प्रचण्डकी बुहारी भन्छिन्, ‘चुनाव लड्ने खर्चले बरु छोरा पढाएर उसको भविष्य बनाउँछु’
काठमाडौं, १८ असोज । साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे ।’ उनको भनाइलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ । त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले इच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाइनन् ।
असोज ४ र ५ मा माओवादी कास्की क्षेत्र नम्बर ३ को बैठक बस्यो । बैठकको उद्देश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदवार सिफारिस गर्नु थियो । सिर्जना मतदाता रहेको क्षेत्र ३ (क) बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुइँटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो । उनले स्वेच्छाले उम्मेदवारी दर्ता गर्ने निर्णय गरेकी थिइन् । तर अन्तिममा आएर ‘ब्याक’ भइन् । उनी पछि हट्नुको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव । ‘अहिले जोसँग पैसा छ त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्,’ दसैं मनाउन हेम्जास्थित माइतीघर आइपुगेकी उनले भनिन्, ‘मेरो आर्थिक अवस्था कमजोर छ ।’
पार्टीकी केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । ०६९ मा प्रकाश दाहालले विना मगरसँग बिहे गरेपछि माइती फर्किएकी उनी त्यसयता निरन्तर पार्टीमा सक्रिय छिन् । उनी हेम्जाको वडा कमिटी हुँदै केन्द्रीय सदस्यसम्म बनिन् । यसरी हेर्दा उनी स्वयं चुनाव लड्न योग्य उम्मेदवार हुन् । पार्टी भित्रैकाले जसरी पनि चुनाव लड्नुपर्ने सल्लाह पनि दिए । छिमेकका कांग्रेस, एमाले निकटकाले समेत चुनाव लडे सहयोग गर्ने वचन दिएका थिए । उनको मनमा भने एउटै कुरा खेल्यो, ‘चुनाव लड्ने खर्चले बरु छोरा पढाएर उसको भविष्य बनाउँछु ।’ बुबा देवकृष्णले पनि त्यसै गर्न सल्लाह दिए ।
छोरालाई ‘राम्रो’ विद्यालयमा पढाउन भनेर उनी वैशाखयता राजधानीमा बसेकी छन् । भक्तपुरको एक घरमा मासिक १५ हजार भाडा बुझाउँछिन् । छोरा प्रसिद्ध चेल्सी इन्टरनेसनल स्कुलमा एक कक्षामा पढ्छन् । सबै खर्च माइतीपक्षले बेहोरिरहेको छ । काठमाडौंको बसाइ, बेरोजगार जीवन, माइतीको खर्चले कतिन्जेल टिक्न सकिएला भन्ने चिन्ता छ उनलाई । उनका एक मात्र दाइ निर्माण व्यवसायी हुन् । बर्दियामा एक घर र प्रशस्तै जग्गाजमिन छ । घरबाट भाडा आउँछ । खेतको उब्जनीले वर्षैभरि खान पुग्छ । तथापि, प्रसिद्धको पछाडि ‘दाहाल’ जोडिएकाले छोराको रेखदेखको जिम्मेवारी दाहाल परिवारले लिनुपर्ने उनी बताउँछिन् ।
कानुनतः अझै पनि उनी प्रकाशकै पत्नी हुन् । सम्बन्ध विच्छेद भएको छैन । पार्टी अध्यक्ष दाहाल पोखरा आएका बेला नातिलाई भेट्न मन गर्छन् । २–३ पटक भेटे पनि । सिर्जनाका अनुसार प्रसिद्धलाई हजुरबुबाको जुँगा तान्न खुब मनपर्छ ।
टिभीमा देख्नेबित्तिकै ‘ऊ, हाम्रो बाबा’ भनिहाल्छन् । पोखरा आएका बेला दाहालले ‘प्रसिद्धलाई राम्रो स्कुल भर्ना गर्नु, खर्चको चिन्ता नगर्नु’ भनेको सिर्जना झलझली सम्झन्छिन् । उनले छोरालाई पोखराको राम्रै मन्टेस्सोरीमा भर्ना पनि गरिन् । तर, २ वर्ष बित्यो, दाहाल परिवारबाट खर्चपानी आएन । छोरालाई त्यहाँबाट निकालेर अर्को स्कुल भर्ना गरिन् । त्यति बेलासम्म पनि माइतीले नै खर्च बेहोरिरहे ।
‘भन्नेहरूले जे पनि भन्छन्,’ उनले सुनाइन्, ‘पक्कै पनि टन्नै खर्च पाएको भएर चुपचाप बसेकी छ सम्म भने ।’ धेरैले चुप नबस्न पटकपटक दबाब पनि दिएका छन् । त्यस्तो दबाबलाई उनले बेवास्ता गर्दै आएकी छन् । ‘हामी भएको भए यस्तो गर्थेम्, उस्तो गर्थेम् भनेर सुनाउँछन् तर मलाई त्यस्तो केही गर्ने रहर भएन,’ उनी भन्छिन् । छोराले ‘आमा डिभोर्स दिनुस्’ नभनेसम्म सम्बन्धविच्छेद नगर्ने सोचमा छिन् उनी । ‘दुःख पीर भनेर सकिँदैन होला,’ उनले भनिन्, ‘छोराको भविष्यले मलाई निकै सताएको छ ।’
‘छोरा होइन भने बाउ देखाइदिन पर्यो,’ उनी भन्छिन्, ‘होइन भने जन्मदर्ता गराइदिनपर्यो ।’ प्रकाशकी आमा सीता दाहालको माइती पनि हेम्जा नै हो । पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि मामाले सिर्जना र प्रकाशको जोडी मिलाइदिएका थिए । ०६४ माघ ३ मा पृथ्वीचोकस्थित तत्कालीन वाईसीएल क्याम्पमा पञ्चैबाजा बजाएर उनीहरूको विवाह भएको थियो ।
जन्मदर्ता बनाउन आनाकानी
दाहाल परिवारले आनाकानी गर्दा हालसम्म प्रसिद्धको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । ससुरासँगको भेटमा सिर्जनाले जन्मदर्ता गरिदिन बारम्बार आग्रह गरेकी छन् । स्कुलले जन्मदर्ता मागेको चिठीसहित काठमाडौं पुगेर सिर्जनाका बुबाले प्रसिद्धको जन्मदर्ता गराइदिन सम्धीसँग आग्रह गरे । तर, दाहालले ‘ठूलो कुरा होइन’ भनेर टार्ने गरेको सिर्जना बताउँछिन् । विद्यालय भर्ना हुँदादेखि नै जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्छ । आमा सीता त्रिपाठी पनि नातिको जन्मदर्ता नगराइदिएकोमा दाहाल परिवारप्रति रुष्ट छिन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












