रहेको खोलामा सुर्विताले छोराको घरमा बाँकी रहेको ‘गलबन्दी’ बगाएर काजकिरिया गर्छिन् । एकमात्र छोराको निधन भएर विक्षिप्त बनेकी सुर्विता अर्कैले छोराको दाहसंस्कार गरिसकेको खबरले झन मर्माहत बन्छिन् र खोज्न थाल्छिन्, छोराको काजकिरिया भएको स्थान । तेजेन्द्रको दाहसंस्कार भएको खोजीमा सुर्विता सुवास तामाङको घरमा पुग्छिन् र छोराको दाहसंस्कार भएको स्थानमा पुगेर संस्कारअनुसारको कर्म गरेर फर्कन्छिन् । उता सुवासको भने परम्पराअनुसार ‘भकारी’मा राखेर पुनर्जन्म गरिन्छ ।
चलचित्रझैँ लाग्ने माथिको कथा छोराको स्वर सुन्न आतुर आमाले छोरो मरेको, लाश नेपाल आएको र हिन्दू संस्कार विपरीत सद्गत भइसकेको थाहा पाएपछि भोगेको पुत्रशोक तथा अर्कोतर्फ आफैँले काजकिरिया गरिसकेको लोग्ने घर फर्किएपछि एउटी श्रीमतीले भोगेको हर्ष र विष्मात्लाई उज्यालो मल्टिमिडियाले वृत्तचित्रमा उतारेको हो । करिब ४० मिनेटको उक्त वृत्तचित्रको कथा पीडामा परेका दुवै परिवारलाई भेटेर पत्रकार सञ्जिता देवकोटाले लेखेकी हुन् । वृत्तचित्रको निर्देशन विद्या चापागाईँ र कमल कुमार तथा छायाङ्कन जीवन रिजालले गरेका हुन् ।
उज्यालो मल्टिमिडियाका अध्यक्ष गोपाल गुरागाईँ ‘मरिसकेको मान्छे’ वृत्तचित्र जिउँदो छँदै राहदानीमा मृतक भनी छाप लागेको, गाउँपालिकाले मृत्यु दर्ता गरिदिएको र मरिसकेको प्रमाणित भएपछि आफ्नै श्रीमतीले काजकिरिया गरिसकेपछि जहाज चढेर घर आएको जिउँदो मानिसको कथा भएको बताउँछन् । उक्त वृत्तचित्रको मङ्गलबार पीडित परिवारलाई सँगै राखेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रदर्शन गरियो ।
सो क्रममा तेजेन्द्रकी आमा सुर्विताले सरोकारवालाको लापरबाहीले आफूले छोराको शव देख्न नपाएको र अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गरिन् । दुर्घटनामा परेर बल्लतल्ल बाँचेका सुवास मानसिक रुपमा अझै पनि स्वस्थ हुन सकेका छैनन् । उनी हाँसेपछि हाँसेको हाँस्यै गर्छन् कि त रिसाएपछि रिसाएको रिसायै गर्छन् । परिवारको गुजारा चलाउन अटोरिक्सा गुडाउन थालेका छन् । उनको मृत्यु दर्ता भइसकेको छ भने राहदानीमा मृतक भनेर छाप लागेको छ । कानूनतः उनी मृत व्यक्तिसरह भएका छन् ।
पीडित परिवारसँगै बसेर वृत्तचित्र हेरेपछि श्रममन्त्री गोकर्ण विष्टले दैनिक घर खर्च टार्न विदेशिएका नेपाली युवाको अनाहकमा मृत्यु हुने घटना न्यूनीकरण गर्न सुधारको प्रक्रिया थालनी गरिएको बताए । स्वदेशमै रोजगारीको अवसर नहुँदा नेपाली युवा बाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको यथार्य स्वीकार गर्दै उहाँले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन गम्भीर ढङ्गबाट प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री विष्टले कानूनीरुपमा मृत घोषित भइसकेका व्यक्तिलाई पुनः जीवितको हैसियत प्रदान गर्न नेपालका कानूनले परिकल्पना नगरेको सन्दर्भमा मृतक भनिएका सुवास तामाङलाई जीवित रहेको कानूनी आधार प्रदान गर्न तथा जीवित भनेता पनि मृत्यु भइसकेका तेजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायताका लागि समेत सरकारले पहल गर्ने बताए ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












