स्वीटजरल्याण्डमा राजा त्रिभुवनको स्मारक
बार्सिलोना २, असोज । स्वीटजरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै सन्दर्भमा राजा त्रिभुवनको मृत्यु स्वीट्जरल्याण्डको जुरिच युनिभर्सिटी अस्पतालमा भएको सबैलाई थाहै छ । तर, यो अस्पताल परिसरभित्रै त्रिभुवनको एउटा स्मारक अहिलेसम्म सुरक्षित छ भन्नेचाहिँ कमैलाई थाहा छ ।
स्वीट्जरल्याण्ड पुग्ने नेपालीहरु निकै उत्सुकतापूर्वक स्मारक हेर्न अस्पताल परिसरमा पुग्छन् । तर, ठ्याक्कै कल्पना गरेजस्तो भने पाउँदैनन् । झट्ट हेर्दा एउटा सिमेन्टको पट्टी जस्तो लाग्छ । धातुको प्लेटमा कुँदिएका अक्षरहरु मेटिनै लागेका छन् र पढ्न पनि मुस्किल पर्छ ।
त्रिभुवनका छोरा राजा महेन्द्र र उनकी पत्नी रानी रत्न राज्यलक्ष्मीले स्मृतिस्वरुप छाडेको धातुको चिन्हलाई अस्पतालमा स्मारक बनाएर राखिएको छ । स्मारकमा राखिएको चिन्हमा यस्तो लेखिएको छः
श्री ५ महाराजधिराज त्रिभुवन वीर बिक्रम शाहदेव नेपाल ।
जन्म आषाढ १७ बि. सं. १९६३ । स्वर्गारोहण फागुन ३०, २०११
स्वीट्जरल्याण्डको यस शहर जुरिकको क्यान्टन्स अस्पतालमा आज आएको सम्झनामा मौसुफको दिवंगत अमर यशस्वी आत्माको पावन स्मरणका रुपमा यो चिन्ह राख्न पाउँदा हामीलाई सन्तोष लागेको छ ।
श्री ५ महेन्द्र, श्री ५ रत्न राज्यलक्ष्मी नेपाल
श्रावण २, वि. सं. २०१५
राजाको निधन भएको ४ वर्षपछि उक्त चिन्ह सम्झनास्वरूप छोडिएको उल्लेखित लेखोटबाट खुल्छ । तर, सन् १९९९ मा मात्र स्वीट्जरल्याण्डस्थित केही नेपालीहरु र स्वीस नागरिकहरुको पहलमा अस्पताल बाहिर स्मारक बनाएर राखिएको हो । यसबाट जिज्ञासा उठ्छ, त्यसो भए ४० बर्षसम्म त्यो चिन्ह कहाँ थियो त ?
४० बर्षदेखि स्वीट्जरल्याण्डमा बस्दै आएकी शुभ लामा एलमर भन्छिन्, ‘हामी सबैले सुनेअनुसार त्यो चिन्ह राजाको मृत्यु भएको कोठामा नै राखिएको थियो । लामो समयसम्म सो कोठा बन्द थियो । तर, पछि त्यो अस्पताल बाहिर कोरिडोरमा मिल्केको अवस्थामा भेट्टियो ।’
स्वीट्जरल्याण्डमा आएर स्थायी रुपमा बसोबास गर्ने पहिलो नेपालीको रुपमा परिचित बिन्दु स्टाइमण्ड पाण्डेको भनाइलाई पनि उद्वृत गर्दै लामाले यस्तो रहस्य खोलिन् ।
बन्द कोठामा रहेको त्यो चिन्ह पछि कसरी कोरिडोरमा मिल्कियो ? यो प्रश्नमा उनी भन्छिन्, ‘कोठा नै बुक गरेर बर्षौंसम्म त्यहाँ राखिएको हुनसक्छ । तर, कोठा अन्य प्रयोगमा ल्याइएपछि बाहिर बेबारिसे बनाइएको आशंका गर्न सकिन्छ ।’
यसरी बन्यो सानो स्मारक
अन्ततः सन् १९९९ मा अस्पतालको कोरिडोरमा मिल्केको त्यो धातुको चिन्हलाई अस्पताल परिसरमा नै सानो स्मारक बनाएर राखियो । एक औपचारिक कार्यक्रमका बीच स्मारकको अनावरण गरिएको थियो ।
तत्कालीन कन्सुलर डा.ह्यान्स उलिच भ्याचको बिशेष पहलमा नै यो सम्भव भएको हो । उनलाई नेपालप्रेमी भुगोलविद टोनी ह्यागन, बिन्दु स्टाइमण्ड पाण्डे, पूर्वराजदूत तथा प्राध्यापक डा.नोबलकिशोर राई लगायतले साथ दिएका थिए । यसको डिजाइन तथा आर्किटेक स्वीस नागरिक डा. जिओंबानी साईब्लरले गरेका थिए ।
अहिले नेपालबाट स्वीट्जरल्याण्ड पुग्ने नेता, कलाकारदेखि सर्वसाधारणसम्मले यो स्मारक अवलोकन गर्ने गरेका छन । एनआरएनए स्वीट्जरल्याण्डकी पूर्वउपाध्यक्ष बिजया भट्ट भन्छिन्, ‘यहाँ आउने प्राय सबै नेपालीहरुले स्वर्गीय राजाको स्मारकलाई निकै चासोका साथ नियाल्छन् ।’
स्मारक रहेको ठाउँमा नयाँ भवन बन्दै
राजा त्रिभुवनको स्मारक भएको ठाउँमा अस्पतालले नयाँ भवन बनाउने भएको छ । सन् २०२० सम्म नयाँ भवन बन्ने भएपछि स्मारकलाई अन्यत्र सार्न स्वीट्जरल्याण्डस्थित नेपालीहरु र केही स्वीस नागरिकहरु जुटेका छन् ।
संरक्षण अभियानकी एक अभियन्ता समेत रहेकी लामा भन्छिन्, ‘खान्तोन जुरिचको पुरातात्विक विभागका अन्ड्रेय बाटेलसँग यसबारे छलफल भयो । आर्किटेक साईब्लर, डिट्री एल्बर, बिन्दु स्टाइमण्ड पाण्डे लगायतको हाम्रो टोलीले नयाँ ठाउँ उपलब्ध गराउन बिभागलाई अनुरोध गर्याे । परिणामस्वरुप अस्पताल परिसरमा नै स्मारक सार्नका लागि जग्गा उपलब्ध भएको छ ।’
उक्त टोलीले पुरातात्विक विभागबाट अस्पताल निर्माणको जिम्मेवारी पाएका आर्किटेक धनेला खन्नोबलसँग पनि भेट गरिसकेको छ ।
प्यागोडा शैलीमा बनाउने सुझाव
स्मारक रहेको स्थानमा पुग्ने धेरै नेपालीहरुले यसलाई व्यवस्थित र प्यागोडा शैलीमा बनाउन सुझाव दिएका छन् ।
यही सिलसिलामा जुरिचको पुरातात्विक विभागसम्म आफूहरु पुगेको अभियन्ता लामा बताउँछिन् ।
‘हामी प्यागोडा शैलीमा पुनर्निमाण गर्ने सोचका साथ पुगेका थियाैं । तर, यहाँ त स्मारक नै मेटिन्छ कि भन्ने चिन्ता पो थपियो । सोही स्थानमा नयाँ भवन बन्दै गरेको कुरा पनि यहीँबाट नै थाहा भएको हो,’ उनले भनिन् ।
यसलाई अग्लो, फराकिलो गर्न मिल्छ कि मिल्दैन भनेर पुरातात्विक विभागलाई सोध्दा केही परिवर्तन गर्न नसकिने जवाफ आएको उनको
भनाइ छ ।
दूतावासलाई जानकारी छैन
स्मारक रहेको ठाउँमा नयाँ भवन बन्ने र स्मारकलाई नयाँ ठाउँमा सार्नेबारे आधिकारिक जानकारी नआएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । अनलाइनखबरसँग कुरा गर्दै स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले भने, ‘यसलाई संरक्षित गर्न सबैको प्रयास आवश्यक छ । के कसो सहयोग गर्न सक्छौं, हामी हेर्छौं ।’
अहिले नेपालमा राजा नभए पनि ऐतिहासिक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण हुनुपर्ने लामा बताउँछिन् ।
‘विकसित मुलुकको यति ठूलो र पुरानो अस्पतालले त यति महत्व दिएको छ भने हामी नेपालीले यसमा चासो दिनैपर्छ ।’
स्वीट्जरल्याण्ड निवासी जनार्दन गौतम आफू अस्पतालको बाटो हिँड्दा एकछिन रोकिएर स्मारकमा नजर लगाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्वीस सरकारले नेपाल र नेपाली जनताप्रति सहानुभूति र मायाको यो प्रतिबिम्ब हो ।’
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











