सेवा शुल्क नतिर्दा सौर्य एयरलाइन्स बन्द, हिमालयलाई एक महीने अल्टिमेटम
काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।
एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ ।
विमानस्थल कार्यालयले अझै करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करीब रु ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब रु ४० करोड छ । निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको बताइन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।
त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।
विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ ।
एयर एशियाले २१ करोड तिरेन
मलेशियाको बजेट एयरलाइन्स एयर एशियाले विलम्ब शुल्कसहितको विमानस्थल सेवा शुल्कबापतको रु २१ करोड बक्यौता तिरेको छैन । यसमा रु सात करोड ५० लाख साँवा र विलम्ब शुल्क रु १३ करोड बाँकी छ । क्वालालम्पुर–काठमाडौँ सिधा उडान गर्दै आएको यो कम्पनीले बक्यौता नतिरेपछि केही महीनाअघि सेवा बन्द गरेको छ ।
महाप्रबन्धक क्षेत्रीका अनुसार बढी बक्यौता रहेको एयर एशियाबाट विमानस्थलले हालसम्म रु ३१ करोड उठाएको छ । सो कम्पनीले रु साढे सात करोडको चेक मात्रै बुझाएको छ तर ती चेक बाउन्स भएपछि कम्पनीका नेपाल एजेन्ट हरिमान लामा झण्डै छ महीनादेखि सम्पर्कविहीन रहेको बताइन्छ । चेक बाउन्स प्रकरणमा विमानस्थलका तत्कालीन कर्मचारीकोे समेत संलग्नता रहेको भन्दै प्राधिकरणले छानबिन अघि बढाएको बताइएको छ । सञ्चालनमा नरहेका सङ्घसंस्थाको बक्यौता करीब रु तीन करोड छ ।
कुन कम्पनीबाट कति उठ्यो
विमानस्थलले एयर एशियाबाट रु ३१ करोड, हिमालयन एयरलाइन्सबाट रु पाँच करोड, सिम्रिक एयरबाट करीब रु तीन करोड, सौर्य एयरलाइन्सबाट रु एक करोड ८० लाख, रसुवा केडीको रु एक करोडभन्दा बढी, थाई एयरलाइन्सबाट रु एक करोड २५ लाख र पार्किङ शुल्क डेढ करोड तथा अन्य साना कम्पनीबाट थोरै–थोरै गरी करीब रु सात करोड रकम उठाएको छ ।
हिमालय एयरलाइन्सलाई एक महीने अल्टिमेटम
अन्तर्राष्ट्रिय उडानमा रहेको हिमालय एयरलाइन्सले विमानस्थललाई सेवा शुल्कबापतको रकम समयमा नबुझाएपछि एक महीनाको चेतावनी (अल्टिमेटम) दिइएको छ ।
एक महीनाभित्र रकम नबुझाए उडान बन्द गर्ने चेतावनीसहित विमानस्थलले पत्राचार गरेपछि उक्त एयरलाइन्सले विमानस्थललाई रकम भुक्तानी गर्ने आश्वासन दिएको छ । एक महीनाभित्र उडान नगरे सेवा बन्द गर्नेसम्मको कारवाही हुने विमानस्थलले जनाएको छ । उक्त कम्पनीले गत पुसको अन्तिम साता विमानस्थललाई रु ५० लाख भुक्तानी गर्दै बाँकी रकम तिर्न एक महीनाको समय मागेको थियो ।
हिमालयनले करीब रु १४ करोड बक्यौता तिर्न बाँकी छ । नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएइको दुबई र कतारको दोहामा नियमित उडान भर्दै आएको छ ।
हिमालयका तीनवटै जहाज सञ्चालनमा रहेकाले बक्यौता तिर्न नियमित सम्पर्कमै रहेकाले यो रकम चाँडै उठ्ने महाप्रबन्धक क्षेत्रीको विश्वास छ ।
सौर्य एयरलाइन्स दुई महीनादेखि उडान बन्द
विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको दुई महीनाभन्दा बढी समयदेखि उडान बन्द रहेको छ । करीब रु तीन करोड बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ‘ग्राउण्डेड’ भएका हुन् ।
पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ । एयरलाइन्सले चाँडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएको छैन ।
सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । उडान औसतमा ५० देखि ५५ अन्तर्राष्ट्रिय उडान हुन्छ । आन्तरिकतर्फ करीब ३०० उडान हुन्छ । आन्तरिकमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











