ताजा समाचार

रास्वपाकी माननीयले राेल्पाका जनप्रतिनिधिहरूकाे फाेन नउठाएकाे गुनासाे

लिवाङ । रोल्पाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु काठमाडौँमा अलपत्र परेका छन् । गंगादेव, त्रिवेणी, सुनिलस्मिृतिसहित विभिन्न गाउँपालिकाका योजना सरकारको बजेटमा पार्न सूची बोकेर एक हप्ताअघि राजधानी आएका जनप्रतिनिधि र कर्मचारीहरु रास्वपाका माननीयहरुले फोन नउठाएपछि रित्तै हात घर फर्किन लागेका हुन् ।

बताइएअनुसार उनीहरु रोल्पा घर भएकी रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालसँग फोन गरेर काठमाडौँ आएका थिए । धितालले ‘योजनाहरु के के छन्, ल्याएर आउनुस्, विषयगत मन्त्रालयसँग समन्वय गरिदिउँला’ भनेपछि उनीहरु प्रफुल्ल भएर राजधानी आएको बताइन्छ । तर काठमाडौँ आइसकेपछि धितालले फोन नै नउठाएको एक जनप्रतिनिधिले सुनाए । ‘पहिले माननीयज्यूले आउनुस् भनेपछि आयौँ, तर आएर फोन गर्दा आजका दिनसम्म उठेको छैन’, ती जनप्रतिनिधिले सुनाए, ‘होटलमा बसेका छौँ, खर्च बढेको बढ्यै छ, काम भएको भए त चित्त बुझाउने बाटो पनि हुन्थ्यो, तर रित्तै हात फर्किनुपर्ने भयो ।’

त्यसो त, सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित भइसकेको छ । तर रोल्पाका अत्यावश्यक योजना कार्यक्रममा पार्न नसकिएको उनीहरुको गुनासो छ । एक कर्मचारीले भने अलि फरक प्रसंग सुनाएका छन् । सांसद धितालले आफू नै निरिह भएको जानकारी गराएकाे उनको भनाई छ । ‘तपाईहरुको योजना मैले खल्तीमा राखेर हिँड्ने मात्र हो, प्रधानमन्त्री र मन्त्रीहरुसँग मैले नै भेट्न पाएको पाउँदिन्न, तपाईहरुलाई कसरी भेटाउनु !’ ती कर्मचारीले भने ।

अर्को रमाइलो के छ भने पार्टीले रोल्पाका योजना हेर्ने जिम्मेवारी (फोकल पर्सन) पूर्व मिस नेपाल समेत रहेकी सांसद अनुष्का श्रेष्ठलाई दिएको छ । तर उनलाई रोल्पा कुन प्रदेशमा पर्छ ? भन्ने सामान्य जानकारी समेत नभएकाे बताइन्छ । केही दिनअघि फोन संवादमा श्रेष्ठले ‘रोल्पा पनि लुम्बिनी हो ?’ भनेर सोधेको उनै कर्मचारीले सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org