यमःद्यो ठड्याएर आजदेखि भक्तपुरमा आठ दिन इन्द्रजात्रा मनाइने
भादगाउँ, ९ असोज । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता ९आकाश दीप० मुपात्र र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ ।
जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछेँ, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, बोलाछेँ, चासुखेल लगायतका स्थानहरुमा यमःद्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।
जात्राको तेस्रो दिन अर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा इन्द्रायणी देवीलाई शृङ्गारपटार गरी विधिवत् पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिलाहरु हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्धहरु धूप दीप बालेर सिद्धपोखरीले परिचित इन्द्र दहको दक्षिण दिशाको बीचमा ल्याई विराजमान गराइन्छ । जात्राका क्रममा राति पालाको दीप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।
जात्राको चौथो दिन येंया पुन्ही ९भाद्र शुक्ल पूर्णिमा०का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनहरु ठूलो घुइँचो लाग्ने गर्छ । देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास छ । यस दिन इन्द्रायणी देवीसँगै दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरु तथा वासुकी नागको समेत पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाई पिउने परम्परा छ । राती इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आसनमा विराजमान गराइन्छ । जात्राको पाँचाँै दिनलाई पनि शून्य मानिन्छ ।
जात्राको छैटौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता ९त्रिशूल आकारको माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती० बालिन्छ । लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँहरुमा परिक्रमा गराइन्छ ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुईजना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्गलगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ । सहर परिक्रमा गर्दा टोलटोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ । जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेश कहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ । लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।
जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी ९तौमढी०को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोलहरु तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ ९खड्गी समुदायको विशेष० बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत् रुपमा बलि पूजा गरिन्छ ।
भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोहरुमा धान खुवाउने, तमारी र दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी ९इनार०मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँढले छुन्छ कि भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाएको हो ।
जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ । इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।
लोककथनअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यहरुको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी माग्छन् । सो क्रममा दैत्यहरुलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको प्रा डा श्रेष्ठ बताउँछन् ।
भक्तपुरमा इन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस्, काल र शत्रुनाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्रा डा श्रेष्ठले बताउनुभयो । साथै यस जात्राले मूला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उहाँको भनाइ रहेको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












