बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा: यस्तो छ एयरलाइन्सको तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ ।
विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए ।
प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।
“तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ”, महानिर्देशक अधिकारीले भने ।
अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ । “अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ”, उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ । यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ ।
विमानस्थलमा अहिले दैनिक दुवैतर्फी गरेर कूल ४२० उडान भइरहेको छ । अधिकारीले भने, “अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन । हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ ।”
नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन् । नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रुदर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रसान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन् । पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौँसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन् ।
वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ ।
यस्तो छ एयरलाइन्सको तयारी
प्राधिकरणले तराईका रात्रिकालीन उडानयोग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन् । उडान तालिका थप्दा यात्रुको सङ्ख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने बताए ।
“उडानअवधि बढाउनु स्वागतयोग्य हो, यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ”, प्रवक्ता बर्तौलाले भने ।
अहिले सामान्यतायः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ । रात्रिको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ । विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिनसकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरलले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राखे । बुद्धएयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ, १२ बजबेसम्म उडान गर्दा एयरलाइन्सन र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायतको प्रबन्ध जरुरी छ ।”
एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ । तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












