ताजा समाचार

राष्ट्रसंघका महासचिव गुटेर्रेसले भने- विश्वशान्तिमा नेपालको भूमिका प्रशंसनीय छ

काठमाडौँ । राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। उनी विहीबार न्यूयोर्क पुगेका थिए। महासभामा नेपाली प्रतिनिधि मण्डलको तयारी र साइडलाइन भेटवार्ता लगायतका लागि उनले तत्काल ओहोदाको प्रमाणपत्र बुझाउन पर्ने थियो।

महासचिव गुटेर्रेसले पनि सबै परिस्थिति बुझेर भोलिपल्टै भेट दिएका थिए। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि महासचिव गुटेर्रेससँग वार्ता समेत गरेका थिए।

राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेर्रेसले नेपालले राष्ट्रसंघमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्र संघको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका थिए। नेपालले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाको पनि चर्चा भएको थियो।

राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि थापालाई उनले बधाई तथा स्वागत गर्दै थापाले आफ्नो कार्यकालमा निर्वाह गर्ने भूमिकाले नेपाल(संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए। त्यसका लागि महसचिवको हैसियतमा आफ्नो साथ र सहयोग रहने पनि उनले बताए।

राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रसंघलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता रहेको दोहोर्‍याएका थिए।

विश्व शान्ति र विकासमा नेपालले गर्न सक्ने सहयोगको पाटोमा पनि नेपाल सरकारको तर्फबाट आफूले भूमिका निर्वाह गर्ने बताए। राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसंघीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गरे।

शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औल्याउँदै राजदूत थापाले राष्ट्र सङ्घसँग नेपाल अझ नजिक भएर काम गर्ने पनि बताए। राजदूत थापा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुगेका हुन्।

उनी स्थायी प्रतिनिधि हुनु अघि चीन जापान जस्तो मुलुक हेर्ने उत्तरपूर्वि महाशाखा प्रमुख थिए। त्यसअघि उनी युरोपेली महासंघको र युरोपेली मुलुकका लागि राजदूत थिए। उनी ब्रसेल्समा रहेर परराष्ट्र मन्त्रालयको शीर उचो गर्ने कामहरु गरेका थिए।

उनी एसएलसी परीक्षा उत्तीर्ण गरेदेखि नै परराष्ट्र सेवामा प्रवेश गरेर सेवा गर्दै आएका राजदूत हुन्। उनी ३३ वर्ष देखि परराष्ट्रको विभिन्न महाशाखामा रहेर काम गरे। उनले अधिकृत स्तरमा पुगेपछि नै चीन भारत, साउदी अरेविया लगायतको मुलुकका राम्रो काम गरिसकेको अनुभव छ।

अघिल्लो पटक पनि न्यूयोर्कमा परराष्ट्र सचिवलाई नपठाएर राजदूत भइसकेका सहसचिवलाई पठाएको कारण यसपटक पनि राजदूत भइसकेका मध्येको बरिष्ठबाट उनलाई न्यूयोर्क पठाइएको सरकारले जनाउँदै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org