काठमाडाैं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड फेरि अवरुद्ध भएको छ ।
बाटो चिप्लो भएका कारण दाउन्नेको उकालोमा गाडीहरु गुड्न नसक्दा समस्या भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिए ।
हल्का पानी पर्ने वित्तिकै गाडी गुड्न नसकेको र ‘कतिबेला के भएर बाटो अवरुद्ध हुने हो भन्नै सकिने अवस्था नरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र ममर्त गरी सडक खुलाउने प्रयास भईरहेको नारायणघाट–बुटबल सडक आयोजनाले जनाएको छ ।
तीन–चार दिनदेखि अवरुद्ध भएको यो सडक बुधबार केही सहज ढङ्गले गाडी चले पनि बिहीबार फेरि समस्या भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।
दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानी पर्दा पनि समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले बताए ।












