भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन
भक्तपुर । भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ ।
जर्मनीको एक दाता संस्थाले दिएको रु दुई करोड मूल्यबराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ ।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले डायलाइसिस मेशिन सञ्चालन गर्न अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. सुधा देवकोटालाई आफू अध्यक्ष हुँदादेखि नै पटकपटक भन्दा पनि अटेर गरेर मेशिन थन्क्याएर राखेको बताए ।
खड्काले भने, “म अध्यक्ष हुँदा दाता संस्थालाई गुहारेर रु दुई करोड पर्ने दुई वटा डायलाइसिस मेशिन ल्याएँ, मैले मेशिन सञ्चालनमा ल्याउन खोजेको थिएँ तर सकिनँ, अहिले पनि मैले पटकपटक ती मेशिन सञ्चालनमा ल्याउन मेसुलाई भन्दै आएको छु, तर मेशिन सञ्चालनमा आएन, अब दाता संस्थाले मेशिन नै फिर्ता लगेर अरु अस्पताललाई दिन्छु भन्दैछ ।”
दाता संस्थाले केही दिनअघि मात्रै त्यो मेशिनबाट कतिजना बिरामीले सेवा पाए भनेर सोधे पनि मेशिन सञ्चालनमा नआएको जानकारी पाएपछि मेशिन सञ्चालनमा नल्याए अर्को अस्पताललाई दिने जानकारी गराएको उनले बताए ।
उक्त मेशिन सञ्चालनमा आए थप रु तीन करोडबराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको दाता संस्थाबाट उक्त सहयोगसमेत नआउने अवस्थामा पुगेको खड्काको भनाइ छ ।
अस्पतालको चिसो भुइँमा मेशिन थन्क्याएर राख्दा खिया पर्न थालेको छ । अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले अस्पतालमा डायलाइसिस मेशिन आएको आफूले हल्ला मात्रै सुनेको बताए । उने भने, “कसले मेशिन ल्यायो, कसरी मेशिन आयो, के मेशिन हो, कुन अवस्थामा छ, सञ्चालनमा आउँछ कि आउँदैन, यसबारे मलाई केही थाहा छैन, म प्रशासन प्रमुख भए पनि मेशिन आउँदा र आएपछि पनि मलाई जानकारी गराइएको छैन, यसबारे मलाई केही थाहा छैन, मेसुलाई सोध्नुस् ।”
यसबारेमा जानकारी लिन खोज्दा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटा सम्पर्कमै आएनन् ।
भक्तपुर अस्पतालसँगै जोडिएको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको डायलाइसिस गर्ने बिरामीले मेशिन नपाउँदा ४०० बिरामीले नियमितरूपमा डायलाइसिस गर्न पालो कुरेर बसेका छन् ।
केन्द्रका केही मेशिन बिग्रिएको र बिरामीको चाप अत्यधिकरूपमा बढेपछि मेशिन अभावमा बिरामीले पालो कुर्नुपरेको छ भने सँगैको भक्तपुर अस्पतालमा भने आएको मेशिन ११ महिनादेखि थन्किएर बसेको छ ।
केन्द्रले उक्त मेशिन माग गर्दा पनि भक्तपुर अस्पतालकी मेसु डा देवकोटाले मेशिन पनि नदिएको र सञ्चालनमा पनि नल्याएको गुनासो बढेको छ ।
एउटा मेशिनले एक दिनमा आठजना बिरामीको डायलाइसिस गर्न सकिने र दुई वटा मेशिन थन्किँदा दैनिक १६ जना बिरामीले यो सेवाबाट वञ्चित हुनु परेको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम् भक्तपुर अस्पतालका पूर्व अध्यक्ष नवराज गेलालले सक्षम नेतृत्व नहुँदा भक्तपुर अस्पतालको सेवा लथालिङ्ग भएको गुनासो चौतर्फी आएको बताए ।
अस्पतालमा आएको मेशिनसमेत थन्किनु नराम्रो भएको बताउँदै उनले आफू अध्यक्ष हुँदा सघन उपचार कक्ष सञ्चालन गर्न ल्याएको मेशिन वर्षौंसम्म थन्काएर राखेको र चौतर्फी दबाब दिएपछि बल्ल सघन उपचार कक्ष सञ्चालन नगरी ‘हाइकेयर युनिट’ सञ्चालनमा आएको बताए ।
अस्पतालका अर्का पूर्व अध्यक्ष सुरेश न्यौपानेले डायलाइसिस मेशिन खिया लाग्ने अवस्थामा पुगेको आफूले जानकारी पाएको बताउँदै अस्पतालका हालै नियुक्त अध्यक्ष र अस्पताल प्रशासनसँग उक्त मेशिनको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।
अस्पतालका अध्यक्ष मिलन सुवालले आफू आएपछि अस्पतालको बेथिति अन्त्य गर्न र थन्किएर रहेको डायलाइसिस मेशिनलाई सञ्चालन गर्ने वा सेवा प्रदायक अर्को अस्पताललाई हस्तान्तरण गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












