ताजा समाचार

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ । गत मंगलबार देशभर भएको अराजकताको मौका छोप्दै नख्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने आवाज चर्किएको छ।

जेन–जी आन्दोलनका युवाले टिकटकमार्फत् उनलाई जेल फर्किन दबाब दिइरहेका बेला अब सडकका भित्तामा समेत ‘मस्ट वान्टेड क्रिमिनल’ भन्दै पोस्टर टाँसिएको छ। पोस्टरमा लामिछानेलाई फरार कैदीका रूपमा प्रस्तुत गर्दै तत्काल पक्राउ गर्न माग गरिएको छ।

सहकारी ठगी मुद्दामा कैद भोगिरहेका लामिछानेलाई रास्वपाका सांसद हरि ढकाल र डीपी अर्यालले दबाबका आधारमा बाहिर ल्याएको भन्दै आलोचना भइरहेको छ। गृह मन्त्रालयका सचिवको अधिकार नपुग्ने निर्णयलाई आधार बनाइ उनले कारागार छाडेको आरोप लागिरहेको छ।

लामिछाने नख्खुबाट निस्किएसँगै देशभरका कैदीहरू फरार हुने क्रम बढेको छ। अहिलेसम्म करिब १५ हजार कैदी फरार भइसकेको र १,३०० भन्दा बढीलाई पुनः पक्राउ गरेर जेल फर्काइएको प्रहरीको दाबी छ।

यसबीच, नख्खुबाट भागेका पूर्वमन्त्री सञ्जय टक्ला पक्राउ परिसकेका छन् भने केन्द्रीय कारागार सुन्धाराबाट भागेका एमाले नेता टोपबहादुर रायमाझीले फिर्ता आउने सन्देश पठाएका छन्।

सुरक्षा निकायले फरार कैदीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह गर्दै खोजी अभियान तीव्र पारेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org