राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी बेखुश
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ ।
समग्रमा, सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ । रिपब्लीकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकी ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् ।
“रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,” कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताए । “साथै, छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न । ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन्,” उनले बताए ।
उटाह राज्यको अग्डेनका ६५ वर्षीय ट्रक चालक रिचार्ड क्लिभल्यान्ड भने असहमति जनाउँछन् । उनी राष्ट्रपति ट्रम्पका नीति र विदेश नीतिको खुलेर समर्थन गछैन् । “मेरो विचारमा राष्ट्रपतिले उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि राम्रो काम गरिरहनु भएको छ । उहाँले विगतमा कसैले गरेकोभन्दा राम्रो गर्नुभएको छ,” उनले भने । उनलाई सिंगापुरमा गतवर्ष राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच वार्ता भएको राम्रैसँग थाहा छ ।
उनले उत्तर कोरियाले आणविक हातहतियार विसर्जन गर्नेतर्फ ठोस कार्य गर्नसके ठूलो उपलब्धि मान्न सकिने पनि बताए ।
विदेशी भूमिमा जारी युद्धमा अमेरिकी सेनाको उपस्थिति र सहभागिताका बारेमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । करिब ३९ प्रतिशत अमेरिकीहरुले सिरियामा तैनाथ करिब २ हजार अमेरिकी सेना फिर्ता गर्नु ठीक रहेको बताएका छन् भने करिब ३५ प्रतिशतले यो कदम सही नभएको बताएका छन् । राष्ट्रपतिको कदमलाई ५६ प्रतिशत रिपब्लीकनले समर्थन गरेका छन् भने २६ प्रतिशत डेमोक्र्याटले मात्र राष्ट्रपतिको उक्त कदम ठीक भएको बताएका छन् ।
“मेरो विचारमा इराक, अफगानिस्तान र सिरियाबा अमेरिकी सेना घर फर्किने अहिले उपयुक्त समय हो,” क्लिभल्यान्डले बताए । “म भियतनाममा हुँदा पनि मैले मेरा थुप्रै असल साथीहरु गुमाएको थिएँ । मेरो विचारमा त्यो पनि मूर्खतापूर्ण युद्ध थियो ।”
गत महिना राष्ट्रपति ट्रम्पले सिरियामा रहेका इस्लामिक स्टेट समूहका लडाकूहरु परास्त भएको घोषणा गरेका थिए । उनले त्यहाँ तैनाथ सबै सेना तत्कालै फिर्ता गर्ने बताएका थिए । राष्ट्रपतिको उक्त घोषणाप्रति विमती जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा गर्नुभएको थियो भने अमेरिकी गठबन्धनमा आबद्ध मुलुक र समूहहरुले चर्को आलोचना गरेका थिए । पछि, ट्रम्प र उनका सहयोगीले सेना फिर्तीको समयावधि परिवर्तन गरेका थिए । सिरियाबाट सबै अमेरिकी सेनालाई सुरक्षित रुपमा फिर्ता गर्न महिनौं लाग्ने बताइएको थियो ।
अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका विषयमा पनि मतान्तर देखिएको छ । करिब ४१ प्रतिशत अमेरिकीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता उपयुक्त रहेको बताएका छन् भने करिब ३० प्रतिशतले अस्वीकार गरेका छन् ।
“हाम्रो सैनिक विश्वकै प्रहरीजस्तो हुनु ठीक होइन,” टेनेसीको ब्रिस्टोल निवासी ४४ वर्षीय रोबर्ट ग्रान्गरले बताए । “हामीले अमेरिकी सेना सबै मुलुकबाट फिर्ता गर्नुपर्दछ ।”
करिब ४१ प्रतिशत डेमोक्र्याटहरु विश्वभर अमेरिकी भूमिका बढाउनुपर्ने पक्षमा देखिएका छन् भने २३ प्रतिशतले अमेरिकी भूमिका सामान्य सक्रिय मात्र हुनुपर्ने बताएका छन् । अरु करिब ३२ प्रतिशत डेमोक्र्याटले मुलुकको हालको भूमिका ठीकै रहेको बताएका छन् ।
रिपब्लीकन पार्टीसँग आबद्धहरुको विश्व दृष्टिकोण फरक छ । दशमध्ये चार जना रिपब्लीकनको भनाइमा विश्वका समस्या समाधानमा अमेरिकी भूमिका थोरै हुनुपर्दछ, जबकी ४६ प्रतिशतले विश्व मामिलामा हालको अमेरिकी भूमिका ठीक रहेको बताएका छन् । करिब १३ प्रतिशत रिपब्लीकनले विश्वमा अमेरिकी भूमिका अझ सक्रिय हुनुपर्ने जनाएका छन् ।
रिपब्लीकनहरुको सोचाइमा विश्वमा अमेरिकी उपस्थिति र अरु मुलुकसँगको सम्बन्ध अर्को वर्ष अझ सुधार हुनेछ । तर, डेमोक्र्याटको विचारमा अमेरिकाको साख अझ कमजोर हुनेछ ।
Comments
अरु समाचार
-
इजरायली सेनाको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो
न्युयोर्क । इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा...
-
स्थानीय तह उपनिर्वाचन : आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
काठमाडौँ : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १०...
-
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको...