ताजा समाचार

कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदमा शेखर र उपसभापतिमा गगन लड्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह शेखर कोइराला र गगन थापा उपगुटमा विभाजित भएको चर्चा चलिरहेका बेला बिहीवार दुवै नेताले १५ औं महाधिवेशनसम्म दायाबायाँ नगर्ने सहमति जनाएका छन् ।

कांग्रेसका एक सांसदको घरमा करिब साढे ३ घण्टाको छलफलपछि आफूहरूबीचको असझदारी मेटिएको र १५औं महाधिवेशनका लागि एक भएर अघि बढ्यौं भन्ने सन्देश आफ्नो पंक्तिमा दिने सहमति भएको छ ।

दुई नेताबीच छलफलको जानकारीमा रहेका एक नेताका अनुसार यसमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित देउवानिकटका अर्का एक नेतालाई पनि समावेश गरिने भएको छ । अब देउवाइतर समूहले शेखरलाई फस्र्टम्यान र गगनलाई उत्तराधिकारी मानेर १५ औं महाधिवेशनको तयारी गर्ने भएको छ ।

ती नेताले  भने, ‘चुहिएका साना.साना बाडुकीहरू साना-साना इमोसनहरु यदि कतै थिए नै भने पनि मलेरिया उन्मुलन भए जसरी निर्मुल भएका छन् भन्ने सन्देश दिने समझदारी छ । आजको वार्तापछि एकैपटक गगनको १० वर्षे उमेर सीमा र शेखरको यसपटक एकैपटक भन्ने नारा खारेज भएका छन् ।’

यो समझदारीलगत्तै शेखर-गगन समूहका नेता गुरुराज घिमिरेले दुई नेताको तस्बिर सार्वजनिक गर्दै ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज,हामी साथमा छौ र निकै उत्साहित पनि’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।’

शेखर गगनको यो वार्ता र आन्तरिक समझदारीले कांग्रेसभित्रको समीकरणलाई मात्र नभएर राष्ट्रिय राजनीतिको समिकरणमा समेत प्रभाव पार्ने दाबी नेताहरूको छ । पछिल्लो केन्द्रीय कार्य समिति बैठकमा गगन थापालाई शेखरले साथ नदिएको टिप्पणी भइरहेका बेला केही युवा नेता र सांसदहरूको पहलमा बिहीबारको सार्थक छलफल भएको उनीहरूको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org