सीमा विवादकाबीच पनि राष्ट्रसंघमा भारतलाई नेपालको साथ !
काठमाडौं । भारत आन्तरिकरुपमा कोरोना महामारीविरुद्ध संघर्ष गर्दैछ भने अर्कोतिर छिमेकीसँगको सीमा विवादका कारण समस्यामा परेको छ ।
छिमेकीसँग सीमा विवाद भए पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएको छ ।
बुधबार राति अर्थात् जुन १७ मा भएको मतदानमा भारतलाई नेपालसहित एसिया-प्यासिफिक क्षेत्र र अन्य गरी १८४ राष्ट्रले भारतको पक्षमा मत दिएका छन् । संयुक्त राष्ट्र संघका १९३ राष्ट्र मतदानमा उपस्थित १९२ राष्ट्रमध्ये भारतले १८४ राष्ट्रको समर्थन प्राप्त गरेको हो ।
भारतसँगै मेक्सिको, आयरल्यान्ड, नर्वे र केन्या पनि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका हुन् । बुधबार र बिहीबार निर्वाचित भएसँगै यी पाँच देशले सुरक्षा परिषद्को अस्थायी सदस्यता हासिल गरेका हुन् ।
१९३ सदस्य रहेको राष्ट्र संघले भारतले १८४ मत प्राप्त गर्यो । त्यस्तै मेक्सिकोले १८७ मत प्राप्त गर्यो । अफ्रिकाबाट केन्याले ११३ मत प्राप्त गर्दा जिबुटीले ७८ मत प्राप्त गरेको थियो । पहिलो चरणमा कसैले जित हात नपारेपछि अफ्रिकी मुलुकका लागि बिहीबार राति भएको दोस्रो चरणको मतदानमा केन्याले १२९ मत प्राप्त गर्यो भने जिबुटीले ६२ मत प्राप्त गर्यो ।
राष्ट्रसंघीय सुरक्षा परिषद्मा १० वटा देश अस्थायी सदस्यका रुपमा प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन् । बेलायत, चीन, फ्रान्स, रुस र अमेरिका भने सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । स्थायी सदस्यसँग भिटो पावर हुन्छ । राष्ट्रसंघीय सुरक्षा परिषद्मा आगामी दुई वर्ष (२०२१–२२) का लागि अस्थायी सदस्य रहने यो तहमा एकैसाथ एसिया प्यासिफिकसहित अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकी तथा क्यारेबियन, पश्चिमी युरोप तथा अन्य गरेर ५ सदस्यको निर्वाचन भएको हो ।
नेपालसहित यो क्षेत्रका सबै ५५ राष्ट्रले भारतलाई समर्थन गरेका हुन् । मेक्सिको पनि उत्तर अमेरिकी क्षेत्रबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो । तर, अस्थायी सदस्य बन्ने क्यानडाको प्रयास भने असफल रह्यो । आयरल्यान्ड र नर्वेसँग क्यानडा पराजित भएको हो ।
भारत सन् २०२१ जनवरी १ देखि संयुक्त राष्ट्र संघको शक्तिशाली अंग सुरक्षा परिषद्मा चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायत (स्थायी सदस्य राष्ट्र) सँग दुई वर्ष काम गर्ने अवसर पाएको छ । सन् २०१९ मा भारत एसिया-प्यासिफिक क्षेत्रको एकल उमेदवारमा निर्विरोध निर्वाचित भएको थियो ।
संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि टीएस त्रिरुमुर्तिले संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्वाचनमा भारतले ठूलो समर्थन प्राप्त गरेको र भारतले बहुपक्षीय प्रणालीका लागि सुधारात्मक नेतृत्व प्रदान गर्ने बताएका छन् ।
उनले भनेका छन्, “कोरोना महामारीकाबीच भएको सुरक्षा परिषद्का निर्वाचनमा भारतको जित प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दूरदृष्टि’ र उनको प्रेरणादायक विश्वव्यापी नेतृत्वको क्षमताको ‘प्रमाण’ हो ।”
राष्ट्रसंघीय सुरक्षा परिषद्ले शान्तिस्थापना, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आएको छ । भारतले यस अघि १९५० देखि १९५१, १९६७ देखि १९६८, १९७२ देखि १९७३, १९७७ देखि १९७८, १९८४ देखि १९८५, १९९१ देखि १९९२ र २०११ देखि २०१२ सम्म यस परिषद्मा अस्थायी सदस्यको भूमिका निभाइसकेको छ ।
नेपाल भने यसअघि, सन् १९६९-७० र १९८८-८९ को दुई चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि हाल नेपाल सदस्य छ ।
स्थायी प्रतिनिधि तिरुमुर्तिले भारत संयुक्त राष्ट्र संघको स्थायी सदस्यका लागि योग्य भएकोसमेत बताएका छन् ।
भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित हुँदै गर्दा उसको लक्ष्य स्थायी सदस्य हुनेतिर रहेको छ । भारत संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि अघि बढिरहँदा अहिले भारत सबै छिमेकीबाट ‘घेराबन्दी’ मा परेको अवस्था छ । चीन र नेपालसँग तनाव बढिरहेको अवस्थामा भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अस्थायी सदस्य राष्ट्रमा निर्वाचित भइसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्थायी सदस्य राष्ट्रमा भारतको जितका लागि सहयोग गर्ने सबै राष्ट्रलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले सबै राष्ट्रसँग मिलेर विश्व शान्ति, सुरक्षा, लचिलोपना र समानताका लागि काम गर्ने बताएका छन् ।
सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको भारत-चीन सेनाबीचको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ । चीनले आफ्नो तर्फ भएको मानवीय क्षतिलाई सार्वजनिक गरेको छैन । भारतले एक महिनाको अवधिमा यस विवादाई समाधान गर्न तीनभन्दा बढी पटक संवाद गरिसकेको छ । लद्दाख क्षेत्रमा भारत-चीन सेनाबीच भएको तानातानीलाई समाधान गर्न जुन ६ मा उच्चस्तरीय सैन्य संवाद, ५ जुनमा कूटनीतिक तहमा वार्ता र १७ जुनमा भारत-चीनका विदेशमन्त्रीबीच संवाद भएको छ ।
तर, नेपालले सन् २०१९ को नोभेम्बरमा भारतले आफ्नो नक्सामा नेपाली भूमि समेटेदेखि औपचारिकरुपमा वार्ताका लागि पहल गर्दा पनि भारतले कुनै प्रतिक्रिया जनाएको छैन । त्यसैगरी नेपालले भारतलाई आवश्यक परेका क्षेत्रहरुमा सहयोग गर्दै आएको छ । तर, भारतले भने नेपालसँगको सीमा समस्या समाधानका लागि बेवास्ता गर्दै आएको छ ।
परराष्ट्रविद् डा. दिनेश भट्टराईले भारतलाई मतदान गर्ने कुरा पहिले नै तय भएकाले त्यसमा खासै असर नगर्ने तर भारतले नेपालप्रतिको दृष्टिकोण सुधार गर्नुपर्ने बताए । उनले भने, “भारतलाई नेपालले पहिलेदेखि नै अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग गर्दै आएको छ । एउटा छिमेकीले अर्को छिमेकीलाई सहयोग गर्नुपर्ने मान्यता अनुरुप त्यो सहयोग आदानप्रदान भइरहेको छ । तर, भारतले एउटा ‘ग्लोबल पावर’ भन्ने लक्ष्यमा अघि बढिरहँदा छिमेकीसँगको सम्बन्ध बिगार्नु हुँदैन ।”
तर, कूटनीतिक मामिलाका विश्लेषक टीका ढकाल भने संयुक्त राष्ट्र संघको कुरा आफ्नो नक्सा प्रकरणमा जोड्न नहुने बताउँछन् । उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न भारतको उमेद्वारीमा नेपालको साथ रहनुले पनि नेपाल-भारत ‘कूटनीतिक इन्गेजमेन्ट’ कायम रहेको देखिएकोसमेत बताएका छन् ।
उनले भने, “नेपाल-भारतबीच विभिन्न च्यानलमार्फ संवाद जारी छ र राख्नुपर्छ । तर, हामीले सीमा कुरा र संयुक्त राष्ट्र संघमा मतदान गर्ने कुरा छुट्टा-छुट्टै गरेर डिल गर्नुपर्छ । हामीले एउटा कुरालाई अर्को विषयमा ‘मर्ज’ गर्दा भारतले पनि व्यापार र अन्य लगानीका कुरालाई सीमा प्रसंगमा जोड्न सक्छ । जसले नेपाली जनताले समस्या भोग्नुपर्ने दिन आउनसक्छ । त्यसकारण हामीले हरेक कुरा छुट्टाछुट्टै डिल गरेर समस्याको समाधानतिर लाग्नुपर्छ ।”
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












