संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा अदालती बहसको सन्दर्भमा संवैधानिक एवं कानूनी रूपमा आफ्नो जिकिर बलियो नभएपछि अशिष्ट, अमर्यादित र विवेकहीन तर्क गर्ने गरिएको सुनिन्छ ।
५२ संवैधानिक अंगका पदाधिकारीहरू नियुक्ति विरुद्ध दायर रिट निवेदकको तर्फबाट बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि कुतर्क र लाञ्छनायुक्त बहस गरेका थिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा चार दिनअघि जवाफी बहस गर्ने क्रममा थापाले महान्यायाधिवक्ता रमेश बडालप्रति कटाक्ष र व्यङ्ग मात्र नभई आक्षेप नै लगाए । महान्यायाधिवक्तालई ‘महान्यायाधिवक्तो’ भनेर उनले बहसमा भनेका थिए । उनले भनेका थिए- ‘संसद् विघटन गर्दाको महान्यायाधिवक्तो पनि उहाँ नै, अध्यादेशबाट ऐन संशोधन गरेर संवैधानिक अंगमा नियुक्त गर्दाको महान्यायाधिवक्ता पनि उही ।
महान्यायाधिवक्तालाई त प्रधानमन्त्रीलाई भन्दा बढी जानकारी हुनुपर्योह नि ।’ थापाको बहसमा महान्यायाधिवक्ताको तर्क र बहसभन्दा पनि व्यक्तिगत असन्तुष्टि र रोष प्रस्ट झल्कन्थ्यो । त्यसैले उनले ‘महान्यायाधिवक्तो’ जस्तो अमर्यादित शब्द बोलेका थिए । अन्य कानून व्यवसायीको तर्कमा पनि उनले बौद्धिक प्रतिवाद नगरी असहिष्णु किसिमले प्रस्तुत भएका थिए ।
थापाको बहस कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ को विपरीत थियो । कानून व्यवसायीले बहस गर्दा अरूलाई सम्मान गर्नुपर्ने हुन्छ । तर वरिष्ठ अधिवक्ता थापा अमेरिका र साइप्रसको उदाहरण दिएर बहस गर्ने कानून व्यवसायीहरूप्रति पनि च्याँठिएका थिए । उनले बहसको क्रममा अरू प्रति प्रहार गर्दै भने- ‘उहाँहरूलाई अमेरिका र साइप्रसबारे के थाहा छ ? त्यहाँको कानून र संविधानबारे यत्तिकै उदाहरण दिएर हुन्छ । त्यसै डक्ट्रिन अफ नेसेसिटी (आवश्यकताको सिद्धान्त) भनिदिने । हामीलाई थाहा छैन । हामीले चाहिँ केही पढेको छैन । हामीलाई चाहिँ केही थाहा छैन ।’
बहसकै क्रममा उनले तत्कालीन राष्ट्रपति विद्या भण्डारी आक्रोश पोखेका थिए । थापाले भने- ‘राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश मिलेर नियुक्ति गराइएको हो नि । हामी सबैले बुझेका छौँ । संविधानमै भएको कुरामा के हो ड्रक्टिन अफ नेसेसिटी ?’
थापाले ‘हामीले पनि अलिअलि त पढेका छौँ नि श्रीमान्’ जस्तो वाक्यांश प्रस्तुत गरेका थिए । उनले संवैधानिक अंगका पदाधिकारीहरूलाई पदमुक्त गर्दा गाह्रो हुने भए राजीनामा गर्न ५-७ दिनको समय उपलब्ध गराउने गरी फैसलाको लागि निवेदन गरेका थिए । सँगसँगै उनले राज्यका विभिन्न अंगमा बसिसकेका मानिसहरू नियुक्त भएकोले नियुक्ति खाएकाहरूको तलब फिर्ता गर्नुपर्ने बताएर आफ्नै अघिल्लो भनाइलाई आफैँ खण्डित गरेका थिए ।
चार वर्षअघि संवैधानिक अंगहरूमा पदाधिकारीहरूको रिक्तताले मुलुक नै असफल हुने हो कि भन्ने चिन्ता र भयका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर संवैधानिक परिषद्को बैठकबाट त्यो रिक्तताको अन्त्य गरी अख्तियारसमेत संविधान अन्तर्गत बनेका अंगहरूमा पदाधिकारी चयन गरेको थियो ।
त्यो विषम र प्रतिकुल परिस्थितिमा सरकारले राज्य असफल हुनबाट जोगिएर संवैधानिक मार्गबाट सहज रूपमा अघि बढेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका अंगहरूमा दुई चरणमा गरेर संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट ५२ जना पदाधिकारीहरू नियुक्त भएका थिए ।
अध्यादेशबाट संवैधानिक अंगहरूमा नियुक्तिबारेको ऐन संशोधन गरिएको भन्दै उक्त रिटबारे दायर गरिएका १५ वटा रिट एकसाथ राखेर सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइ सकिएको छ । लिखित बहसनोट मागिएको उक्त रिटको फैसला जेठ २८ गते आउने भएको छ ।
यो रिटको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा भएको हो । सर्वोच्चले गत ३० माघमा रिटको सुनुवाइ थालेको थियो । २९ फागुन, ६ चैत हुँदै वैशाख ७ देखि १० सम्म निरन्तर सुनुवाइपछि प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा गएका कारण रोकिएको थियो । प्रधानन्यायाधीश स्वदेश फर्केसँगै वैशाख २८ देखि रिटको सुनुवाइ सुरु भएको छ । वैशाख २८ को सुनुवाइपछि २९ गते बुद्ध जयन्तीका कारण अदालत बिदा रहेको र ३० गते सुनुवाइ भएको थियो । रिटको सुनुवाइ जेठ १ गते सकिएको थियो ।
यो पनिः संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
के भनेका थिए महान्यायाधिवक्ता बडालले ?
रिटमा महान्यायाधिवक्ता रमेश बडालले पर्याप्त अध्ययनसहित राष्ट्रिय-अन्तर्राष्ट्रिय तथ्य प्रमाणहरू जुटाएर तर्कपूर्ण बहस गरेका थिए । उनले संवैधानिक इजलासमा एक दिन पूरै र दुई केही घण्टा ओजपूर्ण बहस गरेका थिए ।
महान्यायाधिवक्ता बडालले संवैधानिक निकायहरूमा अध्यादेश ल्याएर नियुक्ति गर्ने बेलाको परिवेशलाई स्पष्टसँग झल्काएका थिए । सरकारको दायित्व संविधान कार्यान्वयन गरी संविधानका अंगहरूलाई सक्रिय बनाउनुपर्ने रहेको भन्दै उनले ती अंगहरूको रिक्तताले मुलुक नै असफल हुनतिर लागेको वास्तविकता उजागर गरेका थिए ।
इजलासले नियुक्ति गर्नुअघिको परिवेश, अवस्था र कारण इजलासले मनन गर्नुपर्ने बताए । उनले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले परिषद् बैठकमा भाग नलिएर संवैधानिक कर्तव्य पालना नगर्दा अध्यादेश ल्याउनुपरेको तर्क गरेका थिए । महान्यायाधिवक्ताले आफ्नो बहसका क्रममा भनेँ- ‘तत्कालीन सभामुख सापकोटा नै राज्यका विभिन्न अंहरू निष्क्रिय बनाएर राज्यलाई असफल बनाउन उद्धत थिए । उनले आफ्नो कर्तव्य बिर्सिए । संवैधानिक दायित्व विपरीत काम गरे । यस्तो अवस्थामा राज्यका निकायहरूलाई क्रियाशील गराएर संविधान कार्यान्वयन गराउनु अत्यावश्यक थियो । सोही कारण अध्यादेश ल्याउनु परेको हो ।’
सम्बन्धित समाचार शीर्षकः चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
रिट निवेदकका कानून व्यवसायीहरूको बहसलाई लक्षित गर्दै उनले संविधानको कार्यान्वयनलाई बदनियत (मालाफाइड इन्टेन्सन) मान्नुपर्ने भए मान्न तयार रहेको समेत बताए ।
अध्यादेश ‘ब्याक डेट’ राखेर ल्याइएको भनेर निवेदकका कानून व्यवसायीहरूको दलिलप्रति पनि महान्यायाधिवक्ताले स्पष्ट र तथ्यपरक जवाफ दिएका थिए । उनले रातोपाटी, सेतोपाटी, बिबिसी नेपाली लगायतका अनलाइनमा आएका समाचार र उक्त समाचार प्रकाशन भएको समय समेत पढेर अध्यादेश ल्याउने र परिषद्को बैठक बोलाउने काम सरकारले भनेकै समयमा भएको भनेर छर्लङ्ग बनाएका थिए ।
चर्चित यो रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता बडालले गहकिलो प्रहार गरेका थिए । तत्कालीन अवस्थामा सभामुखको हैसियतले संवैधानिक परिषद्को सदस्यको रूपमा सापकोटाले दायर गरेको रिटको सन्दर्भमा महान्यायाधिवक्ता बडाल निवेदकको जिकिरमाथि बुद्धिमत्तापूर्ण किसिमले हाबी भएका थिए ।
रिट निवेदकतर्फका एक कानून व्यवसायीले संवैधानिक परिषद्को निर्णयका लागि बहुमत भनेको तत्काल कायम सदस्य संख्या पाँचको चार जना हुने जिकिर गरेका थिए । अध्यक्षसहित कुल संख्याको बहुमत सदस्य भनेको अध्यक्ष र थप तीन जना सदस्य भन्ने हास्यास्पद जिकिर ती कानून व्यवसायीको रहेको थियो ।
महान्यायाधिवक्ता बडालले पाँच जनाको बहुमत तीन हुने भनेर अर्थशास्त्रमा अत्यन्त कमजोर भएकाले पनि भन्न सक्ने तर्क गरेका थिए । त्यस्तै उनले पाँच जनामा अध्यक्षसहित बहुमत भन्नु तथा अध्यक्ष र बहुमत सदस्य भन्नुबीचको फरक स्पष्ट गरेका थिए ।
परिषद्का कुल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने व्यवस्था भएको तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिष्कार गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर ‘अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने’ प्रावधान ल्याएको थियो ।
संसदीय सुनुवाइ नगरीकनै नियुक्ति हुन नसक्ने रिट निवेदक जिकिर गरेकोमा पनि महान्यायाधिवक्ता बडालले प्रभावशाली बहस गरेका थिए । उनले संवैधानिक परिषद्को सिफारिसपछि पनि १३ दिनसम्म संसद् जीवितै रहँदा संसदीय सुनवाइको प्रक्रिया नै आरम्भ नगरेकोले तत्कालीन सभामुख सापकोटाको मनसाय नै दूषित रहेको बरु सरकारले राज्यका अंगहरूलाई क्रियाशील गरी संविधान कार्यान्वयन गरेको तर्क उनले गरेका थिए । स्मरणीय छ, संसदीय सुनुवाइ समितिले सिफारिस भएका पदाधिकारीहरूको सुनुवाइ १० दिनभित्रै गरिएको उदाहरण पनि छन् । तर ओली अध्यक्ष रहेको परिषद्को उक्त सिफारिस सापकोटाले दराजमै थन्काएका थिए ।
संविधानअनुसार संसदीय सुनुवाइ नभए वा त्यहाँबाट निर्णय हुन नसकेमा ४५ दिनपछि सिफारिस भएका पदाधिकारीहरू नियुक्तिका लागि योग्य रहनेछन् ।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्मा नियुक्तिको सिफारिस गरेका थिए । यसरी अध्यादेशका आधारमा ऐन संशोधन गरेर संवैधानिक नियुक्ति हुन नसक्ने भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
थप पढ्नुहोस्ः ५२ भाइको रिटमा बहस: नियुक्ति कानूनसम्मत भएको नायव महान्यायाधिवक्ता डा. घिमिरेद्वारा बलियो आधार प्रस्तुत
ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले १३ संवैधानिक निकायका ३२ पदका लागि ३० मंसिर २०७७ मा सिफारिस गरेको थियो । तर ५ पुसमा संसद् विघटन भएकाले संसदीय सुनवाइबिना ४५ दिन पुर्यााएर २१ माघमा नियुक्ति गरिएको थियो । त्यस्तै थप २० पदमा २६ वैशाख २०७८ मा नियुक्तिका सिफारिस गरिएको थियो । तर ८ जेठमा संसद् विघटन भएकाले यसपालि पनि संसदीय सुनुवाइ नगरी १० असारमा नियुक्त गरिएको थियो ।
नायव महान्यायाधिवक्ताहरूको बलियो तर्क
बहसका क्रममा नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले बहसको क्रममा बलियो तर्क र तथ्य प्रस्तुत गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयमा संवैधानिक फाँटसमेत हेर्ने डा. घिमिरेले राज्य सञ्चालनका लागि संवैधानिक प्रावधानभित्रै बसेर अध्यादेश ल्याइएको तर्क गरेका थिए ।
उनले अध्यादेश जुन परिस्थितिमा जुन प्रक्रिया पूरा गरेर आउनुपर्ने हो, ती सबै प्रक्रिया पूरा गरेर ल्याइएकोले संवैधानिक एवं कानूनसम्मत रहेको बताएका थिए । उनले अरू अध्यादेश जसरी र जुन प्रक्रियाबाट आउने गरेका थिए, संवैधानिक पदाधिकारीहरूको नियुक्ति सम्बन्धी अध्यादेशले पनि सोही विधि, प्रक्रिया र पद्धतिको पूरा गरेको कसिलो आधार प्रस्तुत गरेका थिए ।
राज्य सञ्चालनका लागि कार्यकारीले तत्काल केही गर्न आवश्यक ठानेमा अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधान र अन्तर्राष्ट्रिय अभ्यासकै आधारमा आएकोले अध्यादेशमाथि प्रश्न उठाउन नमिल्ने भन्दै डा. घिमिरेले रिट निवेदनको औचित्यमाथि नै प्रश्न गरेका थिए ।
नायव महान्यायाधिवक्ताले २०७५ मंसिर २७ मा अन्तिम पटक संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गरेको त्यसको दुई वर्षसम्म पदाधिकारी नियुक्ति नहुँदा संविधानले बनाएका अंगहरू तदर्थमा चल्नु परेको यथार्थ पस्किएका थिए ।
संसदीय सुनुवाइ नै नगरी संवैधानिक अंगका पदाधिकारीहरू नियुक्ति हुन नसक्ने भन्ने रिट निवेदकहरूको जिकिरबारे पनि नायव महान्यायाधिवक्ता डा. घिमिरेले संवैधानिक निकायका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ ४५ दिनभित्र हुन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने भन्ने कानूनी प्रावधान स्मरण गराएका थिए ।
नेपालको संविधान र सोही संविधानले मार्ग निर्देश गरेबमोजिमको संघीय कानूनको आधारमा संसदीय सुनुवाइ ‘म्यान्डेटरी’ नभएको तर्क नायव महान्यायाधिवक्ता डा. घिमिरेको थियो ।
उनले संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीबाट संसदबाट संसदीय सुनुवाइको प्रक्रिया अघि बढाउन पहल थालिए पनि प्रतिनिधिसभामा सांसदहरूले सिफारिसप्रति आपत्ति जनाएर यो प्रक्रियालाई अघि बढ्न नदिएको कसिलो तर्क प्रस्तुत गरेका थिए ।
डा. घिमिरेले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा जानिबुझीकनै समितिको बैठकमा नजानुलाई संवैधानिक नैतिकता विपरीतको कामको रूपमा बुझ्न बेन्चलाई निवेदन गरेका थिए । राज्यको कुनै अंगमा संविधानबमोजिमको पदाधिकारीले संवैधानिक दायित्व पूरा गर्नुपर्ने नत्र संवैधानिक नैतिकताविपरीतको काम हुने भन्दै तत्कालीन सभामुखको भूमिकाप्रति डा. घिमिरेले प्रश्न उठाएका थिए ।
त्यस्तै अर्का नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले रिट जारी गर्नुपर्ने कुनै संवैधानिक एवं कानूनी आधार नभएको भन्दै जनादेश प्राप्त कार्यकारीले संवैधानिक दायित्व पूरा गर्न तथा राज्य सञ्चालन गर्न अध्यादेश ल्याउन सक्ने र यो अध्यादेश पनि अरू अध्यादेशभन्दा पृथक् नभएको बलियो आधार उठाएका थिए ।
उनले राज्य सञ्चालनका क्रममा आवश्यक पर्दा अध्यादेश ल्याउने अभ्यासहरू रहेको उदाहरण पेस गर्दै राज्यका अंगहरूको प्रभावकारिता वृद्धि र संविधानको दायित्वकै कारण अध्यादेश ल्याएर ती अंगहरूमा पदाधिकारी ल्याइएको आधारहरू प्रस्तुत गरेका थिए ।
कानून व्यवसायीहरूको यस्तो तर्क
रिट निवेदकको तर्फबाट बहस गर्नेहरूले बेन्चलाई तथ्य प्रमाणहरूबाट ‘कन्भिन्स’ गर्न नसक्दा सरकारी एवं निवेदकतर्फका कानून व्यवसायीहरू भने आफ्नो तर्क, तथ्य एवं प्रमाणहरूमा हाबी भएका थिए । बहसका क्रममा रिट निवेदकतर्फका कानून व्यवसायीहरूको तर्क फिका र कमजोर रहेको देखिन्छ । ५२ संवैधानिक पदाधिकारीहरूको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले प्रस्तुत गरेका आधार एवं तथ्यका आधार रिट खारेज हुने र अध्यादेश सदर भई नियुक्तिले निरन्तरता पाउने बलियो सम्भावना देखिएको कानूनका जानकारहरू बताउँछन् ।
चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको यस रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक बहस गरेका थिए ।
सर्वोच्च बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, पूर्वमहान्यायाधिवक्ता दिनमणि पोखरेल र वरिष्ठ अधिवक्ता ललित बस्नेतले प्रस्ट शब्दमा नियुक्तिको संवैधानिक एवं कानूनी आधारसहित रिट निवेदन खारेज गर्नुपर्ने कारण प्रस्तुत गरेका हुन् ।
वरिष्ठ अधिवक्ताहरूले संसदीय सुनुवाइको प्रक्रिया र अध्यादेशको आवश्यकता र औचित्य पुष्टि गर्न बलियो आधार प्रस्तुत गरेका थिए ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले अध्यादेश प्रसङ्ग र अवस्थाका आधारमा हेर्नुपर्ने बताए । त्यसरी नहेर्ने हो भने संविधानतः निरर्थक हुन जाने तर्क गर्दै उनले त्यसबेला अध्यादेश जरुरी भएकैले उक्त नियुक्ति वैध भएको जिकिर गरेका थिए ।
उनले अध्यादेश ल्याउने अधिकार कार्यकारीलाई संविधानले नै दिएको र सोही अधिकारबाट ल्याइएको अध्यादेशमाथि कानूनी प्रश्न उठाउनु संवैधानिक नहुने तर्क गरेका थिए ।
अध्यादेश ल्याउने क्रममा प्रक्रिया र पद्धतिमा समेत खोट उठाउने ठाउँ नभएको उनले बताए । संविधान र त्यसबमोजिम बनेको कानूनकै आधारमा ४५ दिनभित्र संसदीय सुनुवाइ हुनुपर्ने तर सो अवधिभित्र सुनुवाइ हुन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने गरी संविधान/कानून संविधानसभा र संसद्ले नै बनाएको स्मरण गराए ।
वरिष्ठ अधिवक्ता दिनमणि पोखरेलले ४५ दिनसम्म संसदीय सुनुवाइ नभएपछि नेपालको संविधानको धारा २९२ बमोजिम उक्त नियुक्ति वैधानिक भएको जिकिर गरेका थिए । उनले उक्त दाबी गर्न संसदीय सुनुवाइ नियुक्तिको संवैधानिक पूर्वसर्त नभई संघीय कानुनमा व्यवस्था भएबमोजिम हुने तर्क गरेका थिए ।
उनले रिट निवेदकले निवेदनमा अमेरिकाको ‘नियन्त्रण र सन्तुलन’ का लागि हुने सिनेट अभ्यासलाई उदाहरणका रूपमा व्यक्त गरेकोमा राष्ट्रपति प्रणालीको ‘कंग्रेसनल हियरिङ’ अभ्यासलाई संसदीय प्रणालीको ‘पार्लियामेन्ट हियरिङ’सँग अन्तरसम्बन्धित गर्न खोजिएको भन्दै त्यो आफैँमा असान्दर्भिक रहेको बताए ।
अर्का वरिष्ठ अधिवक्ता ललित बस्नेतले पूरक अभियोगपत्र अदालतको अनुमतिमा मात्रै दर्ता हुनुपर्नेमा रिट निवेदकको पेटबोलीका आधारमा दर्ता भएको भन्दै असन्तुष्टि जनाए । उनले २०४७ सालको संविधानको उदाहरण दिँदै त्यसबेला संविधानले अध्यादेशको आवश्यकता र परिस्थितिबारे व्याख्या गरेकोमा अहिलेको संविधानले त्यो नगरेको बताए । अदालतको आदेश र फैसलाले मात्रै अध्यादेशको व्याख्या गरेको उनको भनाइ थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले संवैधानिक अंगमा भएको नियुक्ति प्रचलित संविधान, कानून, विधि र परम्परा अनुरूप नै भएकोले रिट खारेज गर्न माग गरेका थिए ।
पूर्व महान्यायाधिवक्तासमेत रहेका पन्तले सभामुखको मुख्य काम भनेको संवैधानिक कर्तव्य निर्वाह गर्ने भए पनि तदअनुरुप काम नगरेको बताए । २०७२ सालदेखिकै संवैधानिक परिषद्को बैठक बस्दा एकपटक पत्र काटेर बोलाउने र त्यसपछिको बैठकले स्वतः निरन्तरता पाउने गरेको अभ्यास रहेको भनेर फेहरिस्त नै उनले पेस गरेका थिए । बैठकको सूचना नपाएको भनेर रिट निवेदकले दाबी नगर्ने तर बेन्चले सूचना नै थिएन कि भनेर अनुमान लगाउन नहुने तर्क पन्तको थियो ।
पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की र महादेव यादवले रिट निवेदन संवैधानिक आधारमा औचित्यपूर्ण नभएको जिकिर गरेका थिए भने अधिवक्ता माधव बस्नेत र भोजराज अधिकारीले कार्यकारीले संविधान र कानूनबमोजिम प्राप्त अधिकार प्रयोग गर्न नपाउने भए राज्य सञ्चालन असम्भव हुने तर्क पेस गरेका थिए ।
उनीहरूले पनि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको असहयोगले गर्दा संवैधानिक परिषद्को बैठक बस्न नसकेको भन्दै अध्यादेशलाई बाध्यात्मक परिस्थितिको उपज भएको जिकिर गरेका थिए।
उक्त अध्यादेश खारेज भइसकेकोले अब खारेज भइसकेको अध्यादेश पुनरावलोकनको विषय नबन्ने पनि अधिवक्ता माधव बस्नेतको तर्क थियो ।
अहिलेसम्मको बहस हेर्दा महान्यायाधिवक्ता तथा ५२ भाइको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरू हाबी भएको देखिन्छ । सहन्यायाधिवक्ता सूर्यराज दाहाल, गोविन्द खनालसमेतले बहसमा क्रममा प्रभावकारी तथ्य र आधारहरू पेस गरेका थिए । उनीहरूले बहसका क्रममा ४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके स्वतः नियुक्त हुने प्रावधान रहेको उल्लेख गर्दै यदि त्यसो हुन नसकेमा सर्वोच्च अदालतमै न्यायाधीशहरू नियुक्त हुन नसक्ने ओजपूर्ण तर्क प्रस्तुत गरेका थिए ।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...