ताजा समाचार

नक्कली भनेर पक्राउ परेका एक डाक्टर सक्कली भएको प्रमाणित

काठमाडौं । नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ परेका एक जना चिकित्सक ‘सक्कली भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही साउन २५ गते महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो । यादवसँग म्याद लिएर सीआईबीले अनुसन्धान गरिरहेको छ ।

तर, डा. रञ्जित सक्कली चिकित्सक भएको पुष्टि भएसँगै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अपरेशन ‘फोक्सट्रोट चार्ली’को विश्वसनीयता माथि नै प्रश्न उठेको छ । नाम एउटै भएको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिए ।

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरु नाम थर मिलेको भेटिएको छ । डा. रञ्जित जनकपुरमा पढेका हुन् । ब्युरोले पक्राउ गरेको मध्ये एक जना चिकित्सक फरक परेको कुरा आफूलाई जानकारी आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले जनाएका छन् ।

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन् । अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org