नेविसंघ नेतृत्वप्रति काँग्रेस सभापति देउवा आक्रोशित
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काएका छन्।
विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाए।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा शुक्रबार देउवाले कोरोना महामारीमा किन कार्यक्रम राख्नुपर्यो भन्ने प्रश्न पनि गरे।
‘सोसल डिस्ट्यान्सिङ भन्या छ, तर यहाँ टाँस्सेर बसिरहेको छ,’ कार्यक्रममा सामाजिक दूरी कायम नगरेकोप्रति लक्षित गर्दै देउवाले थपे, ‘अहिले यो खतरा रोग आएको छ। सामाजिक दूरी कायम गर्नुस्। टाँस्सेर बसेर केही हुनेवाला छैन।’
उनले कोरोना महामारीका बेला कार्यकर्ता भेला गरेर भाषण गर्ने कार्यक्रम नगरे पनि हुने बताए।
‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ। गर्नै परे अलि फराकिलो ठाउँमा गर्नुपर्यो,’ देउवाले भने, ‘अहिलेको बेला सबैले कार्यक्रम गर्न छाडिसकेका छन्। हामीले मात्रै गर्नुपर्ने? बढ्ता हुनुपर्ने? भाषण गर्नैपर्ने?’
विद्यार्थी भेला गरेर भाषण गरिहाल्ने नेविसंघ नेतृत्वलाई उनले थर्काएका हुन्।
‘विद्यार्थीलाई बोकेर/भेला गराएर भाषण गरिहाल्नुपर्ने?,’ सभापति देउवाले भने, ‘बढ्ता जान्ने भइहाल्नुपर्ने?’
उनले कांग्रेसको १४ औं महाधिवेशनपछि नेविसंघलाई पूर्णता दिइने बताए। राजीव ढुंगानाको नेतृत्वमा रहेको नेविसंघमा नेताहरूको भागबन्डाका आधारमा उपसभापति, महामन्त्रीहरू मात्रै छन्।
छ महिनामा नेविसंघको महाधिवेशन गर्नुपर्ने जिम्मेवारीसहित ढुंगानाको नेतृत्वमा नेविसंघ गठन गरे पनि कार्यकाल सकिन लाग्दा केन्द्रीय समितिले नै पूर्णता पाएको छैन। अधिवेशन गर्ने कुनै तयारी छैन।
देउवाले फागुनमा हुने पार्टीको महाधिवेशनपछि नेविसंघले पूर्णता पाउने पनि बताए। ‘नेविसंघको पूर्णता महाधिवेशनलगत्तै हुन्छ,’ उनले भने।
देउवाले नेविसंघ एकआपसमा झगडामा रमाएकोले समस्याहरू आइपरेको पनि बताए।
‘विद्यार्थी आपसमा मिलेको भए समस्या नै हुने थिएन,’ उनले भने, ‘आफैं झगडा गर्या गर्यै छन्।’
देउवा यतिमा रोकिएनन्। आफू नेविसंघ सभापति भएको कुरा पनि निकाले।
‘म नेविसंघ सभापति हो। चार पटक प्रधानमन्त्री भइसकेँ,’ नेविसंघ नेताहरूतर्फ औंला देखाउँदै देउवाले सोधे, ‘यस्तै हिसाबले तपाईंहरू कोही चारपटक प्रधानमन्त्री हुन सक्नु हुन्छ? लाज पनि छैन।’
सभापति देउवाले नेविसंघले गाउँगाउँमा गएर संगठन नबनाएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘अहिले जहाँ पनि नेविसंघले हारेको छ, कम्युनिष्टले मात्रै जितेको छ,’ देउवाले भने, ‘हामीले जहाँ पनि नेविसंघले जितेको थियो।’
देउवा २०२७ सालमा नेविसंघ सभापति भएका थिए। त्यसबेलाको कुरा गर्दै देउवाले नेविसंघको संगठन बलियो भए मात्रै पार्टी पनि बलियो हुने बताएका हुन्।
‘नेविसंघलाई बलियो बनाउनुस्। जहाँ पनि हारेको छ, लाज पनि छैन,’ देउवाले भने।
उनले नेविसंघ कहाँ छ भन्ने प्रश्न पनि गरे। ‘कहाँ छ नेविसंघ? गाउँमा छ? स्कुलहरूमा छ?,’ देउवाको प्रश्न छ, ‘गाउँमा देखिँदैन। गाउँमा नेविसंघ नभएसम्म पार्टी बलियो हुन्न।’
सभापति देउवाले पहिलेका नेविसंघ सभापतिहरूलाई पनि आफूले गाउँमा जान, संगठन बलियो बनाउन आग्रह गरे पनि अटेर गरेको बताए।
‘पहिलेका सभापतिलाई पनि भने ए बाबा गाउँमा जाऊ, नेविसंघ बलियो बनाऊ,’ देउवाले भने, ‘गाउँ जाँदैनन्। संगठन बनाउँदै बनाउँदैनन्। हारेको छ हारेको छ। सबै कम्युनिष्टले जितेको छ। बढ्ता भाषण गरेको गर्यै छ।’
नेविसंघ नेतालाई देउवाले गाउँमा संगठन बनाएर मात्रै आफूसँग कुरा गर्न आग्रह गरे।
‘यहाँ सहरमा भाषण गरेर केही हुन्न, गाउँ जाऊ गाउँ,’ उनले भने, ‘गाउँमा संगठन गरेपछि मात्रै मसँग कुरा गर्न आऊ। ठूला भाषण गरेर मात्र हुन्न।’
देउवाले २ मिनेट २६ सेकेन्ड भाषण गरेका थिए। कार्यक्रममा नेविसंघ सभापति ढुंगाना र पूर्वमहामन्त्री मनोजमणि आचार्यले बोलेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल निकट आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको, संगठनलाई पूर्णता नदिएको बताएपछि देउवाले उक्त जवाफ दिएका हुन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












